७ वैशाख २०८१ शुक्रबार
समाज

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं - चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज उडेको विमान आजै रातिसम्म नेपालीहरु लिएर नेपाल फर्किने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन प्रस्तान गर्ने विमान तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

सरकारले दुइ महिनादेखि चीनमा फैलिएको नोवेल कोरोना संक्रमणको कारण जोखिममा रहेका नेपालीहरुको उद्धार गर्न लागेको हो। विशेष  गरी चीनमा उच्च शिक्षाका लागि चीन पुगेका विद्यार्थीहरु जो भाइरस संक्रमणको कारण विभिन्न छात्रावासमा छरिएर बसिरहेका,आफुहरु संक्रमणको जोखिममा रहेको जनाएपछि सरकारले उद्धारको लागि पहल गरेको हो।

नेपाल एयरलायन्सको हवाइजहाजमा पाइलट, एयरहोस्टेज, नेपाल प्रहरीको दुई जना चिकित्सक र दुई नर्स चीनतर्फ गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।

 चीन सरकारले एयरपोर्टसम्म लिएपछि मात्र नेपाली हवाइजहाजले नेपाल लिएर फर्किनेछ। त्यसै गरी चीनवाट फर्केपछि अन्तराष्ट्रिय त्रिभुवन एयरपोर्टमा नेपाली सेनाको चिकित्सकसहित पाँच वटा हेल्थ  डेस्कमा परीक्षण गरिने व्यवस्था गरिएको छ। सरकारले उद्धार गरिएका नेपालीको लागि बिभिन्न पाँच चरणका नियम पालना गर्नु पर्ने उपनियमहरु जारी गरेको छ।

जस अनुसार जहाजमा रहंदा चालकदलका सदस्य तथा स्वास्थ्यकर्मीले दिएको निर्देशन पूर्ण रुपले पालना गर्नुपर्नेछ। जहाजमा तोकिएको सीटमा बस्नु पर्ने,उडान अवधिभर मोवाइल स्वीच अफ गर्नु पर्ने, कुनै पनि विद्युत्तीय सामाग्री प्रयोग गर्न नपाइने, खाना तथा पानीको व्यवस्था सीटमा हुने, उडान अवधिभर मास्कको प्रयोग गर्नु पर्नेछ। त्यसै गरी कसैलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास–प्रश्वासमा समस्या हुने भएमा जहाजदलका सदस्यलाई जानकारी गरी सदस्यको सुझाव पालना गर्नुपर्नेछ। सामान्य यात्रुले सर्जिकल माक्स लगाउनु पर्ने, शंकास्पद व्यत्तिले ९५ मास्क लगाउनु पर्नेछ। जहाजमा शंकास्पद व्यक्तिको लागि छुट्टै शौचालयको व्यवस्था हुनेछ।
जस अनुसार एयरपोर्टमा आएपछि यात्रुले आफ्नो फारम र वोर्डिङ पास लिएर ओर्लिनुपर्नेछ। सरकारकै हेल्थडेस्कमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। स्वास्थ्यकर्मचारीको निर्देशन अनुसार छुन नपर्ने इन्फ«ारेड थर्ममिटरमा ज्वरो नापिनेछ। अन्य कर्मचारीले अन्य विवरण राख्नेछन्। संक्रमित व्यक्ति पाइएमा एम्वुलेन्समार्फत शुक्रराज ट्रपिकल अस्पताल पु¥याइनेछ।

विमानास्थलदेखि क्वारेटनटाइन स्थलको नियम

त्यसपछि सरकारले व्यवस्था गरेको वसमा पालैपालो गरी बस्नु पर्नेछ,क्वारेनटाइनमा पुग्नु अघि बस वीचमा कतै रोकिने छैन । भक्तपुरको खरिपाटीमा रहेको क्वारेनटाइन स्थलमा  कम्तीमा १४ दिन बस्नु पर्नेछ। चीनवाट उद्धार  भइ आउने १ सय ८० जनालाई नै खरिपाटीमा राखिने व्यवस्था गरेको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए। क्वारेनटाइनमा उपलब्ध ६० कोठामा उचित दुरीको फरकमा एकदेखि तीन जनासम्म सामुहिक वसोवासको व्यवस्था गरिएको छ। क्वारेनटाइन अवधिभरी आफन्तले भेट्न पाउने छैनन्।

क्वारेनटाइनमा छुट्टै स्वास्थ्यटोलीको व्यवस्था गरिएको छ। क्वारेनटाइन अवधिभरको खाना तथा अन्य खर्च सरकारले नै वेहोर्नेछ। हरेक व्यक्तिको लागि छुट्टा–छुट्टै सेनिटाइजर र मास्कको व्यवस्था हुनेछ। कुनै रोगको समस्या परेमा इमरजेन्सी नम्वरको व्यवस्था गरिएको छ। अन्य रोगी भएमा र नियमित औषधी सकिएमा स्वास्थ्यकर्मी मार्फत नै उपलब्ध गराइनेछ। सवै यात्रुको पहिलो चरणको श्वास जाँच २४ घण्टाभित्र र १४  दिनपछि दोस्रो श्वास गरिनेछ। यी लगायत अन्य नियम क्वारेनटाइन अवधिभर पालना गर्नु पर्नेछ।

चीनवाट नेपाल आउनु अघि चीन सरकारले स्वास्थ्य जाँच गरेर मात्र पठाउने व्यवस्था गरेको छ। तर संक्रमण अवधि १४ दिनभित्र हुन सक्ने भएकोले स्वस्थ नेपालीलाई नै क्वारेनटाइनमा राख्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App