ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको २२० केभिए क्षमताको विद्युत् सबस्टेसनले तीव्रता पाएको छ। निर्माण कार्य सुरु भएको करिब पाँच महिनाको अवधिमै १० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी केइसी इन्टरनेसनलले जनाएको छ।
उत्पादित विद्युत्लाई एकीकृत गरी नियमित वितरण प्रणालीमा लैजान विद्युत् सबस्टेसनको निर्माण अनिवार्य छ। केइसी इन्टरनेसनल भारतीय निर्माण कम्पनी हो। विद्युत् सब–स्टेसन निर्माणका लागि कम्पनीका तर्फबाट खटिएका साइड इन्चार्ज राजित मियाँका अनुसार भवन निर्माण, अर्थ कटिङ, फिलिङ, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनसहित बेसका कार्य भइरहेका छन्। उनका अनुसार अहिले दैनिक ८६ जना कामदार निर्माण कार्यका लागि खटिएका छन्। ३२ नेपालीबाहेक अरु सबै मजदुरसहितको जनशक्ति भातरीय रहेको उनले जानकारी दिए। केइसी इन्टरनेसनलले नेपाल र भारतसहित विभिन्न अरु देशमा पनि विद्युत् सब–स्टेसन निर्माणको काम पूरा गरिसकेको छ। साइड इन्चार्ज मियाँले यस कार्यका लागि विभिन्न स्थानमा सफल कार्य पूरा गरेका जनशक्ति परिचालित भएको जाकारी दिए। ‘स्थानीय क्षेत्रका जनशक्तिसमेत परिचालन गरेर सन् २०२० को डिसेम्बरभित्रै सब–स्टेसनको निर्माण कार्य पूरा गर्ने योजना बनाएका छौं,’ उनले भने।
प्राकृतिक वा अन्य कुनै अवरोध सिर्जना नभए लक्ष्यअनुसार काम पूरा गरेर सब–स्टेसन सम्बन्धित निकायलाई बुझाउने योजना रहेको समेत मियाँले जानकारी दिए। आफ्ना कम्पनीमा कार्यरत अरु दक्ष जनशक्तिसमेत परिचालन गरेर निर्माण कार्य पूरा गर्ने कम्पनीले योजना बनाएको उनले सुनाए। स्थानीय क्षेत्रका जनशक्तिलाई समेत रोजगारीको अवसर सिर्जना हुनेगरी कम्पनीले निर्माण जनशक्ति परिचालित गरेको उनको भनाइ रहेको छ। तर उनले दक्ष स्थानीय जनशक्ति प्राप्त हुन भने धेरै कठिन रहेको बताए। ४३ हजार वर्गमिटर (करिब पाँच सय रोपनी) क्षेत्रफलमा फैलिएको यो विद्युत् सब–स्टेसन निर्माणको कूल लागत दुई अर्ब ४० करोड भारतीय रुपैयाँ अर्थात् करिब तीन अर्ब ८४ करोड नेपाली रुपैयाँ रहेको केइसी इन्टरनेसनलले जनाएको छ। ठूलो क्षमताको विद्युत् सब–स्टेसन निर्माण भइरहेको यसमा जडान हुने ट्रान्सफर्मरसहितका उपकरण पनि वजनदार हुन्छन्। यिनीहरुलाई निर्माणाधीन सब–स्टेसनसम्म पुर्याउनका लागि पनि निकै कठिन अवस्था रहेको साइड इञ्चार्ज मिँयाले सुनाए।
मेची राजमार्गको बिर्तामोड–इलाम–फिदिम हुँदै जसोतसो ताप्लेजुङ सदरमुकामसम्म ल्याइपुर्याए पनि त्यहाँबाट दोभान हुँदै सब–स्टेसन निर्माण स्थलसम्म पुर्याउनु निकै चुनौतीपूर्ण रहेको उनले जानकारी दिए। त्यही भएर अहिले निर्माण कम्पनी आफैंले दोभानबाट ढुंगेसाँघुको तेल्लाबुङसम्मको ट्र्याक खोलिएको मदन भण्डारी राजमार्गका ठाउँ–ठाउँमा स्तरोन्नतिका कार्य गरिरहेको मियाँले जानकारी दिए।साँघुरो ट्र्याकलाई बढाउने, स्तरोन्नति गरेर सवारी सञ्चालन हुने तहको सम्म पुर्याउने र आवत–जावत सहज बनाउने लगायत कार्य पनि कम्पनी आफैंले गरिरहेको उनले जानकारी दिए। सानिमा हाइड्रो पावरद्वारा प्रवद्र्धित ७३ मेघावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजना, प्रस्तावित १२८ मेघावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनासहितका विभिन्न स्थानबाट उत्पादित विद्युत् यही सब–स्टेसनमा एकीकृत गरी नियमित वितरण प्रणालीका लागि व्यवस्थापन गरिने छ।
प्रकाशित: ५ फाल्गुन २०७६ ०२:५७ सोमबार