coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तरकारीको मूल्य र गुणस्तरमा विकृति

काठमाडौं - गत शुक्रबार बिहान ५ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयोजन गरेको बजार अनुगमन टोली कालीमाटी तरकारी बजारमा पुग्दा बाहिरबाट तरकारी भित्रने र बजारका पठाउने क्रम चलिरहेको थियो। विषादीको परीक्षण सही तरिकाले भएको छ, छैन भनेर अनुगमनमा गएको टोलीले बाहिरबाट भित्रिएका तरकारीमध्येबाट एक दर्जन तरकारीको नमुना लियो। भित्र रहेको विषादी द्रुत विश्लेषण एकाइमा लगेर जाँच गर्दा सबै खानयोग्य नै भेटियो।

बजारमा खान नमिल्ने विषादी भएको हल्लालाई चिर्दै यो परिणाम आउनु सकारात्मक थियो तर जाँच गर्ने प्रकृयाले अनुगमन टोली सन्तुष्ट रहन सकेन। ‘गाडी राती दुई बजेबाट आउन सुरु गर्ने तर एकाइका कर्मचारी आठ बजे आएर नमुना संकलन गर्दा रहेछन्,’ जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत खड्ग बहादुर श्रेष्ठले भने, ‘उहाँहरुको भूमिकामाथि शंका हैन तर यो समयको ग्यापले व्यवसायीलाई चलखेल गर्न समय मिल्ने देखियो।’ त्यसमाथि एकाइमा अहिले किसानले प्रयोग गर्न छाडेको विषादी कार्वामेट र अर्गानोफस्फेट मात्र जाँच भए पनि अन्य विषादी चेक नहुने गरेकाले विषादी औपचारिकतामा मात्र सीमित देखिएको उनी बताउँछन्।

श्रेष्ठले त्यसका अतिरिक्त कालीमाटी गोदाम क्षेत्रमा अत्याधिक फोहोर भेटिएको र सामान्य सरसफाइ पनि नभएको पाइएको बताए। ‘छेउमै डम्पिङ साइड छ, त्यही तरकारीका बोरा राखिएको छ, कतिले डम्पिङमा फालेकै तरकारी उठाएर बिक्री गर्ने गरेको पाइयो,’ उनले भने, ‘केही क्यारेट तरकारी अत्याधिक फोहोर देखिएपछि नष्ट गरियो।’ उनले धेरै व्यवसायीले दर्ता नवीकरणसमेत गरेको पाइएकाले आन्तरिक राजस्व कार्यालयले नियमानुसार जरिवाना गरेको बताए। अनुगमनका क्रममा टोलीले बाहिरबाट भित्रने अधिकांश बिलबिजक बिना भित्रने गरेको र भित्र पनि बिल बिजकको प्रयोग नभएको पाएको छ। अनुगमन टोलीमा रहेका उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना खरिद बिक्रीमा बिलै प्रयोग नभएको पाइएको बताए।

उनले तरकारीको मूल्य तोक्दासमेत कुनै वैज्ञानिक आधार प्रयोग नभएको दाबी गरे। ‘मूल्य निर्धारण गर्नका लागि कुनै आधार त चाहिन्छ होला नि ? , जहाँ बिलै प्रयोग हुन्न, त्यसमा मूल्य निर्धारण प्रभावकारी कसरी हुन्छ।’, तिमल्सिनाले भने, ‘बजार र उपभोक्ताको समन्वयका लागि स्थापना भएको विकास समितिको कुनै भूमिकै देखिएन।’ उनले मूल्य निर्धारण, सरसफाइ, गुणस्तरलगायत कुरामा पटक पटक सुझाव दिइदै आएको भए पनि कसैको ध्यान नपुगेको उनको भनाइ छ। उनी भन्छन्, ‘किसानले मूल्य पाएको हुँदैन बिचौलियाले मनपरी उपभोक्ताको ढाड सेकेको हुन्छ।’

छेवमै डम्पिङ साइड छ, त्यही तरकारीको बोरा राखीएको छ, कतिले डम्पिङमा फालेकै तरकारी उठाएर बिक्री गर्ने गरेको पाइयो। केही क्यारेट तरकारी अत्याधिक फोहोर देखिएपछि नष्ट गरियो।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठ समितिले व्यवस्थापन र समन्वयको काम गर्ने भए पनि मूल्य निर्धारणमा कुनै भूमिका नहुने बताउँछन्। ‘खुला बजारमा कसले मूल्य निर्धारण गर्न सक्छ, हामीले मात्र हैन कसैले मूल्य निर्धारण गरेको छैन,’ उनले भने, ‘त्यसमाथि तरकारीमा मूल्य राख्न गाह्रो छ, सबैको गुणस्तर एउटै हुँदैन, उनीहरुको लागत पनि फरक फरक हुन्छ।’ मूल्य निर्धारण नै गर्न नसके पनि त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था भए पनि समितिको त्यसतर्फ पनि भूमिका देखिन्न। बजारको माग र आपूर्तिले मूल्य निर्धारण गर्ने श्रेष्ठको तर्क छ। समितिले सार्वजनिक गर्ने दैनिक सूची व्यवसायीबाट दैनिक मूल्य बुझेर सार्वजनिक गर्दै आएको छ।

उनले व्यवसायीले मूल्य निर्धारण गर्न स्वतन्त्रता दिएको बताइरहँदा किसानले उपलब्ध गराउने मूल्यभन्दा एक सयदेखि तीन सय प्रतिशतभन्दा माथिसम्म बढी मूल्य असुलिरहेका छन्। चितवनका किसान पुरन महतो यो सिजनमा किसानले ठिकै मूल्य पाएको बताउँछन्। उपभोक्ताले तिर्दै आएको मूल्य अस्वाभाविक भएको उनी बताउँछन्। उनले कालीमाटीजस्ता बजारका किसानका आफ्नै स्टल राख्नसके बिचौलियालाई नियन्त्रण गर्न सकिने बताउँछन्। उनी भन्छन्, ‘हामीले धेरै ठाउँमा यो कुरा उठायौं तर सुनुवाइ भएन।’ समितिका प्रवक्ता श्रेष्ठ किसानले भन्ने एउटा र कुरा अर्कै गर्ने आरोप लगाउँछन्।’ कालीमाटीमा डेढ दर्जन स्टल किसान र सहकारीका लागि छुट्याएका छौं तर कसैले पनि उत्पादन लिएर आउने गरेका छैनन्,’ उनले भने, ‘अब यसलाई व्यवस्थित गर्न कार्यविधिमा टेकेर स्टलमा बस्ने सहकारी र किसानलाई कल गर्दैछौं।’

तरकारीको बजार मूल्यलाई तुलना गर्दा धेरै तरकारीको मूल्य बर्सेनि उकालो चढ्दै गएको छ तर यसलाई नियन्त्रण गर्न सकिरहेको देखिन्न।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App