coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मधानी महोत्सवको तयारी पूरा

रौतहट - रौतहटको मौलापुरमा हुन गइरहेको मधानी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। तयारी समितिमा रहेका त्रिुभवन साहले मौलापुर नगरपालिकाको पतौरामा मधानी महायज्ञको सबै तयारी पूरा भएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मंगलबार पतौरामा मधानी महायज्ञ हुँदैछ। राज्याभिषेकको अवसरमा बोलबम कामरनाथुहरूले गर्ने मुख्य गरी रौतहट र बारामा गरिने शिवको विशेष महायज्ञ नै मधानी भएको र मधानीसँगै लखराँवसहितको विशेष अनुष्ठान पनि भएकाले महायज्ञ भनिएको सांसद प्रभु साहले बताए। नेपालमै पहिलोपटक पुरातात्विक महादेवस्थान पतौरामा मधानी महायज्ञ गर्न लागिएको सांसद साहले बताए।

कार्यक्रममा भारतीय भोजपुरी कलाकार दिनेशलाल निरहुआ तथा आम्रपाली दुबे, नेपाली कलाकार केकी अधिकारी तथा निखिल उप्रेतीसमेतको सहभागितामा सांगीतिक–सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिने कलाकार विजय यादव निर्बिजले जानकारी गराए। मौलापुर नगरपालिकाको आयोजनामा हुन गइरहेको कार्यक्रममा करिब दुई लाख सर्वसाधारण सहभागी हुने आयोजकको विश्वास छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर हुन गइरहेको मधानी महायज्ञमा भारतबाट पनि ठूलो मात्रामा पर्यटक आउने विश्वास गरिएको छ।

मौलापुरमा प्राचीनकालकै महादेव मन्दिर भेटिएको छ। पुरातत्वविदले कर्नाटकालीन समयभन्दा पनि पुरानो रहेको विश्वास व्यक्त गरेका छन्। कतिपयले लिच्छवीकालीन अवशेष भएको हुनसक्ने सम्भावना व्यक्त गरेका छन्। मौलापुरको पतौरामा अन्य पुरातन संरचना पनि रहेको पाइएको छ। मौलापुर नगरपालिकाद्वारा निर्मित पिकनिक पार्कको उद्घाटनका साथै दलित परिवारलाई सुविधासम्पन्न घर पनि हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले मौलापुर बजारभन्दा पछिम अणुवा नदीको किनारमा निर्मित पिकनिक स्थल र मौलापुरमा नै निर्माण गरिएको दलित बस्तीको उद्घाटन गर्ने कार्यक्रम रहेको सांसद प्रभु साहले बताए।

मधानी महोत्सवले मधानीजस्तो स्थानीय संस्कृतिको अन्तर्राष्ट्रियकरण हुने, भ्रमण वर्षलाई सहयोग पुग्ने र मौलापुरको समृद्धिको आधार खडा हुने विश्वास आफूले लिएको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले बताएकी छन्। राष्ट्रपति भण्डारीको उपस्थितिमा हुने कार्यक्रममा सुरक्षाका दृष्टिले पनि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा स्रोतको दाबी छ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App