८ वैशाख २०८१ शनिबार
कला

‘मेरो फिल्म यात्रा अद्भूत थियो’

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो फिल्म यात्रा अद्भूत भएको दाबी गरेका छन्। राजधानीको राष्ट्रिय सभागृहमा आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत आइतबार उनले ‘मेरो कथा’ नामक कार्यक्रममा बोल्दै आफ्नो करिअरको सुरुआती दिनमा कम फिल्म निर्माण हुने गरेको बताए। उनले ‘युगदेखि युगसम्म’ नेपाली फिल्म क्षेत्रमा ‘मिनी रिभोलुसन’ ल्याइदिएको दाबी गरेका थिए।

‘भाग्यरेखा’ फिल्मबाट फिल्म यात्रा सुरु गरेका उनले पहिलो फिल्म असफल भए पनि पहिलो गाँसमा ढुंगा भएको महसुस गरेका थिए। ‘मेरो फिल्म यात्रा अद्भूत थियो। कलाकार बन्ने लागिपरेको थिएँ। पहिलो फिल्म असफल भएको थियो। संयोगवश दुई वर्षपछि सोही टिमले फिल्मले युगदेखि युगसम्म फिल्म निर्माण ग-यो,’ उनले भने, ‘यसले नेपाली फिल्ममा मिनी रिभोलुसन ल्याइदिएको थियो। त्यसपछि मैले १२ वर्षसम्म दिनहुँ १४ देखि १८ घन्टासम्म निरन्तर काम गरेको थिएँ। मेरो फिल्म यात्राबाट नेपाली फिल्ममा क्रान्ति आएको कुराप्रति म गर्व गर्छु।’

उनले करिअर सुरु गर्दा नेपाली फिल्ममा झन्डै एक दर्जन फिल्म बनेका थिए। फिल्म निर्माणका निम्ति भारतबाट प्राविधिक झिकाउनुपर्ने परिस्थिति थियो। ‘मैले धेरै फिल्मका काम गरिदिएर यो क्षेत्रको स्तर नसुध्रिएको गुनासो सुन्ने गर्छु। यो बेलाको स्थितिलाई त्यही बेलाको चस्मा लगाएर हेर्नुपर्छ। कारण त्यो बेला धेरै फिल्म बन्नु भनेको अवसर सिर्जना हुनु भन्ने थियो। नेपाली फिल्ममेकर, प्राविधिक र कलाकारले रोजगारी पाएका थिए,’ उनले भने, ‘मैले करिअरको सुरुआतमा संख्यात्मक फिल्मलाई निरन्तरता दिएको थिएँ। करिअरको सुरुआतमा राम्रो काम आउँदैनन्। संख्यात्मक काम गर्न जरुरी हुन्छ।’

नेपाली फिल्मले नेपाली समुदायसँग निकट हुन पाएको अनुभव उनले गरेका छन्। ‘मेरो सबैभन्दा ठूलो उपलब्धि भनेको मैले अभिनय गरेका फिल्मले नेपाली समुदायसँग निकट बनाइदिएको छ। उनीहरूको कथामा आधारित फिल्ममा काम गर्ने मौका मिल्यो,’ उनले भने। फिल्ममा खासै गतिविधि नभएको अवस्थामा करिअर बनाउन लागिपरेका उनको परिवार फिल्मप्रति नकारात्मक नभए पनि यसमा भविष्य हुन्न भन्नेमा अडिग थिए। ‘मलाई भावनात्मक रूपमा चुनौती थियो। म वान म्यान आर्मीजस्तो थिएँ। मेरो भावना सुन्ने र बुझ्ने कोही थिएन। मैले अभिनय गरेको युगदेखि युगसम्मको प्रिमियरमा मेरा परिवारका कोही सदस्य उपस्थित थिएनन्। फिल्ममा उत्कृष्ट प्रदर्शन गर्न आफूलाई प्रोत्साहित गरिरहेको हुन्थें,’ उनले भने।

फिल्मको कथा छनोटमा भने उनी समानुभूतिको भावनाबाट प्रेरित थिए। ‘मलाई जहिल्यै समानुभूतिको भावनाले प्रेरित गर्छ। अरूको अनुभूतिलाई मैले महसुस गर्नुपर्छ भन्ने कुरामा केन्द्रित थिएँ,’ उनले भने। फलस्वरुप उनले ‘एक नम्बरको पाखे’, ‘पालेदाइ’ र ‘भरिया’ जस्ता फिल्ममा सक्रिय भएर काम गरेका थिए। राजनीतिमा आफ्नो सहभागितालाई लिएर उनी बोल्न हच्किँदै भने, ‘राज्यको हरेक गतिविधि राजनीतिसँग जोडिने हुँदा यो हाम्रो मेरुदण्ड हो। म समाजको नागरिक भएकाले राजनीतिप्रति चासो राख्छु। तर राजनीतिमा सक्रिय हुने योजना छैन।’

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दौडधुप गरिरहेको भन्ने हल्लाको कुनै अर्थ नभएको दाबी उनले गरेका थिए। ‘मैले चलचित्र विकास बोर्डमा जाने इच्छा व्यक्त गरेको छैन। फिल्मका विभिन्न गतिविधि र विकासका काममा मेरो सहभागिता जहिल्यै हुन्छ,’ उनले भने। पछिल्लो समय नेपाली फिल्म प्राविधिक रूपमा विकसित हुँदै गएको अवस्थामा उनले सिर्जनात्मक कुरा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। ‘२३ वर्षसम्म कुनै दिन थिएनन् होला। जुन दिन मैले मेकअप नगरेको होस्। फिल्ममा मानसिक र शारीरिक काम हुन्छ। मैले कसरी काम गरें होला जस्तो लाग्छ,’ उनले भने, ‘आफ्नो रहरलाई एकपटक भए पनि पूरा गर्न कोसिस गर्नुपर्छ।’

विगत तीन वर्षदेखि उनले फिल्ममा काम गरिरहेका छैनन्। ठट्टा गर्दै उनले भनिहाले, ‘तीन वर्षदेखि फिल्म नगरेपनि उमेरचाहिँ अहिले पनि २१ नै हो।’ गत बिहीबारदेखि सुरु भएको निफमा यसपटक ८० वटा फिल्म प्रदर्शन भइरहेका छन्। महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय फिल्म (१०), नेपाली फिल्म (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) प्रदर्शन भइरहेका छन्। आगामी फागुन ५ सम्म आयोजना हुने महोत्सवअन्तर्गत वल्र्ड पनोरोमामा उत्कृष्ट हुने फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्नेछ। महोत्सवमा प्रदर्शन भएकामध्ये उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर, नेपाली फिल्मले एक लाख रुपैयाँ, ऐनिमेटेड फिल्मले सात सय ५० अमेरिकी डलर, सर्ट फिल्मले पाँच सय अमेरिकी डलर र नेपाली सर्ट फिल्मले ४० हजार रुपैयाँको पुरस्कार पाउनेछन्। त्यसबाहेक उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, सिनेमेट्रोग्राफर र स्क्रिनप्ले विधामा अवार्ड प्रदान गरिनेछ।

बलिउड फिल्मका निर्देशक प्रकाश झासहित गौरी मल्ल, जोआओ पाओलो मसेडो, युनी हाडी र मञ्जुकुमार श्रेष्ठको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गरिरहेका छन्। श्रीलंकाकी डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणासहित थाइबुट ब्रैक र करुण थापाको निर्णायक टोलीले उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्री छनोट गरिरहेका छन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App