७ वैशाख २०८१ शुक्रबार
समाज

अनुमानको भरमा अनुसन्धान

काठमाडौं – सानेपा घटनाको विषयमा अनेकन अड्कल र अनुमान गरिए पनि खास रहस्य भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन। पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यापछि आत्महत्या गरेको भनिएका घरेलु कामदार विजय चौधरीको मृत्युसँगै त्यसको प्रमाण पनि नष्ट भएकाले घटनाबारे रहस्य खुल्न नसकेको ललितपुर प्रहरीले दाबी गर्दै आइरहेको छ। चार दिनअघि गरिएको पोस्टमार्टम रिर्पोटले पनि घाँटी थिचेर कार्कीको हत्या गरेलगत्तै कामदार चौधरीले आत्महत्या गरेको पुष्टि गरेको छ।

घटना गत आइतबार बिहान भएको थियो। साता अवधिमा यसबारे गरिएका शंका–उपशंकाले भने बहस सिर्जना गराइरहेको छ। पूर्वसचिव एक्लै पुशपतिनाथ जानु, दर्शनका लागि पशुपति गएका उनी ११ बजेसम्म घर आइनपुग्नु, १२ वर्षीय बच्चालाई स्कुल पु¥याउन गएकी एक महिला कामदार छिटो घर नफर्कनु, चौधरीले हत्या गर्नका लागि डोरीले घाँटीमा कस्दा वा कुटपिट गर्दा महिलाले कुनै प्रतिवाद गरेको नदेखिनु, ६ महिनासम्म कामदारलाई तलब नदिनु, दुवै पक्षले ललितपुर प्रहरीमा जाहेरी दिनुजस्ता कारणले घटनालाई शंकास्पद बनाएको छ। तर प्रहरीले भने यी सबै कल्पनामात्रै गर्न सकिने कुरा रहेको बताउँदै आएको छ। सानेपा प्रहरी प्रभाग र कार्कीको घरको बीचमा राखिएको सिसी क्यामेरामा पनि झ्यालभित्रको केही दृश्य कैद छ, जसमा डोरीले घाँटीमा कस्दै गरेको र पिर्काले हिर्काउँदै गरेको देखिएको छ। फुटेज धमिलो भएकाले अरू कुरा राम्रोसित देखिँदैन। भान्सा कोठामा हत्या गरेर सोही तलाकै अर्को कोठामा गएर कामदार चौधरीले आत्महत्या गरेको प्रहरीको दाबी छ। तर यो कुरा सिसिटिभी फुटेजमा भने रेकर्ड भएको छैन।

पूर्वसचिव एक्लै पुशपतिनाथ जानु, १२ वर्षीय बच्चालाई स्कुल पु-याउन गएकी एक महिला कामदार छिटो घर नफर्कनु, डोरीले घाँटीमा कस्दा वा कुटपिट गर्दा महिलाले कुनै प्रतिवाद गरेको नदेखिनु, ६ महिनासम्म कामदारलाई तलब नदिनुजस्ता कारणले घटनालाई शंकास्पद बनाएको छ। तर आफू बस्दै आएको घरको मालिकलाई मार्ने मनस्थिति उनमा कसरी आयो भन्ने कुरा रहस्यको विषय हो।

महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले हत्याबाहेक अरू कुनै रहस्य हुन नसक्ने दाबी गरे। ‘जसले जेजे सोचे पनि ती सबै अनुमानमात्रै हुन्, हत्यापछि आत्महत्या भएकाले घटना पुष्टि गर्ने प्रमाण लोप भएको छ,’ उनले भने, ‘तथापि अझै केही रहस्य लुकेको छ कि भनेर हामीले गहिरो अध्ययन पनि गरिरहेका छौं तर अनुमान गरिएजस्तो रहस्य रहेको देखिँदैन।’

मंगलबार र बुधबार दुवै परिवारका आफन्तले सत्यतथ्य छानबिन गर्न भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि घटना झन् रहस्यमयी र तन्कने देखिए पनि अनुसन्धानमा भने केही रहस्य नदेखिने प्रहरीले बताउँदै आएको छ। अरू सबैखाले प्रमाण जाँच गरिएकाले प्राविधिक प्रमाण (डिजिटल इभिडेन्स) बारे प्रहरीले अध्ययन थालेको छ। परिसरका एसएसपी टेकप्रसाद राईले पोस्टमार्टम रिपोर्टसँगै प्रहरीले दुवै जनाको मोबाइललाई अनुसन्धानको माध्यम बनाएको बताए। उनले मोबाइललगायत सामग्री डिजिटल फरेन्सिक ल्याबमा पठाएको जानकारी दिए। उनका अनुसार ‘डिजिटल डिभाइस’ को डिजिटल डाटा संकलन गरेर मात्रै फरेन्सिक जाँच गरिन्छ। त्यसका लागि दुवै जनाबीच भएको कल डिटेल, फोटो, अडियो–भिडियो, म्यासेजजस्ता कुरालाई हेरिन्छ र त्यसलाई विश्लेषण गरिन्छ। ‘हामीले सक्दो अनुसन्धान गरिरहेको छौं, उनका छिमेकी र आफन्तसँग बयान पनि लिएका छौं, तर अरूले सोचेजस्तो रहस्यमयी भेटिन्न,’ परिसरका एसएसपी टेकप्रसाद राईले भने।

उनका अनुसार फरेन्सिक रिर्पोटका लागि विवरण र मोबाइल तथा अन्य प्रमाणहरू प्रहरी प्रधान कार्यालय नक्साल पठाइएको छ। शनिबार पठाइएको विवरणबारे प्रधान कार्यालयले कुनै जबाफ फर्काएको छैन। एसएसपी राईले यस्तोखाले अनुसन्धानको लागि समय लाग्ने बताए। ‘ठूल्ठूला अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीका लागि यो घटनाको अनुसन्धान त्यति ठूलो होइन, केही अनुसन्धान प्रविधिको सहायतामा गरिने भएकोले समय लाग्छ,’ उनले भने। प्रहरीले दुवै जनाको सामाजिक सञ्जाल र ‘गुगल सर्च’ लाई हेर्ने उनको भनाइ छ।

छोराले हत्यापछि आत्महत्या गरेको भन्ने सुनेपछि विजयका परिवारका तर्फबाट उनका बुबा जानकी चौधरीले बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको प्रहरीले बताएको छ। ललितपुरको सानेपास्थित कार्कीको घरमा माघ २७ गते बिहान उनकी पत्नी मुनाको हत्या भएको र कामदार चौधरीले सोही तलाकै अर्को कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ। आफ्नै घरको भान्साकोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पताल पु¥याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। चौधरी १३ वर्षको उमेरदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए। उनी घरभित्रको काम गर्थे।

पछिल्लोपटक चौधरीले गाडी सिक्दै थिए। दुई वर्षअघि कार्कीको घरमा चोरी भएको थियो। त्यसलगत्तै सिसी क्यामेरा जडान गरिएको थियो। कार्कीका छिमेकी दानबहादुर थापाका अनुसार उक्त घरमा कुनै पारिवारिक झगडा र विवादको हल्ला कहिले नसुनिएको बताए। ‘कामदार र परिवारबीच कुनै मनमुटाव थिएन। कामदार पनि खुसी नै थिए,’ उनले भने ‘तर आफू बस्दै आएको घरको मालिकलाई नै हत्या गर्ने मनस्थिति उनमा कसरी आयो भन्ने कुरा रहस्यको विषय हुनसक्छ।’

प्रकाशित: ५ फाल्गुन २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App