नेपालगन्ज- बरामद गरेको पाँच दिनपछि बाँके प्रहरीले आइतबार वन कार्यालयलाई ‘अवैध’ काठ बुझाएको छ। जिल्लाको उढरापुरस्थित सिमलघारी क्षेत्रबाट प्रहरीले मंगलबार बिहान करिव ४ बजेतिर ठूलो परिमाणको अवैध सालको चिरान काठ बरामद गरेको थियो। उक्त घटनालाई सार्वजनिक नगरेको प्रहरीले आईतबार वन कार्यालयमै लगेर काठ बुझाएको हो। नियम अनुसार प्रहरीले २४ घण्टा भित्रमा वन कार्यालय समक्ष बुझाउनुपर्छ।
प्रहरीले बुझाएको चिरान काठको परिमाण विभिन्न साईजको ४० क्वीफिट रहेको वन कार्यालयले जनाएको छ । ‘गोलियामा परिणत गर्दा यो काठको परिमाण ५६ क्वीफिट हुन आउँछ,’ वन प्राविधिक रमेश बुढाथोकीले भने ‘मुद्दा प्रक्रियामा काठको परिणाम गोलिया अनुसार नै पेश गरिन्छ ।’ प्रहरीले काठ सहित बाँके, उढरापुर–६ का साहदत अलि जोलाहालाई पनि वन कार्यालय समक्ष बुझाएको छ।
सञ्चार माध्यमबाट घटना सार्वजनिक नभएको भए प्रहरीबाट उक्त काठ पाउने सम्भावना नरहेको वन कर्मचारीले बताएका छन् । ‘प्रहरीको नियत खराब हुदैनथ्यो भने घटनाकै दिन काठ बुझाउँथ्यो,’ एक वन अधिकृतले भने ‘पैसा खाएर मान्छे छाड्ने र काठ आफैले झ्वाम पार्ने प्रहरीको उद्देश्य भएपनि पत्रिकामा समाचार आइसकेपछि अन्ततः हामीलाई बुझाउन बाध्य भयो ।’ यसअघि घटनास्थलबाट पक्राउ परेका ६ जनालाई राजनीतिक दवावमा प्रहरीले छाडेको वन कर्मचारीले बताएका थिए । उनीहरुलाई एमाले बाँकेका सचिव रत्न खत्री र माओवादी नेता भिम रानाले छाड्न लगाएका हुन् । ‘काठ ओसार्ने मजदुरलाई कारबाही गर्नु भएन भनेर नै हामीले छाड्न अनुरोध गरेका हौं, मुख्य व्यक्तिलाई कारबाही गर्न हामीले रोकेका छैनौ,’ खत्रीले भने ।
प्रहरीले काठ बुझाएपछि वन कार्यालयले आईतबार नै अनुसन्धान अधिकृत तोकेर अभियुक्त जोलाहालाई बाँके जिल्ला अदालत समक्ष पेश गरी म्याद थप गरेको छ । प्रहरीले काठ बुझाइसकेपछि अनुसन्धान गर्ने बाटो खुलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत एवम् अनुसन्धान अधिकृत नारायण पार्धेले बताए । प्रहरीले तस्करलाई छाडेर काठ लामो समयसम्म आफैले राख्दा मुद्दाको अनुसन्धानमा बाधा परेको वन कार्यालयले यसअघि गुनासो गर्दै आएको थियो । ‘अदालत समक्ष ५ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौं, प्रहरीले काठ सहित एक जना अभियुक्तलाई बुझाएपनि यो केसमा को–को संलग्न छन, अनुसन्धान गर्छौ,’ अनुसन्धान अधिकृत पार्धेले भने ।
बाँके र बर्दियाको सिमाक्षेत्रबाट डल्लपमा चिरान काठ लोड गरी परालले छोपेर खजुरातर्फ ल्याउँदै गरेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरी र वन कर्मचारीलाई खबर गरिदिएका थिए । वन टोली नपुग्दै प्रहरीले काठ सहितको डल्लप, मोटरसाईकल र संलग्न व्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले बरामद गरेको काठलाई आफैले स्कटिङ गरी जिप्रका पुर्याएपनि प्रहरी अधिकारीले घटनाबारे अनविज्ञता जनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले उढरापुरमा बरामद गरिएको काठ वन कार्यालयलाई बुझाइसकेको बताए । ‘त्यहाँ बरामद गरेको काठमा थपेर बुझाएका छौं,’ उनले नागरिकसँग भने ‘हामीले काठ लुकाएका होईनौ, अनुसन्धान गर्ने उद्देश्यले केहीदिन राखेका हौं।’
प्रकाशित: १७ पुस २०७३ १३:३० आइतबार