coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खर्च अभावमा शुभचिन्तकको सहयोगले उपचार हुँदै

रिफर गरेर काठमाडौं पठाउनुअघि विरामी पाठकसँग समन्वय प्रमुख परियार र नर्सहरु । तस्बिरः महेश्वर

उदयपुर- आगोले पोलेर एक महिनादेखि उपचाररात रौतामाई गाउँपालिका-३ लाफागाउँका हेमन्त पाठकलाई जिल्ला अस्पताल उदयपुरले थप उपचारार्थ काठमाडौं रिफर गरेको छ। बिग्रेको ट्याक्टर बनाउने क्रममा डेढ महिनाअघि सुनसरीको इनरुवास्थित ग्यारेजमा सुतेको समयमा मोविल घोप्टिएर आगलागी हुँदा २२ वर्षीय पाठकको शरीरको ४५ प्रतिशत भाग जलेको थियो।

घटनालगत्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएका उनलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुर अस्पताल रिफर गरिएको थियो। तर, अस्पतालले पैसाको अभावमा बचाउन नसक्ने भन्दै अभिभावकलाई जिम्मा लगाएपछि जिल्ला अस्पताल ल्याएर भर्ना गरिएको थियो। आर्थिक अवस्था कमजोर परिवारले खर्च जुटाउन नसक्दा आफन्त र शुभेच्छुकको सहयोगले उपचार गर्दै आएका पाठकलाई सोमबार अस्पतालले काठमाडौं वीर अस्पताल रिफर गरेको हो।

आगोले पोलेको घाउ निको पार्ने उपचार गरिए पनि छालाको अप्रेसन (सल्यक्रिया) गर्ने सुविधा नभएकाले वीरलाई रिफर गर्नु परेको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले बताए। पाठकलाई काठमाडौंसम्म जाने खर्च र एम्बुलेन्सको व्यवस्था अस्तापल विकास समिति र जिल्ला प्रशासन कार्यालयमार्फत मिलाइएको पनि अध्यक्ष परियारले बताएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलले उपलब्ध साधन स्रोतले भ्याएसम्म उपचार गर्दा पाठकको अधिकांश घाउ निको भइसकेको बताए। तर, छालाको अप्रेसन गर्ने उपकरण सुविधा यहाँ नभएकाले वीरमा रिफर गर्नुपरेको उनले बताए। खुट्टा (तिघ्रा) को केही भागमा छाला प्रत्यारोपन गर्नुपर्ने तर, त्यो सुविधा यहाँ नभएकाले बाहिर पठाउनु परेको डा. मण्डलले बताए।

कीर्तिपुर अस्पतालले बचाउन नसक्ने भन्दै रिफर गरेको छोरा जिल्ला अस्पतालमै निको हुँदै गएको भन्दै पाठकका बाबु पर्वतले खुसी व्यक्त गरे। कमजोर आर्थिक अवस्थाले अस्पतालललाई पैसा दिन नसक्दा छोरा बचाउन नसक्ने भन्दै फिर्ता गरेको स्मरण गर्दै उनले आस मारेर घर फर्के पनि जिल्ला अस्पतालमा उपचार गर्न जाँदा छोराको धेरै घाउ ठिक भएको देख्दा सरकारी अस्पतालप्रति विश्वास बढेको बताए।

बिपन्न पाठकको उपचार गर्न आफन्त र देशविदेशका शुभचिन्तकले दिएको सहयोगले औषधि किन्दै उपचार गरेको उनले बताए। पाठकलाई सातादिनदेखि मात्र काम थालेको भन्दै ट्याक्टर साहुले बेहोर्नुपर्ने खर्च नबेहोर्दा छोराको उपचार गर्न कठिनाई भएको थियो। भएभरको जेथो सकेपछि शुभचिन्तकसँग सहयोगको याचना गर्नुपरेको बताउने पाठक परिवारलाई वीरमा छालाको सल्यक्रिया निःशुल्क भएमा छोरा निको हुने आस पलाएको छ।

उपचारमा संलग्न अर्का डा. अमरेशकुमार मण्डलका अनुसार घाइते पाठकको २५ प्रतिशत मात्र घाउ निको हुन बाँकी छ। ३० प्रतिशतभन्दा बढी शरीरको भाग आगोले खाएपछि उपचार निकै कठिन हुने भए पनि पाठकको हकमा ४५ प्रतिशत बढी घाउ भए पनि छिट्टै निको भएको छ। अनुहार, हात पाखुरा र छाति तथा पेटको घाउ धेरैजसो निको भइसकको हुनाले तिघ्राको केही भाग मात्र ठूला घाउ निको हुन बाँकी रहेको उनले बताए।

‘अरु सबै घाउ औषधिले निको भयो’ डा. मण्डलले भने ‘यहाँबाट गर्न नसक्ने छालाको अप्रेसन गर्न मात्र वीर पठाइएको हो। त्यहाँ गएपछि विरामी पक्कै निको हुन्छन् भन्ने आसा छ।’ उनलाई सोमबारै एम्बुलेन्समार्फत वीर अस्पताल पठाइएको पनि उनले बताए।  

 

प्रकाशित: ६ फाल्गुन २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App