coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा खुल्यो पहिलो तेस्रोलिंगी स्कुल

भारत–भारतको कोची सहरमा ‘ट्रान्सजेन्डर’ का लागि आवासीय स्कुल खुलेको छ । फरक पहिचानका कारण बीचैमा स्कुल छाडेकालाई लक्षित गर्दै स्कुल खोलिएको हो । अब उनीहरुले अधुरो रहेको शिक्षा पूरा गर्न सक्नेछन् ।

भारतमा ‘ट्रान्सजेन्डर’ लाई हेयको नजरले हेरिन्छ र समाजले यस्ता व्यक्तिहरुलाई समान व्यवहार गर्दैन । यही कारणले आधाभन्दा बढी यस्ता मानिस बीचैमा स्कुले शिक्षाबाट पलायन हुन्छन् ।

‘सहज इन्टरनेसनल’ नाम दिइएको यो स्कुल भारतमै पहिलो पल्ट खोलिएको हो । स्कुल २५ देखि ५० वर्ष उमेरसम्मका १० विद्यार्थीलाई भर्ना लिँदै सुरु भएको हो । यस्ता विद्यार्थीलाई १० देखि १२ कक्षासम्मको परिक्षामा उत्तिर्ण हुने गरी पढाउने लक्ष्य विद्यालयको छ । पाठयक्रममा व्यवहारिक सीप पनि समेटिएको छ ।
‘ट्रान्सजेन्डर’ कार्यकर्ता विजयराजा मल्लिकाले बिबिसीसँग भने, ‘स्कुलको उद्देश्य अल्पसंख्यकलाई समाजमा प्रतिस्पर्धी बनाउने हो । शिक्षा पाएर उनीहरुले राम्रो जीवन यापन गर्न सकून् र इज्जतको जिन्दगी बाँचून ।’

‘हामीले अहिलेसम्म १४ जनाबाट ६ जना विद्यार्थी भर्ना गरेका छौं । १० जना पढाउने लक्ष्य हो । यसमा महिला र अपांगका लागि पनि सिट खाली राखेका छौं,’ मालिकाले भनिन् । विजय स्कुलका प्रमुख पनि हुन् ।

स्कुलको स्थापनासँगै केरला ‘ट्रान्सजेन्डर’ नीति अपनाउने पहिलो भारतीय राज्य भएको छ । समावेशी शिक्षा प्रणाली अपनाउनुका साथै केरला सरकारले सरकारी अस्पतालमा निःशुल्क लिंग परिवर्तनको व्यवस्था गर्दै आइरहेको छ ।

स्कुलका संस्थापक सदस्यले सबै विद्यार्थीका लागि खाने पिउने ‘डोनर’को व्यवस्था भइसकेको जनाएका छन् । स्कुलमा पढाउने शिक्षक पनि ‘ट्रान्सजेन्डर’ नै हुनेछन् ।
भारतमा करिब २० लाख ‘ट्रान्सजेन्डर’ रहेको अनुमान गरिन्छ । सन् २०१४ मा भारतको सर्वोच्च अदालतले कानुन अनुसार लैंगिक अल्पसंख्यकले पनि समान अवसर पाउने आदेश दिएको थियो । सो आदेशले उनीहरुले विवाह गर्न पाउने तथा सम्पत्तिमा पनि उनीहरु अन्य झैं अंशीयार रहने आदेश दिएको थियो । जागिरमा तथा शैक्षिक संस्थामा पनि उनीहरुलाई ‘कोटा’ छुट्याउन आदेश दिएको थियो ।

तर अदालतको आदेशका बावजुद पनि आम मानिसको उनीहरुलाई हेर्ने नजरमा खासै परिवर्तन भएको छैन । थुप्रै ‘ट्रान्सजेन्डर’लाई घरबाट निकालिने, कामको अवसरबाट बन्चित गर्ने, यौन शोषण गर्ने आदि गरिन्छ ।
घर दिन इन्कार

स्कुलका लागि ठाउँ भेट्नु संस्थापकका लागि उत्तिकै चुनौति रह्यो । कसैले पनि ‘ट्रान्सजेन्डर’ का लागि भनेपछि ठाउँ उपलब्ध गराउन मानेका थिएनन् ।

‘ हामीले करिब ७ सय मानिस र ५१वटा घरधनीलाई भाडामा दिन आग्रह ग¥यौं । सबैले इन्कार गरे । स्कुल खोल्न लागेको भन्थ्यौं तर उहाँहरु वेश्यावृत्तिका लागि ठाउँ खोजे जस्तो व्यवहार गर्नुहुन्थ्यो,’मालिकाले भनिन् ।
मालिकाले अहिले जम्मा भएका विद्यार्थी केरलाका भए पनि पछि अन्य ठाउँबाट पनि विद्यार्थी आउने अपेक्षा गरिन् । उनले क्रमैसँग अन्य राज्यमा पनि स्कुल बिस्तार गर्ने लक्ष्य रहेको बताइन् ।

‘यो नमुना हो । यदि यो सफल भयो भने हामी यसलाई विस्तार गर्दै जान्छौं । सारा भारतमा यसको शाखा खुलोस् भन्ने चाहाना छ,’ मालिकाले भनिन् ।
केरलामा मात्र २५ हजार ट्रान्सजेन्डर रहेको र ती मध्ये ५७ प्रतिशत बीचैमा स्कुल छाड्ने रहेको बताइएको छ ।
स्कुल आफैंमा पनि ‘ट्रान्सजेन्डर’ रहेकी कल्की सुब्रमन्यमको पहलमा खुलेको हो । ‘मेरा लागि यो ऐतिहासिक दिन हो’ उनले भनिन् ।
 

प्रकाशित: १७ पुस २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App