coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पत्रकारिताप्रति प्रधानमन्त्री किन आक्रोशित

फाइल् तस्बिर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते सम्पादकहरुसँग बालुवाटारमा सामूहिक भेट गरेर ‘बल आएपछि ब्याटिङ त गर्नैप-यो, चित्त नदुखाउनुहोला’ भनेका थिए। पुस २९ गते उद्योगी व्यवसायीसँगको भेटघाटमा राम्रो समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नै नभएको बताएपछि त्यसको स्पष्टीकरण दिन उनले सम्पादकहरुलाई बालुवाटार बोलाएका थिए। मुट भएका सम्पादक नभएको बताएपछि प्रधानमन्त्री ओलीको व्यापक आलोचना भएको थियो।

त्यसअघि असोज ३ गते मिडियाले मर्यादा बिर्सेको आरोप लगाएका प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहमा सञ्चारमाध्यममा प्रयोग भएको भाषाबारे असन्तुष्टि जनाएका थिए। त्यति बेला उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराएका थिए। विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्संदै गएको बताउँदै उनले विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। त्यस्तै असार २९ गते पनि प्रधानमन्त्री ओलीले त्यस्तै किसिमको असन्तुष्टि व्यक्त गरेका थिए।

मिडियाले भाषा बिगारेको आरोप लगाउँदै असार ३ गते उनले भनेका थिए, ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ। बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा, सभ्यताभित्र पर्दैन।’

स्वतन्त्र प्रेसले सरकारमा बस्नेहरुले सोचेजस्तै लेख्नुपर्छ भन्ने छैन प्रेस आलोचनात्मक पनि हुनसक्छ। त्यसलाई सरकारको नेतृत्व तहमा बस्नेहरुले पचाउन नसक्दाको परिणाम कुण्ठित भावना बाहिर आउने गरेको हो।’ तारानाथ दाहाल, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सवमा सहभागी भएका ओली हिँड्ने बाटोमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यममा समाचार आएपछि उनले त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिएका थिए। यसरी प्रधानमन्त्री ओलीले निरन्तर सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन्।

आइतबार पनि ओलीले सञ्चारमाध्यमले विकास निर्माणको कामलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्। राजधानीमा काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विकास निर्माणका समाचारलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको आरोप लगाए। प्रविधिको सुरुआत भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी बजाएको समाचार दिने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। आफूले भनेको विषयलाई हुबहु नराखी तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको आरोपसमेत उनले लगाए। ‘कुनैकुनै सञ्चारमाध्यमले यो न्युज दिनभन्दा बाँसुरी बजाएको न्युज दिन्छन् भोलीपनि, दया लाग्छ’, उनले भने।

‘देश विकास हुन लाग्दा पिर किन परेको, त्यो छक्क लाग्छ। कुनैकुनै भन्ने शब्द प्रयोग ग¥या छु। कुनैकुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनैकुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्’, प्रधानमन्त्री ओलीले भने। उनले बुद्धिजीवीको बौद्धिकता देख्दा समेत दया लाग्ने गरेको बताए। सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे।

आफूले तुइन विस्थापित गर्छु भन्दै प्रगति पेस गर्दैगर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनको थियो। ‘मैले देखें, एकजना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारें अरे। अनि मलाई चाहिं यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह–पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो, साझा कर्तव्य हो। हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने’, उनले भने, ‘काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम रातमा गरिने भएकाले त्यसले कसैलाई असर पर्दैन। सर्वसाधारण कसैलाई पनि यसले दुःख दिँदैन। किनभने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो। सबैले देखून् भनेर। सुरु भएको जानकारी होस् भनेर। पत्रकारको पनि निद्रा नबिगारुँ भनेर।’

पत्रकारिताप्रति प्रधानमन्त्रीका यस्ता टिप्पणीले तथ्यमा आधारित बहसको ढोका नखोल्ने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले बताउँछन्। ‘सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले बलिङ र ब्याटिङको कुरा गर्नुभयो, त्यसैको निरन्तरता हो कि। तर यस्तो किसिमको टिप्पणीले दुवै पक्षलाई कहीं पनि पु¥याउँदैन’, गाउँलेले भने।

अर्का पूर्वअध्यक्ष तारानाथ दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिमा कुण्ठाको झलक देखिएको बताए। स्वतन्त्र प्रेसले सरकारमा बस्नेहरुले सोचेजस्तै लेख्नुपर्छ भन्ने छैन प्रेस आलोचनात्मक पनि हुनसक्छ भन्दै दाहालले थपे, ‘त्यसलाई सरकारको नेतृत्व तहमा बस्नेहरुले पचाउन नसक्दाको परिणाम कुण्ठित भावना बाहिर आउने गरेको हो।’

सञ्चारमाध्यमले आफ्नो व्यावसायिक धर्मअनुसार काम गरिरहेको बताउँदै दाहालले भने, ‘सरकारले राम्रो काम गरे त्यसको उजागर गर्ने तथा नराम्रो काम गरे खबरदारी गर्ने प्रेसको दायित्व हो। अहिले भने हाम्रा प्रधानमन्त्री ट्रम्प प्रवृत्तितर्फ उन्मुख भएजस्तो देखिन्छ, प्रेसलाई बदनाम गराउने र कमजोर बनाउने शैलीतर्फ लागेको पाइन्छ। प्रेसले आफूहरुलाई निसर्त समर्थन गरोस् भन्ने चाहना झल्किएको छ, संसारभरि सत्तामा रहनेहरुको यस्तै चाहना हुन्छ, तर त्यो पूरा हुँदैन।’

प्रकाशित: ६ फाल्गुन २०७६ ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App