coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टाइब्रेकरमा झापाको जित

झापा- रमपम झापा–११ ले शनिबार काँकडभिट्टामा सुरु मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलमा हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ पराजित गर्‍यो। प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा जितसँगै झापा सेमिफाइनलमा पुगेको छ। २–१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै झापालेे पेनाल्टी सुटआउटमा बाजी मार्‍यो।

यसअघि सुरुंगा गोल्डकप, दुहबी, शरणामती गोल्डकपलगायतका प्रतियोगितामा खेलाडी अभाव सहेको झापाले आइतबार पनि मैदानमा पाँच जना नियमित खेलाडीको साथ गुमाएको थियो। कप्तान प्रवेश कटुवाल, फरवार्ड विशाल राई र डिफेन्डर दिलेन लोक्ताम र सुमिन मैनाली चोटका कारण बेञ्चमै थिए । नियमित गोलरक्षक दिनेश थापा मनाङ मर्स्याङ्दी गएपछि थप समस्याग्रस्त बनेको झापाका लागि पहिलो रोजाइको खेलाडी अभाव भएको मैदानमा प्रष्ट देखिन्थ्यो।

झापाली टिम व्यवस्थापनले भने यसलाई स्वाभाविक नतिजा भनेको छ। 'हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे र जित सम्भव भयो,' टोलीका व्यवस्थापक गोपाल राईले भने, 'तर हाम्रा महत्वपूर्ण खेलाडी फिट नहुँदा उनीहरूको अभाव महसुसचाहीँ भयो।'

झापाका लागि कर्ण लिम्बु, रजिन धिमाल, बुद्ध चेम्जोङ, रवि थापामगर र कप्तान योगेश गुरुङ सबैको प्रहार गोलमा परिणत भएको थियो। हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भुपाल गुरुङले मात्रै गोल गरे।

पहिलो हाफमा १–० ले पछि परेको हिमालयन शेर्पालाई हेमन गुरुङले फ्रिकिकमा गोल गरे। हेमनको गोलले टोलीलाई बराबरीमा ल्याएको थियो। विपक्षी पोस्टमा शक्तिशाली प्रहार गरेका हेमनको 'सट' झापाका रक्षक रवि थापामगरले हेडमार्फत क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।

झापाका विदेशी खेलाडी पिटर सेगुनले ह्यान्ड गरेपछि ६४ औं मिनेटमा प्राप्त फ्रिकिक पनि हिमालयनका लागि फलदायी साबित भयो। ८८ औं मिनेटमा शेर्पाका आशिष लामाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई झापाका कप्तान योगेश गुरुङले सहजै गोलमा परिणत गरेपछि खेल २–२ को बराबरीमा पुग्यो। शेर्पाका हेमन गुरुङ म्यान अफ दि म्याच घोषित भए। हिमालयनका प्रशिक्षक विकास गौचनले अन्त्यमा टोलीलाई भाग्यले साथ नदिएका कारण पहिलो खेलबाटै घर फर्किनु परेको बताए। 'पेनाल्टी मिस हुनु दुर्भाग्य साबित भयो', उनले भने।

नेपाल, भारत र भुटानका ८ टोली सहभागी प्रतियोगितामा आइतबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र ब्ल्यु आर्मी सिलोङ भारतले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार दिइने आयोजक अध्यक्ष मिनबहादुर बस्नेतले बताए।  

प्रकाशित: १७ पुस २०७३ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App