८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुग्यो

बेइजिङ - कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।    
    
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।    
    
गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ।    
    
मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८६८ पुग्नुको साथै ७२ हजार ४३६ व्यक्ति सङ्क्रमित भएका छन्।    
    
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको पाइएको छ।    
    
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताए।
    
जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ। महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने बताए।
     
यसअघि आइतबार चीनमा २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको थियो। सङ्क्रमितहरूको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको सो समाचारमा जनाइएको छ।    
    
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको थियो।    
    
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट यहाँको विभिन्न क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ। वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन खर्च विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका थिए।    
    
यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। यसबाट सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ।    
    
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।    भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्।     (रासस/एपी)
    
  

प्रकाशित: ६ फाल्गुन २०७६ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App