८ वैशाख २०८१ शनिबार
समाज

पहिलो दिन नमुना संकलन

काठमाडौं – चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा ल्याएर राखिएका सबैजनाको नमुना परीक्षण गरिएको छ। क्वारेनटाइनमा रहेका १ सय ७५ जना विद्यार्थीको नमुना लिइएको हो। चीनको वुहान प्रान्तबाट नेपाल आउन १ सय ८५ जनाले फारम भरे पनि स्वास्थ्य परीक्षणमा शंकास्पद ६ जनालाई चीनमै सुरक्षित राखिएको र ४ जनाले उतै बस्ने निर्णय गरेकाले १ सय ७५ जनामात्र नेपाल आइपुगेका हुन्।

उनीहरूको घाँटीको -याल झिकेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षणको रिपोर्ट दुई दिनपछि आउनेछ। उनीहरूको पहिलो चरणको नमुना परीक्षण भएको र दोस्रो चरणको परीक्षण १४ दिनपछि हुने मन्त्रालयले जनाएको छ। दुवै परीक्षण नेगेटिभ भएपछि मात्र उनीहरू घर फर्किन पाउने व्यवस्था छ। क्वारेनटाइनमा चौबीसै घण्टा स्वास्थ्यसेवाको व्यवस्था गरिएको छ। एक मेडिकल अफिसरसहित एक नर्स र दुई जना प्यारामेडिकलसहितको टोली क्वारेनटाइनभित्र छ भने क्वारेनटाइनबाहिर चारजनाको टोली तयारी अवस्थामा राखिएको छ। क्वारेटनटाइनमा रहेकै अवधिमा कसैमा कोभिड–१९ को संक्रमण भएमा तुरुन्तै उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल लग्ने व्यवस्था मिलाइएको छ। क्वारेन्टाइनमा रहेका सबैलाई १७ दिनपछि मात्र बाहिर निस्कन दिइने खरिपाटी क्वारेटनटाइनका प्रमुख डा. नवीन फुयाँलले बताए।

भ्रमले बढी त्रास
कोरोना भाइरसबारे भ्रम फैलिँदा त्रास बढेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। समुदायमा रुघाखोकी लागे पनि कोरोनाकै त्रासमा आत्तिएर बिरामी अस्पताल आइपुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। ‘मौसमी रुघाखोकी भएको हुन्छ, बिरामी कोरोना भयो कि भन्दै आउनुहुन्छ’, अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले भने। केही दिनअघि सिन्धुपाल्चोक र धनगढीमा रुघाखोकी लागेपछि मिडियामा कोरोनाको आशंका गर्दै समाचार आएको तर परीक्षणबाट पुष्टि नभएको महाशाखाले जनाएको छ। ‘दुवै जिल्लाको नमुना जाँच ग¥यौं, कसैमा पनि कोरोना थिएन’, महाशाखा प्रमुख डा. विवेककुमार लालले भने।

समुदायमा कोरोना रक्सी वा कुनै आयुर्वेदिक तेल लगाएमा निको हुने भ्रमसमेत फैलिएको र त्यस्तो भ्रमको पछि नलाग्न डा. लालले सुझाए। विकसित देशमा छोटो अवधिमा भएको संक्रमणको संख्या र मृत्युको संख्या देखेर समुदायमा त्रास फैलिएको हुन सक्ने डा. लालको तर्क छ। चिकित्सकका अनुसार हालसम्म समुदाय स्तरमा कोरोना संक्रमण भइनसकेको र भइहालेमा नेपाल सरकार उपचार गर्न सक्षम रहेकाले डराउनुपर्ने अवस्था छैन। ‘संक्रमण भइहालेमा नेपाल सरकार उपचार गर्न सक्षम छ। नेपालमा रहेका प्रयोगशाला पनि प्रयोगसिद्ध हुन्’, डा. लालले भने।

दीर्घरोगी, जटिल रोग भएका तथा वृद्ध उमेरमा संक्रमण भएमा भने समस्या जटिल हुने चिकित्सक बताउँछन्। अहिलेसम्म चीन तथा अन्य देशमा कोरोना संक्रमणपछि मृत्यु हुनेमा जटिल रोगी तथा वृद्धवृद्धाको संख्या बढी छ। यस्तो अवस्थामा बच्ने मुख्य उपाय भनेकै अन्य मौसमी फ्लुको संक्रमणबाट बच्नु नै हो। जुनोटिक शाखाका प्रमुख डा. हेमन्त वझाका अनुसार यो रोग हावावाट सजिलै सर्दैन। तर संक्रमित व्यक्तिले प्रयोग गरेका तथा छोएका ठाउँमा स्वस्थ मानिसले छोएमा, अपरिचित ठाउँमा हातले छोएपछि हात आँखा तथा मुखमा छोइएमा कोरोना सर्छ। यसको मुख्य उपाय भनेकै सरसफाइमा ध्यान दिने, रुघाखोकीको संक्रमण भएको व्यक्तिको सम्पर्कबाट टाढा रहनु हो। ‘अपरिचितमा ठाउँ छोएपछि हात धुनाले र रुघाखोकी लागेका मानिसबाट टाढा बस्नाले बच्न सकिन्छ’, डा. वझाले भने।

कोभिड–१९ ले चीनमा हालसम्म १६ सय जनाको मृत्यु भएको र ७० हजार जनामा संक्रमण भइसकेको छ। नेपालमा हालसम्म ३४ जनाको -याल परीक्षण गरिएकोमा चीनबाट आएका एक विद्यार्थीबाहेक अरूम कोरोना संक्रमण भेटिएको छैन।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App