१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उपल्लो मादी पूरा, २५ मेगावाट विद्युत थपियो

पोखरा- राष्ट्रिय प्रसारण लाइनमा शुक्रबारदेखि २५ मेगावाट विद्युत थपिएको छ। कास्कीको सिल्दजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत प्रसारण लाइनमा जोडिएको हो।

केही दिनदेखि परीक्षण उत्पादन गरिरहेको आयोजनाको शुक्रबार उर्जामन्त्री जनार्दन शर्माले औपचारिक रुपमा उद्घाटन गरे। २५ मेगावाट क्षमताको आयोजना भए पनि नदीमा पानीको बहाव घटेकाले हालका लागि दुईमध्ये एउटा मात्र टर्बाइन (साढे १२ मेगावाट) बाट उत्पादन गरिएको छ। नदीमा पानीको बहाव बढ्नासाथ दुईवटै टर्बाइन सञ्चालन गरिने आयोजनाले जनाएको छ।

रन–अफ–दी रिभरमा आधारित भएको र पानीको बहाव घटेकाले एकैपटक दुइवटा टर्बाइन सञ्चालन गर्न नसकिएको आयोजनाको भनाइ छ। उद्घाटनका क्रममा केहीबेरका लागि दुईवटै टर्बाइन सञ्चालन गरिएको थियो। चार वर्षअघि निर्माण सुरु भएको आयोजनाको उत्पादित विद्युत १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत करिब ११ किलोमिटर टाढा लेखनाथस्थित विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिएको छ।

आयोजनाका कार्यकारी निर्देशक बिजयबाबु मल्लका अनुसार आयोजनाको लागत करिब ७ अर्ब रुपैयाँ पुगेको छ। चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पाेरेसन (सिडब्लुई) को ८० र मल्लको २० प्रतिशत लगानीमा आयोजना निर्माण गरिएको छ। आयोजनाको सुरुको लागत ५ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आयोजना सुरु भएपछि बारम्बार उत्पन्न भौगोलिक अवरोध, भूकम्प, लामो समयसम्मको नाकाबन्दीले निर्माण सामग्री अभाव र अमेरिकी डलरको भाउ बढेका कारण लागत थपिएको मल्लले जानकारी दिए।

'आयोजना निर्माण सुरु गरेपछि बारम्बार भौगोलिक अवरोध खेप्नुपर्‍यो। त्यसले लागत ह्वात्तै माथि पुर्‍यायो,' उनले भने, 'बारम्बार भौगोलिक अवरोध र भूकम्प तथा नाकाबन्दीको मारमा महिनौं काम गर्न पाएनौ। त्यसको मारमा हामी पर्‍यौं।' मुहानदेखि ४२ सय मिटर लामो सुरुङमा मादी नदीको पानी ल्याएर १ सय १९ मिटर लामो पेनस्टक पाइपमार्फत खसालेर विद्युत उत्पादन गरिएको छ।

राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट विद्युत थप हुँदा मुलुकको लोडसेडिङ कम गर्न केही राहत मिल्ने मल्लले बताए। २०६९ पुसमा निर्माण सुरु भएको आयोजना २०७१ चैतभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, निर्माणाधीन साइटमा बारम्बार पहिरोले गर्दा सुरुङको मुख टालिँदा आयोजनाले गति लिन नसकेको उनले बताए। मल्लका अनुसार निर्माणस्थलमा दुईपटकसम्म झरेको पहिरोले आयोजना ढिलिँदै गएको थियो। त्यसमा भूकम्प, नाकाबन्दी लगायत अवरोधले महिनौं काम रोकिँदा झनै ढिलाइ भएको उनले बताए। 'आयोजना निर्माण सुरुदेखि नै हामीले चुनौती खेप्दै आउनुपरेको थियो। बारम्बारको पहिरोले कामै हुन पाएन। त्यसमा नाकाबन्दी र भूकम्पको मार पनि थपियो,' उनले भने।

आयोजना निर्माण थालेको केही महिनामै पहिरो झरेर खनिसकेको लामो टनेल नै फेर्नुपरेको थियो। पहिरो झरेसँगै पहिले खनेको भन्दा झन्डै डेढ सय मिटर तलबाट अर्काे मुहान निकालिएको थियो। पहिरोले नोक्सान पुर्‍याएपछि आयोजनाको 'इन्लेट पोर्टल टनेल' तल सारिएको थियो। 'एक सय मिटरभन्दा लामो सुरुङ खनिसकेका थियौ। त्यहि बेला पहिरो झर्‍यो,' उनले भने, 'पहिरोले सुरुङको मुख टालिएपछि भौगोलिक अवस्था कमजोर भन्दै मुहान नै सार्नुपर्‍यो। सुरुङ खन्दाको करोडौं रुपैयाँ लगानी खेर गयो।' इिपिसी मोडलमा निर्माण गरिएको आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले बनाएको हो।

आयोजना उद्घाटन गर्दै उर्जामन्त्री शर्माले जलविद्युतमा कम्तिमा १० वर्षे योजना बनाएर लागू गर्न सके अहिलेको उर्जा समस्या हल हुने बताए। 'उर्जा विकास भएमा पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि सबै फस्टाउँछ,' उनले भने, 'निजी क्षेत्रलाई उत्साही बनाएर अब उर्जा उत्पादनमा लाग्नुपर्छ।' जनताको पुँजी संकलन गर्दै सरकारले खर्च गर्न नसकेर फ्रिज हुने बजेट मिलाएर महŒवपूर्ण जलविद्युत आयोजना बनाउन सकिने उनले बताए। 'राम्रो र सम्भाव्य आयोजना बनाउन खोजिए त्यसलाई असफल बनाउने प्रयास हुन्छ,' उनले भने, 'एक वर्षमा पूरा हुने कामलाई ४–५ वर्षको योजना बनाइन्छ। अनि १० वर्षसम्म धकेल्ने काम हुन्छ। त्यसले उर्जा उत्पादनमा बाधा पुगेको हो।'

अहिले राजधानी काठमाडौंसहित पोखरा, बिराटनगर, बुटवलसहित मुख्य सहरमा लोडसेडिङ हटाएको र लोडसेडिङ हटाउने क्रममा आफूले मुद्दा खेप्नुपरेको उनले गुनासो पोखे। 'अब लोडसेडिङमुक्त भएको औपचारिक रुपमा घोषणा गर्न मात्र बाँकी हो। लोडसेडिङ हटाउन खोज्दा बाधा उत्पन्न गरेर अप्ठेरो पारियो,' उनले भने, 'प्राविधिक रुपमा कहिलेकाही केही समय बत्ती नआउन सक्छ। तर, उर्जा मन्त्रालय अब लोडसेडिङको तालिका निकाल्दैन।' उपल्लो मादीबाट उत्पादिन विद्युत आयोजनामा स्थानीयले सेयर लगानी गर्न पाउनुपर्ने माग सो अवसरमा राखेका थिए।

प्रकाशित: १७ पुस २०७३ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App