coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दसगजामा भारतीय सरकारी भवन

७५२ नम्बरको सीमास्तम्भनजिकै दसगजा क्षेत्रमा भारतीय पक्षले गाडेको किला (नीलो पहेंलो)। तस्बिर: पुष्पराज/नागरिक

धनगढी – नेपाल–भारत सीमाको दसगजामै भारतीय पक्षले आफूखुसी सरकारी भवन निर्माण गर्न थालेको छ। अन्तर्राष्ट्रिय सीमानजिक छिमेकी देशको अनुमति नलिई कुनै पनि संरचना निर्माण गर्न नपाइने प्रावधान रहे पनि भारतीय पक्षले दसगजा मिचेर एकतर्फी रूपमा पक्की संरचना निर्माण गर्न थालेको हो।

धनगढीको त्रिनगर भन्सारसँग जोडिएको सीमास्थित पिलर नम्बर ७५२ छेउमै दसगजा क्षेत्रमा भारतीय पक्षले संरचना बनाउन नापनक्सा गरेर चार किल्ला गाडेको छ। दुधुवा नेसनल पार्कको जमिन भारतीय कस्टम (भन्सार) विभागलाई नापजोख गरी हस्तान्तरण गरेर भवन निर्माणका लागि भारत सरकारले दिएपछि निर्माण प्रक्रिया सुरु भएको हो। दुधुवा नेसनल पार्कमा भारतीय वन विभागले अन्य संरचना बनाउन रोक लगाइरहेका बेला दसगजामै भवन बनाउन कस्टम विभागलाई जमिन हस्तान्तरण गरिएको छ। ‘भारतले दुधुवा नेसनल पार्कमा अन्य संरचना बनाउन दिएको छैन तर दसगजामा भने किन भवन बनाउन दिइयो, बुझ्न सकिएको छैन,’ स्थानीय कमल विकले भने, ‘भारतले अन्तर्राष्ट्रिय मापदण्डविपरीत दसगजा क्षेत्रमै भवन बनाउँदा यसले हामीलाई प्रत्यक्ष असर पर्छ।’

भारतीय पक्षले दसगजा क्षेत्रमा भवन निर्माणका लागि नापजोख गरेर चार किल्ला गाडेपछि स्थानीयले विरोध गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले दसगजा क्षेत्रमा पक्की संरचना नबनाउन आग्रह गरेका छौं तर पनि उनीहरूले अटेर गरिरहेका छन्।’ सो क्षेत्रमा अघिल्लो वर्ष दसगजाभन्दा वरै नेपालतर्फ सीमा सुरक्षा श्रेष्ठले भने, ‘अघिल्लो वर्ष नेपालीले निकै वर सुरक्षा पोस्ट बनाउँछु भन्दा नहुने, अहिले भारतीय पक्षले दसगजामै भवन बनाउन हुने, यो कस्तो नियम हो ?’

अघिल्लो वर्ष नेपालीले निकै वर सुरक्षा पोस्ट बनाउँछु भन्दा नहुने, अहिले भारतीय पक्षले दसगजामै भवन बनाउन हुने, यो कस्तो नियम हो ?

सशस्त्र सीमा सुरक्षा बेस क्याम्प धनगढीका सशस्त्र प्रहरी नायव उपरीक्षक भोला कुशवाहले सीमामा रहेको ७५२ पिलरनजिकै भारतीय पक्षले भवन निर्माणका लागि किल्ला गाडेको बताए। भारतीय पक्षले ११ गजमा भवन निर्माण गरेको बताएको उल्लेख गर्दै सशस्त्र प्रहरी नायव उपरीक्षक कुशवाहले भने, ‘हामीले भने सो क्षेत्रमा नाप गर्न नसकेकाले दसगजा हो या हैन एकिन भन्न सकिने अवस्था छैन।’ दसगजाबारे प्रष्ट हुन नापी शाखाबाट अमिनको टोली मगाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘हामीले नापी शाखालाई दसगजा क्षेत्रको नापजाँच गरिदिन आग्रह गरेका छौं।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारतले भवन बनाउने तयारी गरेको जानकारी पाएपछि सीमा प्रहरी बलका प्रहरी उपरीक्षकलाई बुझ्न पठाएको बताए। ‘दसगजा क्षेत्रमा भवन निर्माण गरिए त्यो रोक्न हामी पहल गर्नेछौं,’ उनले भने, ‘त्यसमा पनि समस्या आएमा संयुक्त सर्भे टोलीमार्फत समाधान खोजिनेछ।’

भारतीय पक्षले पनि सीमानजिकै भवन निर्माणको तयारी गरेको स्वीकारेको छ। वन विभागको केन्द्रीय कार्यालय दिल्लीबाट दुधुवा नेसनल पार्कको भारतीय कस्टमलाई हस्तान्तरण गरिएको कस्टमका सुपरिटेन्डेन्ट आलोककुमार श्रीवास्तवले बताए। उनका अनुसार पाँच हजार स्क्वायर फिट जमिन वन विभागले कस्टमलाई भवनका लागि उपलब्ध गराएको हो। वन विभागले उपलब्ध गराएको जमिन नापजोख गरेर दुधुवा नेसनल पार्कबाट अलग्याइएको बताउँदै उनले भने, ‘जमिन नापजोख गरेर भवन निर्माणका लागि चार किल्ला गाडिसकेका छौं, लगत्तै भवन निर्माण थालिनेछ।’ सो क्षेत्रमा कस्टमका कर्मचारीका लागि आधुनिक, आवासहितको तीन तले पक्की कार्यालय भवन निर्माण गरिने उनले बताए। नेपाली पक्षले दसगजा क्षेत्र रहेको बताउँदै आए पनि सो क्षेत्र दसगजा नरहेको श्रीवास्तवको दाबी छ।

अन्तर्राष्ट्रिय मापदण्डविपरीत नेपाललाई असर पर्नेगरी दसगजा क्षेत्रमा थालिएको भवन निर्माण कार्य रोक्न स्थानीयले सरकारसँग माग गरेका छन्। ‘दसगजा क्षेत्रमै भवन निर्माण कार्य स्थगित गर्न हामीले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा पोस्टलगायतका निकायलाई मौखिक खबर गरेका छौं,’ स्थानीय भीम थापाले भने, ‘सरकारले कुटनीतिक पहल गरेर तत्काल दसगजा क्षेत्रको पक्की संरचना निर्माण कार्य रोक्नुपर्छ।’

भारतको निरन्तर बलमिचाइ
कञ्चनपुरको पुनर्वास नगरपालिका–९, बीचफाँटाका किसानले पारितर्फ रहेको भारतको दुधुवा नेसनलपार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि सीमाक्षेत्रमा काँडेतार लगाउने योजना बनाए। किसानको योजनालाई नगरपालिका तथा वडा कार्यालयले सहयोग ग-यो। २०७४ वैशाखमा किसानले खेतबारीमा लगाएको बालीनाली जोगाउन भन्दै सीमावारि नेपाली भूमिमा तारबार गर्न थाले। तर भारतीय एसएसबी आएर नेपाली किसानले नेपाली भूमिमै लगाएको तारबार उखेलिदियो। ‘सीमा क्षेत्रमा तारबार गर्न पाइँदैन भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फ लगाइएको तारबार हटाएको थियो,’ वडा नम्बर ९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले भने, ‘नेपालतर्फ केही संरचना बनाउन थाल्दा भारतले भने रोक लगाउँछ।’

नेपालतर्फ तारबारलगायत विकासका काममा रोक लगाउने गरेको भारतीय पक्षले आफूले भने दसगजामै बलमिचाइ गरेर लगातार संरचना निर्माण गरिरहेको छ। यसअघि कैलाली र कञ्चनपुरको सीमामा भारतीय पक्षले करिब ६ किलोमिटर क्षेत्रमा माटोको ट्रेन्च खनेर तारबार ग¥यो। ‘नेपाली भूभाग डुबानमा पर्ने गरी ट्रेन्च नखन्न र तारबार नगर्न नेपाली पक्षले विरोध गरे पनि भारतीय पक्षले बनाएरै छाड्यो,’ स्थानीय दीपेन्द्र बस्नेतले भने, ‘यो भारतको दादागिरी शैली भयो।’

यसअघि भारतीय पक्षले सीमामा ट्रेन्च खनेर तारबार गर्दा नेपाल सरकारले कुटनीतिक पहल नगर्दा भारतीय पक्षको मनोबल बढेर यसपटक दसगजा क्षेत्रमै भवन निर्माण गर्न थालेको बताउँदै बस्नेतले भने, ‘यसअघि नै सरकारले सीमामा निगरानी गरेको भए आज दसगजामै भारतीय पक्षले भवन निर्माण गर्दैनथ्यो।’ अब सरकारले सीमा अतिक्रमण गरी संरचना निर्माण गरिने कार्य दुवै देशबाट बन्द गर्न चाँडै कुटनीतिक पहल गरेर समाधान गरिनुपर्ने उनी बताउँछन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App