coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने : राष्ट्रपति भण्डारी

रौतहट- राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने बताएकी छन्। रौतहटको मौलापुर नगरपालिका-५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

तराई मधेसमा तिलक, दहेज तथा बोक्सी जस्ता प्रथाका अन्धविश्वासहरु अझै पनि कायम रहेकोले हटाउनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले पर्यटनको पूर्वाधारहरुको आवश्यकता रहेको महसुस आफूले गरेको बताएकी छन्। हरेक वर्ष बाढीले तराई मधेसमा ठूलो क्षति पुर्‍याउने गरेकोमा आफूलाई गहिरो दुःख लागेको बताउँदै राष्ट्रपति भण्डारीले देशको बढ्दो व्यापार घाटालाई प्रदेश २ ले कम गर्न ठूलो योगदान दिन सक्ने पनि बताइन्।

यसैबीच राष्ट्रपति भण्डारीले पतौराको पुरातात्विक महादेवको दर्शन तथा पूजासमेत गरेकी छन्। काठमाडौँस्थित पशुपतिनाथको मूल भट्टद्वारा पुरातात्विक महादेवको विशेष पूजा तथा दर्शन गरेपछि राष्ट्रपति भण्डारीले मधानी महायज्ञको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरुको पनि राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन्।

कार्यक्रमलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गर्दै साम्प्रदायिक सहिष्णुतालाई मधानी महायज्ञले बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। प्रदेश सरकारले महिला र दलित सशक्तिकरणको क्षेत्रमा निकै बलियो कदम चालेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिला सशक्तिकरणले समाजको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री राउतले छोरीलाई शिक्षित बनाउनु अत्यावश्क रहेको बताउँदै आगामी दिनमा अब हरेक छोरी जन्मिँदै लखपति हुने गरेको स्पष्ट पारेका छन्। प्रदेश सरकारले देशमै पहिलो पटक दलित ऐन ल्याएको पनि बताउँदै आगामी दिनमा मौलापुर नगरपालिकाले महिला र दलितको क्षेत्रमा व्यापक काम गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

कार्यक्रमलाई संस्कृतिविद् सञ्जय मित्रले सम्बोधन गर्दै रौतहट र बारामा मात्र मनाइने विशेष संस्कृति मधानी भएको स्पष्ट पारेका छन्। संस्कृतिविद् मित्रले कामरनाथुहरुले गर्ने एक विशेष यज्ञ मधानी भएको र यसमा बिना कुनै पण्डित कामरनाथुहरुले नाचगान गर्दै विभिन्न किसिमले शिवको झाँकी प्रस्तुत गर्ने बताएका छन्। रौतहट र बारामा मात्र मुख्य गरी यो संस्कृति प्रचलनमा रहेकोले स्थानीय संस्कृतिलाई महत्व दिएर मधानी महायज्ञ गर्नु र राष्ट्रपतिको समेत उपस्थिति भएकोले दुई जिल्लाको स्थानीय संस्कृतिको विश्वव्यापीकरण हुन गएको संस्कृतिविद मित्रको भनाइ छ।

कार्यक्रममा नेपाली कलाकारहरु निखिल उप्रेती, केकी अधिकारी, स्मिता दाहाल, भारतीय भोजपुरी कलाकार दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवे, विजय यादव निर्बिज, सन्तोष राजलगायतको पनि सहभागिता रहेको थियो।

 

प्रकाशित: ६ फाल्गुन २०७६ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App