७ वैशाख २०८१ शुक्रबार
राजनीति

कर्मचारीको सहयोगविना विकास र समृद्धि असंभवः नेता राई

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा सांसद सुरेशकुमार राई (हिमाल) । तस्बिरः महेश्वर

उदयपुर- सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले कर्मचारीको सहयोगविना देशमा विकास र समृद्धिको कल्पनै गर्न नसकिने बताएका छन्। पार्टीनिकट निजामति कर्मचारी संगठन तथा निजामति कर्मचारीद्वारा सञ्चालित राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘संयुक्त वनभोज तथा अन्तरक्रिया कार्यक्रम’मा नेता राईले सो कुरा बताएका हुन्।

प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसदसमेत रहेका राईले देशको मेरुदण्ड कर्मचारी संयन्त्र भएकाले सरकार जुनसुकै पार्टीको भए पनि त्यसलाई सफल पार्न कर्मचारीको सहयोग अत्यावश्यक रहने बताए। ‘सरकार जुनसुकै पार्टीको गठन हुन सक्छ तर, कर्मचारीजस्तो लामो समयसम्म चल्न सक्दैन, चलेको पाइदैन’ राईले भने ‘तर, कर्मचारी स्थायी सरकार हो, त्यसैले कर्मचारीको सहयोगविना सरकार, व्यवस्था र विकास केही पनि दीगो हुन सक्दैन।’

स्थायी सरकार भएकाले पेशागत मर्यादा र राज्यको नीतिगत तथा कानुनी परिधिभित्र रहेर कर्मचारी संयन्त्र स्वच्छ, स्वस्थ्य र दह्रो इच्छाशक्तिका साथ लागी पर्न उनको आग्रह थियो। त्यसो भए मात्र सरकार र पार्टी सफल हुने अनि देश समृद्धितर्फ उन्मुख हुने बताउदै उनले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा आत्मसात गर्दै सफल बनाउन निजामति कर्मचारीको मुख्य भूमिका हुने बताए।

मुलुकमा पछिल्लो परिवर्तन आउनुमा निजामति कर्मचारीको महत्वपूर्ण भूमिका रहेको र अब देशलाई समृद्धितर्फ उन्मुख गराउने अभिभारा पनि थपिएको भन्दै सांसद राईले त्यसका लागि सबै निजामति कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताए। संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी, समानुपातिक सहभागिता मुलुकले पाएको पछिल्लो प्रमुख उपलब्धी भन्दै राईले त्यसको रक्षा र प्रबद्र्धन गर्न कर्मचारी संयन्त्र समर्पित हुनुुपर्नेमा जोड दिए।

अन्तरक्रियामा प्रदेश सांसद अम्बिका थापा, पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), सचिव इश्वरमणि राउत, राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय सदस्य गणेश कार्की, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष देवराज कोईराला, निजामति कर्मचारी संगठन अध्यक्ष कमला निरौलालगायतले बोलेका थिए। कर्मचारी वक्ताले देशमा सुशासन कायम गर्न कर्मचारीमैत्री र सेवाग्राहीमैत्री कानुनको तर्जुमा गर्न माग गर्दै कर्मचारीको मनोबल गिर्ने कुनै गतिबिधि नगर्न सरकारलाई सुझाए।

पार्टी एकीकरणको डेढ वर्ष बितिसके पनि पूर्व एमालेनिकट निजामति र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनबीच अझै समायोजन भएको छैन। समायोजनको पूर्वसन्ध्यामा दुई संगठनबीच सद्भाव आदानप्रदान गर्न तथा पार्टीले बेलाबेलामा सहभोज गर्ने गरेको निर्देशन बमोजिम वनभोज कार्यक्रम आयोजना गरिएको निजामति कर्मचारी संगठनका सचिव गणेश आचार्यले बताए।

कार्यक्रममा संगठनका पूर्व अध्यक्ष तथा भर्खर सेवानिवृत्त त्रियुगा नगरपालिकाका शिक्षा अधिकृत जसबहादुर कार्कीलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि सांसद राईले कार्कीलाई खादा, दोसल्ला र अविर लगाएर सम्मान गरेका थिए।

 

प्रकाशित: ४ फाल्गुन २०७६ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App