८ वैशाख २०८१ शनिबार
समाज

१७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

फाइल तस्बिर/नागरिक

काठमाडौं – कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ। चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

नेपाल फर्किन १ सय ८५ जनाले निवेदन दिए पनि ४ जनाले उतै बस्ने निर्णय गरेको र ६ जनालाई उच्चतापक्रम देखिएको भन्दै चिनियाँ अधिकारीहरूले विमानस्थलमै रोकेपछि नेपाल फर्किनेको संख्या १ सय ७५ मात्र भएको हो।

स्वदेश ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।  उद्धार गरिएकालाई मात्र होइन, उनीहरूको सम्पर्कमा आउने चिकित्सक, भान्से, सरसरफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई क्वारेन्टाइन क्षेत्रको कम्पाउन्डबाहिर जान नदिने बन्दोबस्त मिलाउन विशेषज्ञहरुले सुझाव दिएका छन् । फर्काइएकामध्ये एकजनामा मात्रै संक्रमण देखिए त्यसले महामारीको रूप लिन सक्ने भएकाले कसैलाई पनि घरपरिवार र समुदायको सम्पर्कमा पठाउन नहुने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए।

चीनबाट हालसालै नेपाल फर्केका चिकित्सक राजेन्द्र श्रेष्ठले नेपाल फर्काई क्वारेन्टाइनमा राखिएकामध्ये कसैमा संक्रमण देखिइहाले पनि त्यसबाट अन्य व्यक्ति तथा समुदाय प्रभावित नहोऊन् भनेर विशेष सतर्कता अपनाउनुपर्ने बताए। क्वारेन्टाइनमा १४ दिन राख्नुपर्ने भएकाले त्यति नै दिन त्यस क्षेत्रका कसैलाई भित्रबाहिर गर्न दिन नहुने उनको भनाइ छ।  चीनबाट फर्काइएका नेपालीबाहेक उनीहरूका लागि खटिने छुट्टाछुट्टै चिकित्सक, भान्से, सुरक्षाकर्मीलगायतलाई पनि क्वारेन्टाइन क्षेत्रमै निगरानीमा राख्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार क्वारेन्टाइनमा राखिएकाको दैनिक दुईपटक तापक्रप नाप्नुपर्छ। त्यसक्रममा केही खराबी देखिए तत्काल सतर्कताका साथ उपचारको बन्दोबस्त गरिहाल्नुपर्छ।

यसका साथै सकेसम्म शरीरका सबै अंग छोप्ने लुगा लगाउने, मास्क नछुटाउने, चस्मा प्रयोग गर्ने, खोक्दा÷हाच्छ्युँ गर्दा अन्यत्र हावा नजाने तरिका अपनाउने, खाना खानुअघि र पछि तथा शौचालय प्रयोग गर्नुभन्दा अघि र पछि साबुनपानीले राम्ररी हात धुनुपर्नेलगायत सामान्य विषयमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले बताए। खाने, बस्ने, सुत्ने र खेलकुद तथा मनोरञ्जनका लागि आवश्यक पूर्वाधार निर्माण गरी व्यवस्थापन गरिएको उनको भनाइ छ। नेपाली सेनाको नेतृत्वमा तीनवटा सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागको संयुक्त टोलीले नियमित रूपमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूलाई निगरानी गर्नेगरी जिम्मेवारी तोकिएको छ। चीनबाट उद्धार गरिएका १ सय ८६ जना र स्वास्थ्यकर्मीसहित करिब दुई सयजनालाई व्यवस्थापन गर्नेगरी आवश्यक पूर्वाधार तयार पारिएको छ।

चीनबाट ल्याइएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवश्यक स्वास्थ्य परीक्षण गरी पाँचवटा पर्यटक बसमा राखेर क्वारेन्टाइन स्थलमा पु¥याउने तयारी छ। सरकारले क्वारेन्टाइन स्थलमा औषधिसहितका आवश्यक स्वास्थ्य सामग्री, बेड, खानेपानी, टावेल, चप्पल, साबुन, मन्जन, ब्रु, मास्क, सिसी क्यामेरा, टेलिभिजन, टेलिफोन, वासिङ मेुिनलगायतका आवश्यक वस्तु व्यवस्थापन गरेको छ। क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूलाई आफन्तसँग भेटघाट गर्न दिइने छैन।

क्वारेन्टाइनमा राखिएकाहरूको नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न नेपाली सेना र स्वास्थ्य मन्त्रालयबाट आवश्यक स्वास्थ्यकर्मी खटाइएको मन्त्रालयले जनाएको छ। खाद्यान्न तथा अन्य व्यवस्थाका लागि तीनवटै सुरक्षा निकायबाट संयुक्त रूपमा खटाइएको छ। नेपाली सेनाको नेतृत्वमा नियमित रूपमा यी काम हुनेगरी व्यवस्थापन गरिएको हो। नियमित स्वास्थ्य परीक्षणका लागि सरकारले पाँचवटा इन्फ्रारेड गन खरिद गरेको छ। प्रत्येक व्यक्तिको इन्फ्रारेड गनबाट दिनको तीनपटकसम्म स्वास्थ्य जाँच गर्ने सरकारको तयारी छ। परीक्षणका क्रममा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिए तयारी हालतमा राखिएको एम्बुलेन्समार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल तथा सुरक्षा निकायले सञ्चालन गरेका विभिन्न अस्पतालमा लगिनेगरी व्यवस्थापन गरिएको छ। ती अस्पतालमा करिब एक सय ५० बेडको आइसोलेसन वार्ड तयार पारिसकिएको छ।

उद्धार गर्न गएका स्वास्थ्यकर्मी, पाइलट, क्रुमेम्बर, प्राविधिकसहित करिब २० जनालाई भने नगरकोटस्थित खानेपानी तालिम केन्द्रको भवनमा क्वारेन्टाइनमा राखिनेछ। स्थानीयको विरोध हुँदाहुँदै सरकारले तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर र एक प्राविधिकलाई नगरकोटमा क्वारेन्टाइनमा राख्न लागेको हो। चीनबाट नेपालीलाई उद्धार गर्न नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानतर्फ उडेको थियो।

विशेष सतर्कता अपनाउन सुझाव
उद्धार गरिएकाहरूलाई खाना पु-याउन जाँंदा उनीहरूसँग सम्पर्कमा पुग्नुभन्दा पनि खबर गरेर ढोकामै छोड्ने मात्र नभई त्यसक्रममा लगाइएको लुगासमेत फुकालेर सुरक्षित ठाउँमा राख्नुपर्ने भन्दै उनले सचेत गराए। चीनमा विशेष सतर्कता अपनाउँदाअपनाउँदै पनि एक हजार पाँंच सयभन्दा बढी चिकित्सकलाई समस्यामा पारेको चर्चा गर्दै उनले त्यसप्रति सचेत रहनुपर्नेमा जोड दिए। प्रतिरक्षा शक्ति बढाउन विशेष गरी भिटामिन ‘सी’युक्त सुन्तलालगायत फलफूल तथा झोल पदार्थ सेवनको व्यवस्था मिलाउन उनले सुझाव दिए।

डा. श्रेष्ठका अनुसार यो रोग हावाबाट सर्दैन। मानीहरूबीचको सम्पर्क नै यो रोग सर्ने मुख्य आधार भएकाले क्यारेन्टाइन क्षेत्रमा निगरानीमा राखिएकासँग अरूको सम्पर्क नहुने स्थिति बनाउनुपर्छ। नेपाल फर्कंदा संक्रमण नदेखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेक्सले क्वारेन्टाइन बस्नुनपर्ने सुझाव दिए पनि आफू सचेत चिकित्सक भएकाले आफ्नै कोठामा गुफा बसेजसरी क्वारेन्टाइनमा बसेको उनले स्मरण गरे। तत्काल संक्रमण नदेखिए पनि १४ दिनपछि देखिन सक्ने मात्रै नभई त्यसबीचमा संक्रमण सबैमा सर्न सक्ने खतरनाक अवस्थाको रोग भएकाले त्यसप्रति विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। तर सरकार भने धेरै सचेत नदेखिएको भन्दै उनले दुखेसो प्रकट गरे। चीनको वुहानमै विद्यावारिधि गरिरहेको अवस्थामा पुस २७ गते नेपाल फर्केका इन्जिनियर कृष्णभक्त दुवालले चीन सरकार विशेष सतर्कताका साथ अगाडि बढिरहे पनि नेपाल सरकारले चाहेजस्तो सतर्कता अपनाउन नसकेको भन्दै चिन्ता जनाए। चीनमा अत्यावश्यक सामग्री किनमेल पनि टाढै बसेर भइरहेको उल्लेख गर्दै उनले त्यसबाट हुन सक्ने भयावह स्थितिप्रति सम्बन्धित सबै निकायले बेलैमा विशेष सतर्क हुनुपर्ने खाँचो आैंल्याए।

सरकारले ठाउँं अभाव हुने भएकाले चीनबाट उद्धार गरिएका नेपालीलाई मात्रै खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा र उनीहरूको सम्पर्कमा रहने अन्यलाई भने नगरकोटलगायत स्थानमा राख्ने व्यवस्था मिलाएको जनाइएको छ। यसैको विरोधमा शुक्रबार नगरकोटमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। क्वारेन्टाइन रहने भनिएको क्षेत्र ठूलो छ। तालिम केन्द्रको चारैतिर चौघेरा पनि छ। पछिल्लो समय चौघेरामा जस्ताको बारसमेत लगाइएको छ। त्यसैले सबैलाई त्यहींभित्रै राख्ने व्यवस्था मिलाउन जोड दिइएको विज्ञहरूको भनाइ छ। चीनको वुहानबाट एक सय ८५ नेपालीलाई फर्काउन शनिबार नेपालबाट टोली गइसकेको छ। संक्रमण नदेखिएका नेपालीलाई फर्काउन नेपाल सरकारले चीन सरकारबाट अनुमति पाएपछि टोली गएको हो।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App