७ वैशाख २०८१ शुक्रबार
खेल

न्यु डाँफे क्लब विजयी

मकवानपुर - तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको जारी खेलमा न्यु डाँफे युवा क्लब, मकवानपुर विजयी भएको छ। आइतबार नवजागृति युवा क्लब, सिमरालाई ४–० ले पराजित गर्र्दै न्यु डाँफेले सेमिफाइनल यात्रा तय गर्‍यो।

न्यु डाँफेले आगामी खेलमा जावलाखेल युवा क्लबको सामना गर्नेछ। खेलको ४०औं मिनेटमा न्यु डाँफेका विश्व अधिकारीले प्रहार गरेको बलले जाली चुमेको थियो। त्यस्तै, न्यु डाँफेका स्ट्राइकर प्रिजेन तामाङले सिमराका गोलरक्षक सुवास बलको गल्तीलाई फाइदा उठाउदै ४४औं मिनेटमा गोलमा परिणत गरे। खेलको ७०औं मिनेटमा न्यु डाँफेका हिसुब थपलिया र ९१औं मिनेटमा रविन स्याङ्तानले एक–एक गोल गर्दै विजययात्रा सुनिश्चित गरेका थिए।

खेलको म्यान अफ दी म्याच मकवानपुरका हिसुब थपलिया घोषित भए। उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे। सोमबारको खेल आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लब, काठमाडौंबीच हुनेछ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिकाले विजयी सुरुसात गरेको थियो। घरेलु मैदानमा आयोजकले सर्लाहीको बागमती नगरपालिकालाई १–० ले पराजित गरेको हो। प्रतियोगिताको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले बताए। उपविजेताले ३ लाख, शिल्ड र मेडल तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेनडर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबारसम्म हुने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैंया खर्च हुने आयोजकले जनाएको छ। ५ वटा ‘ए’ डिभिजन क्लब, प्रदेश र जिल्लास्तरीयसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधि सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधि हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App