coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ वायुसेवालाई उडान अनुमति दिन नसकिने अवस्था

काठमाडौं- मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप तीव्र गतिमा बढ्दै गए नयाँ वायुसेवालाई उडान अनुमति दिन नसकिने बताएको छ।

प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय हो। प्राधिकरणअन्तर्गत ५० विमानस्थल रहे पनि हाल ३२ वटामा नियमित हवाई सेवा सञ्चालन भइरहेका छन्। त्यस्तै कालिकोट, ओखलढुंगा खिजी चण्डेश्वरी, गुल्मी सिमिचौर र इलाम सुकिलुम्बा विमानस्थल निर्माणाधीन अवस्थामा छन्।

केही वर्षयता मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज र यात्रु चाप उच्च दरले बढ्दै गएपछि प्राधिकरणले विमानस्थलमा पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम गर्दै आएको छ। पछिल्लो पटक त्रिभुवन विमानस्थल सुधारको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्रक्टोरा सान्जोसे एसएले समयमै काम पूरा नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको छ।

'हामीले सोचेअनुसार सुधारका काम हुन नसक्नु तर यात्रु तथा जहाजको चाप बढ्दै जानुले काम चुनौतिपूर्ण हुँदै गएको छ,' प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले शनिबार आयोजित १८औं वार्षिकोत्सवमा भने, 'यही गतिमा जाने हो भने स्वदेशी हुन् वा विदेशबाट आउने नयाँ वायुसेवा कसैलाई पनि उडान अनुमति दिन सकिने अवस्था रहँदैन।'

त्रिभुवन विमानस्थललाई थप प्रभावकारी र चुस्त बनाउने उद्देश्यले बाँकी काम पूरा गर्न एक महिनाभित्र 'ग्लोबल टेन्डर' आह्वान गर्ने तयारी अगाडि बढेको उनले जानकारी दिए। आगामी दुई वर्षभित्र बाँकी काम सक्ने लक्ष्य लिइएको उनको भनाइ छ।

उनका अनुसार सन् २०१६ मा त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ बे, धावनमार्ग/ट्याक्सी वे विस्तार, १ नम्बर बे विस्तार, १, २, ४ र ५ नम्बर बे मर्मत, प्रस्थान कक्षको स्टेराइल हल विस्तार, विमानस्थल पूर्वपट्टि थप १ सय ४९ रोपनी जग्गा खरिदलगायत काम भएका छन्।

त्यस्तै भोजपुर, रामेछाप र डोल्पाको जुफाल विमानस्थल धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने रुकुमको चौरजहारी, मुगुको रारा, खानीडाँडा र ताप्लेजुङ विमानस्थल धावनमार्ग कालोपत्रे भइरहेको छ।

उनका अनुसार त्रिभुवन विमानस्थलबाट २०१६ जनवरीदेखि सेप्टेम्बरभित्र ३७ लाख ५ हजार ४ सय २९ जनाले हवाई यात्रा गरेका छन्। यसमा २५ लाख ७ हजार ६ सय ७४ अन्तर्राष्ट्रिय तथा ११ लाख ९७ हजार ७ सय ५५ जना आन्तरिक उडान गर्ने यात्रु छन्। उक्त अवधिमा १९ हजार १२ अन्तर्राष्ट्रिय उडान र ४७ हजार ९ सय ६० आन्तरिक उडान भएका थिए। कार्गोतर्फ १५ लाख ६ सय ९० टन अन्तर्राष्ट्रिय र २ हजार ५ सय ३२ टन आन्तरिक कार्गो बाहिरिएको थियो।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२/७३ मा विमानस्थल शुल्कबाहेक ४ अर्ब ५२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ। २०६२/६३ देखि निरन्तर नाफामा रहेको प्राधिकरणले कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्ने घोषणा गरेको छ। २०६८/६९ देखि २०७१/७२ सम्म गरी उक्त परिमाणको बोनस बाँड्न लागिएको हो। ती वर्ष सरकारलाई कूल १ अर्ब ४७ करोड लाभांश बुझाइएको प्राधिकरणले जनाएको छ। सञ्चालन नाफा ५ अर्बहाराहारी रहेको प्राधिकरणले दुई चरणमा बोनस बाँड्ने जनाएको छ।

वार्षिकोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले उड्डयन क्षेत्र असाध्यै संवेदनशील भएका कारण नियामक निकाय, वायुसेवा सञ्चालक तथा सरोकारवाला सबैले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। दुई देशका सरकारबीच भएको सम्झौताअनुसार दुईथान चिनियाँ जहाज ल्याइएको र बाँकी चारथान पनि चाँडै ल्याइने भन्दै उनले घुमाउरो पाराले चिनियाँ जहाजको नाम भने लिएनन्। 'होइन भने सम्झौता गर्दै बेइमानी गर्ने देशका रूपमा नेपाल चिनिने छ,' उनले भने।

मन्त्री शाहीले प्राधिकरण कर्मचारीलाई बोनस दिने निर्णय भएको घोषणा गर्दै कर्मचारीलाई आफ्नो जिम्मेवारी इमानदारीसाथ पूरा गर्न निर्देशन दिए। 'सरकारको संस्था र सकारी पैसामा आम्दानी गरेर बोनस खान पाइन्छ भन्ने कुरा आए पनि हामीले काम गर्नेलाई बोनस दिनुपर्छ भन्ने अडान लियौं र बोनस वितरण गर्ने निर्णय गर्‍यौं।'

पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले युरोपको हवाई सुरक्षा सूचीमा परेपछि नेपालको उड्डयन क्षेत्र थप पेचिलो बनेको बताए। यो सूचीबाट सकेसम्म चाँडै बाहिरिने गरी काम गर्न उनले आग्रह गरे।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सदस्य राष्ट्रको उड्डयन सुरक्षाप्रति प्रत्यक्ष निगरानी गर्दै आएको बताए। 'त्यसकारकाण आइकाओको नीति, मार्गदर्शनअनुसार अगाडि बढे हामी युरोपको हवाई सुरक्षा सूचीबाट बाहिरिन सक्छौं,' उनले भने, 'यसका लागि हामी निरन्तर आइकाओसँग सहकार्य गरिरहेका छौं।'

प्राधिकरणस्थित पाँचवटै कर्मचारी टे्रड युनियनका तर्फबाट बलबहादुर बस्नेतले वार्षिक एक महिनाबराबरको उत्सव भत्ता माग गरिए पनि अर्थ मन्त्रालयले १५ दिनको उपलब्ध गराउन अनुमति दिएको जानकारी दिए। सञ्चालनमै नरहेका विमानस्थल कालोपत्रे गरिनुको अर्थ नरहेको भन्दै उनले प्राधिकरणबाट दीर्घकालीन फाइदा हुने गरीमात्र लगानी हुनुपर्ने बताए।

वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले युरोपको हवाई सुरक्षा सूचीमा परेर समस्या परे पनि प्राधिकरणसँग सहकार्य गर्दै उड्डयन सुरक्षा सुधार्न लागिरहेको बताए। 'चिनियाँ जहाज ल्याउन हुन्नँ भन्दा आफ्नो व्यापार खोस्ने भएर विरोध गरे भनियो तर त्यही कारण निगम पनि डुब्ने भयो र हामी सबै युरोपको कालोसूचीमा पर्‍यौं,' उनले भने, 'अब वायुसेवा निगमलाई ठूला जहाज ल्याएर थप बलियो बनाउनुपर्छ।'  

प्रकाशित: १७ पुस २०७३ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App