coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरना भाइरसले खिम्ती २ र लाङटाङ हाइड्रोको निर्माण ठप्प

काठमाडौं  -  चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।

कोरना भाइरसकै कारण दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८.८ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो। गत जनवरी २३ मा चिनियाँ नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार चीनमा कोराना भाइरस महामारीकै रुपमा फैलिएसँगै नेपाल आउन नसकेका हुन्।  खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको छ। दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चोङचिङ वाटर टर्बाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो।

चिनियाँ कामदार नेपाल आउन नसक्दा आयोजनाको काम ठप्प भएको हो।

पिपुल्स इनर्जी लिमिटेडका जनरल म्यानेजर जनार्दन अर्यालले चीनमा कोरना भाइरसको संक्रमण फैलिएसँगै नयाँ वर्ष मनाउन चीन गएका कामदार फिर्ता हुन नपाएको बताए। ‘गत जनवरी २३ तारिखमा चिनियाँ नयाँ वर्ष मनाउन गएका थिए,’ उनले भने, ‘सोहीबीचमा चिनियाँ कोरना भाइरसको संक्रमण फैलिएसँगै कामदार आउन नपाएका हुन्।’ उनका अनुसार चिनियाँ कामदार गत फ्रेबुअरी ३ तारिखमा नेपाल आउने तालिका थियो।तर, भाइरस संक्रमणकै कारणले अहिलेसम्म आउन सकेका छैनन्। जनरल म्यानेजर अर्यालले सुपरभाइरजमाथिका सम्पूर्ण कामको जिम्मेवारी चिनियाँ कामदारको भएकाले पनि निर्माण ठप्प भएको बताए।

‘आयोजनाको मुख्य कामदार चिनियाँ रहेका छन्,’ उनले भने, ‘चिनियाँ मुख्य कामदार नभए पनि नेपाली कामदार भएर मात्रै काम अघि बढ्ने अवस्था आएन्,’ उनले भने, ‘ठेकेदार कम्पनीका कामदारसँग नियमित टेलिफोन सम्पर्क भइरहेको छ।’ उनका अनुसार कोरोना भाइरस नियन्त्रण भएको खण्डमा आगामी मार्च महिनासम्म कामदार आउने आश्वासन दिएका छन्। ४८ मेगावाटको खिम्ती दुई जलविद्युत् आयोजनाको ठेक्का चिनियाँ कम्पनीले सन् २०१८ मा पाएको थियो। उक्त आयोजना ८८ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। हाल उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगायत काम सम्पन्न भइसकेको छ। आयोजनाको फिजिकल हाइड्रोलोजिक सर्भेलगायत काम भइसकेको आयोजनाले जनाएको छ। उक्त आयोजना इपिसी मोडलमा निर्माण गर्न लागिएको हो। जनरल म्यानेजर अर्यालले खिम्ती दुई जलविद्युत् आयोजना २०७८ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।

‘ठेकेदार कम्पनीले सुरुङ खन्ने उपकरण ल्याइसकेको थियो,’ उनले भने, ‘अहिले सिर्जना भएको विषम परिस्थितिकै कारण आयोजनाले गति लिन सकेको छैन।’ खिम्ती आयोजनामा करिब पाँच सय नेपाली कामदारले रोजगारी पाएका थिए। तर, चिनियाँ कामदार नहुँदा नेपाली कामदारसमेत बेरोजगार बन्ने अवस्था सिर्जना भएको छ। जनरल म्यानेजर अर्यालले लाङटाङखोला हाइड्रोपावरको आवश्यक उपकरण केरुङ भन्सारमा आइसकेपनि काम हुन नसकेको बताए। ‘लाङटाङखोला हाइड्रोपावरको उपकरण भन्सारमा आएर रोकिएको छ,’ उनले भने, ‘कोराना भाइरसकै कारण आयोजनाले धेरै कामलाई प्रत्यक्ष रुपमा प्रभावित पारेको छ।’ लाङटाङ  खोला जलविद्युत् आयोजना ३३.५ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। उक्त आयोजना पनि २०७८ भित्रै निर्माण सम्पन्न गर्ने  लक्ष्य राखिएको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App