८ वैशाख २०८१ शनिबार
खेल

सागका विजेतालाई प्रदेश सरकारको सम्मान

मकवानपुर-  सरकार गठन भएको दोस्रो वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजयी खेलाडीलाई सम्मान गरेको छ। बुधबार हेटौंडामा आयोजित कार्यक्रममा २४ विधाका साग विजेता प्रदेशका एक सय ६३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

प्रदेशका ४० स्वर्ण, ४७ रजत र ७६ कांस्य विजेता खेलाडीलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइ, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठलगायतले नगद पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए। स्वर्ण पदक विजेतालाई एक लाख, रजत  विजेतालाई ५० हजार, कांस्य विजेतालाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। सागका पदक विजेता एक सय ६३ जना खेलाडीलाई प्रदेश सरकारले पुरस्काबापत ८८ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको थियो।

यसैबीच, वार्षिकोत्सवका अवसरमा प्रदेश सरकारले पारामोटर निर्माण गरी उडाउने चितवनका सरोज चेपाङ, मकवानपुरका पत्रकार रिपेश दाहाल, काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी, मकवानपुर गढीको जनप्रगति ब्राह्मण नौमती बाजा टोली, हेटौंडाको मानव सेवा आश्रम, धिमाल जाति झाँकी समूहलाई नगद २५/२५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। साथै, प्रदेशमा उत्कृष्ट कार्य गर्ने तीनवटा नगरपालिका, दुई वटा गाउँपालिका र उत्कृष्ट कार्य गर्ने १५ जना कर्मचारीलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले २५ बुँदे महत्वपूर्ण काम प्रस्तुत गर्दै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका कारण विश्वमा नेपाललाई चिनाएकोमा प्रशंसा व्यक्त गरे। संघीयताको कार्यान्वयन गर्दै पहिलो प्रदेश सरकारले ठूला चुनौतीका बीच पनि दुई वर्षमा महत्वपूर्ण काम गरेको दाबी गरे।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App