८ वैशाख २०८१ शनिबार
अर्थ

स्वार्थले निर्माणमा अन्योल

निर्माणधीन मदनभण्डारी राजमार्गको नक्सांकन परिवर्तन गरी हाज्माको २ नम्बर गेट हुँदै कुमालफाँटबाट लैजाने जनप्रतिनिधिको निर्णयविरुद्धसंघर्ष गर्न आयोजित छलफलमा सहभागी स्थानीय। तस्बिर : अनिल/नागरिक

सिन्धुली - राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डको नक्सा परिवर्तन प्रयासले सिन्धुली सरमुकाममा निर्माण कार्यमै अन्योल उत्पन्न भएको छ।

सिन्धुली सदरमुकाम कमलामाई नगरपालिका–६ को धुराबजार हुँदै मिलनचोक, साङ्वाले, खट्टार जोड्ने गरी राजमार्गको नक्सांकन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भई ठेक्का लागेको छ। तर यहाँका राजनीतिक दलहरुको दबाबमा नक्सा परिवर्तन गर्ने प्रयास थालिएपछि निर्माणमा अन्योल सिर्जना भएको हो। डिपिआर अनुसार सडक बनाउँदा धुराबजार क्षेत्रका केही घर भत्किने भन्दै रुट परिवर्तन गर्न यहाँका केही राजनीतिज्ञ र जनप्रतिनिधिले आयोजनालाई दबाब दिएका छन्।

कमलामाई नगरपालिका जनप्रतिनिधिसहित प्रदेश र संघीय सांसदले धुरा क्षेत्रबाट सडक निर्माण गर्दा केही घरमा क्षति हुने भन्दै नक्सा परिवर्तन गर्न पहल थालेपछि विवाद उत्पन्न भएको छ। जनप्रतिनिधिले बिपी राजमार्गको तत्कालीन हाज्माको २ नम्बर गेटहुँदै कुमाल फाँट(आदर्श टोल) साङ्वाले हुँदै खट्टार जोड्ने गरी सडक निर्माण गर्न पहल गरेका छन्। त्यस क्षेत्रका स्थानीयले क्षतिपूर्ति नपाए आफ्नो खेतीयोग्य जग्गा मास्न नदिने बताएका छन्। अहिलेकै डिपिआर अनुसार दायाँबायाँ सडक बढाउँदा पुग्ने र आफूहरुको खेतीयोग्य जग्गाबाट लैजान नदिने स्थानीयको भनाइ छ। डिपिआर तयार भई सडकको ठेक्का लागेपछि बनेका अधिकांश घरहरु मापदण्ड अनुसारै भएकाले राजमार्गको रुट परिवर्तन गरी खेतीयोग्य जग्गा मास्नु नपर्ने स्थानीय दिपक ढकाल बताउँछन्।

धुराबजारको सिरानबाटै मदनभण्डारी राजमार्गको दायाँबायाँ उल्लेख भई सोही अनुसार कमलामाई नगरपालिकालाई कर र मालपोत तिर्न थालिसकेकोले नक्सांकन परिवर्तन गर्छौं भनेर लाग्नु औचित्यहीन हुने अर्का स्थानीय कृष्ण अधिकारीले बताए। जनप्रतिनिधिले बिपी राजमार्गको हाज्मा २ नम्बर गेट हुँदै राजमार्ग निर्माण गर्ने जनाएपछि त्यस क्षेत्रका घरजग्गाधनीले चरणबद्ध संघर्ष सुरु गरेका छन्। राजमार्गको रुट परिवर्तन गरी कमलामाई नगरपालिका–४ स्थित बिपी राजमार्गको तत्कालीन हाज्माको २ नम्बर गेट, कुमालफाँट हुँदै साङ्वाले खट्टार जोड्ने गरी नक्सांकन परिवर्तन गर्न प्रयास भएको देखियो,’संघर्ष समितिका संयोजक कृष्ण अधिकारीले भने, ‘हामी हाम्रो धानखाने खेतमा सडक बनाउन दिँदैनौ।’ त्यस क्षेत्रबाट निर्माण गर्नैपर्ने बाध्यता आए चलनचल्तीको मूल्यअनुसार क्षतिपूर्ति चाहिने उनले बताए।

धुराबजारबाट राजमार्ग निर्माण गर्दा केही घर भत्किने भएकाले नक्सा परिवर्तन गर्न पहल गरेको बाग्मती प्रदेशका सांसद विनोद खड्काले बताए। ‘धुरा क्षेत्रमा क्षतिहुने भएकाले विकल्पको खोजीभएको हो,’ उनले भने। सांसद खड्काले राजमार्ग निर्माणको विषयमा लामो समयदेखि अन्योल कायम रहेकाले त्यसको निकासको प्रक्रिया सुरु गरेको र विकल्पको रुपमा तत्कालीन हाज्माको २ नम्बर गेट हुँदै आदर्श टोलबाट साङ्वाले जोड्ने गरी पहल सुरु भएको बताए। आदर्श टोलका स्थानीयले भने आफूहरुको जग्गाबाट राजमार्ग निर्माण नगरिदिन माग गरेका छन्। डिपिआर भई ठेक्का लागिसकेको र मिलनचोकस्थित लब्दाहा खोलामा सोहीबमोजिम पुल बनिसकेको अवस्थामा नक्सा परिवर्तन गर्ने भन्दै जनप्रतिनिधिले बखेडा निकालेको स्थानीयको आरोप छ।

कुमालफाँट हुँदै राजमार्ग निर्माण गर्दा दुई दर्जनभन्दा बढी घर भत्किने र दर्जनौं स्थानीय सुकुमबासी हुने अवस्था रहेकाले त्यस क्षेत्रबाट राजमार्ग निर्र्माण नगरिदिन संघर्ष समितिका संयोजक अधिकारीले अनुरोध गरे। उनले स्थानीयको सहमति विपरीत काम अघि बढाए जस्तोसुकै कदम उठाउन पछि नपर्ने भन्दै न्याय खोज्न कानुनी निकायमा समेत जाने चेतावनी दिए। राजमार्गको पश्चिमखण्ड आयोजना प्रमुख अर्जुन अर्यालका अनुसार धुराबजार हुँदै डिपिआर बनेपनि जनप्रतिनिधि सहितको सर्वपक्षीय भेलाले त्यसको विकल्प खोजीगर्न थालेकाले निर्माणकार्य अघि बढ्न नसकेको बताए। ‘एकपटक सर्वपक्षीय भेलाले नै विकल्प खोज्ने निर्णय गरेको छ भन्ने सुनेको छु।त्यहीअनुसार विकल्प र सहमति खोजी हुँदैछ,’उनले भने, ‘त्यसैले त्यस क्षेत्रको काम अगाडि बढेको छैन।’

झण्डै ७० प्रतिशत सडक निर्माणको काम सम्पन्न भएपनि सिन्धुलीमाढीमै अन्योल भएको हो। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार राजमार्गको पूर्वी र पश्चिम दुवै खण्डको काम तीव्र गतिमै भइरहेको छ। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा हेरिएको सडकको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भिमानदेखि मकवनपुरको हेडौंडा महानगरपालिका–६, चौघडासम्म कुल एक सय १५ किलोमिटर र पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म एक सय ३४ किलोमिटरमा धमाधम काम भइरहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App