आलेख

राजनीतिक पृष्ठभूमिमा नारीकथा

शनिबार, ०३ फागुन २०७६, १० : ३० नागरिक

डा. गीता त्रिपाठी
जीवन र जगत्का स–साना घटनाको चित्रणबाट अघि बढेको नेपाली कथाको आधुनिक कालको आरम्भ वि.सं. १९९० को दशकबाट भएको हो। यही समयबाटै नेपाली नारीकथा लेखनको सहयात्रा पनि आरम्भ भयो। समाज निर्माणका सहकर्मी, जीवनजगत्का भोक्ता र सत्यम्–शिवम्–सुन्दरम्का पारखी नारी–पुरुष दुवै हुन्। यिनले सोच्ने, भोग्ने र अनुभव गर्ने परिवेश एकै भए पनि प्राकृतिक जैविक संरचनाले तिनमा उत्पन्न हुने भाव र अनुभूतिको स्वरूप सूक्ष्मरूपले मौलिक पनि हुन्छ। त्यसमाथि प्राकृतिक न्यायका विपरीत एउटाले अर्कोलाई गर्ने शोषणको स्थितिमा शोषितको मानसिकता र शोषकको मानसिकताको परिणति उस्तै हुनु सम्भव छैन। त्यसैले नेपाली नारीकथा लेखनको आरम्भमा पुरुष र नारी लेखकका लेखनका विषय र सन्दर्भ एकै हुन सकेनन्।

पितृसत्तात्मक समाजको चस्माले नारीकथाको अध्ययन र मूल्यांकनमा सदैव एउटा निश्चित अवधारणा बनाएका कारण नारीकथाका विषयमा हुने टिप्पणी र समालोचनाहरू विगतदेखि नै पूर्ण हुन सकेनन्। नारीले भोगेको आधुनिक जीवन कहिल्यै आधुनिक हुन सकेन र नारीहरूलाई लामो अन्तरालसम्म आधुनिकताको कल्पनाले समेत छुन सकेन। सधैंको विषम भोगाइका चापबाट एक रसात्मक पीडादायी अनुभूतिमा बाँच्दै आएका नारीका सुखद पक्ष केवल मातृत्व चेतनाले मात्र सम्हालेको पाइन्छ। अतः नारीका कथा सदैव वैयक्तिक पीडा र आँसुका आविष्कारहरूको नयाँ संस्करण मात्र हुन् भन्नेहरूको बाहुल्यले नारीकथाको गुणात्मक विस्तारलाई चुनौती दिँदै आएको हो।
    
पृष्ठभूमि र विकास
नेपाली नारी कथा लेखन र प्रकाशनको आरम्भ भारतीय भूमिबाट गोर्खासंसार पत्रिकामा प्रकाशित दिव्यकुमारी देवी कोइरालाको ‘चर्खा’ (१९८३) र नेपालबाट शारदा पत्रिकामा प्रकाशित तुषारमल्लिकाको ‘स्त्रीरत्न’ (१९९२) कथाबाट भएको हो। आदर्शोन्मुख यथार्थवादी प्रवृत्तिलाई अँगालेर लेखिएका यी कथाले नेपाली कथाको आधुनिककालको प्रवर्तनमा योगदान पु¥याए पनि कथालेखनलाई निरन्तरता दिन नसक्दा ती कथाकारका कथागत योगदानको विशिष्ट इतिहास बन्न नसकेको देखिन्छ। सँगसँगै कथा यात्रा थालेका गुरुप्रसाद मैनालीको लोकप्रियता चुलिँदै जाँदा तुषारमल्लिकाको अस्तित्व लगभग शून्यबाटै उत्खनन गर्नुपरेको हो। यसपछि एमलक्ष्मी उपासिका, सुशीला कोइराला, कुमारी इन्दिरा कोइराला, श्रीमती पीपी शर्मा, बुना बराल हुँदै विद्यादेवी दीक्षित, लोकप्रियादेवी जस्ता नारी कथाकारले आधुनिक नारी कथालेखनको पृष्ठभूमि तयार पारेका हुन् ।

नारी कथाकारको इतिहासमा सशक्त, स्पष्ट र निरन्तर उपस्थिति दिने देवकुमारी थापा (विसं १९८४–२०६८) को पतन (२००५) शीर्षकको कथा प्रकाशित भएपछि उनको आगमन र स्थायित्वले नेपाली नारी कथाको इतिहासलाई सशक्त ढंगले अभिलेख गर्ने अवसर मिलेको छ। उनी नेपाली आधुनिक कथाको प्रथम चरणमा साधनारत प्रतिनिधि कथाकारमध्ये एक हुन्। उनका कथालाई लैंगिकताका आधारमा निर्मित उपक्रमभित्र सीमित राखेर अध्ययन गर्नुपर्ने आवश्यकता देखिँदैन। विषय, शैली र परिणतिका आधारमा थापाका कथाले युगीन सामाजिक मूल्यको स्थापनामा योगदान पुर्‍याएका छन् । प्रेमा शाह (२००२–२०७४) नेपाली कथामा देवकुमारी थापापछि उदाएकी एक सशक्त कथाकार हुन्। उनका मनोवैज्ञानिक प्रवृत्तिका दुई प्रसिद्ध कथा ‘पहेँलो गुलाफ’ र ‘लोग्ने’ले नेपाली कथामा गाढा छाप बनाएका छन्। पारिजातको उदयले नेपाली आख्यानलाई नयाँ स्वरूप दिएपछि नेपाली कथामा अस्तित्व लेखनको आरम्भ भएको हो ।

आरम्भकालीन नारी कथामा सामाजिक आदर्शोन्मुख यथार्थवादी प्रवृत्ति र सामाजिक मनोवैज्ञानिक प्रवृत्ति नै मूल रूपमा आएको पाइन्छ। विषयगत आधारमा परम्परित समाज, संस्कृति र धार्मिक विषय नै कथानकका रूपमा प्रस्तुत भएका छन्। यसरी नै यौन मनोविज्ञानको सामान्य र जटिल दुवै मनस्थितिको चित्रण तत्कालीन नारीकथामा रहेको छ। कथामा अन्धविश्वास, कुसंस्कार र नारीशोषणको विरोध र शिक्षाको महत्व तथा समानताको चेतना प्रकट भएकाले ती कथामा आधुनिक जीवनबोध यथेष्ट छ। विषयगत आधारमा मूल वा केन्द्रीय कथ्यचाहिँ नारीका पारिवारिक र सामाजिक जीवन भोगाइका मार्मिक पक्ष र त्यसबाट संकेतित अग्रगामी चाहना रहेको छ। शिल्प संरचनाका हिसाबले छोटा–छोटा कथा बुन्नु, आलंकारिक पदक्रमको प्रयोग गर्नु, हार्दिक–भावुक स्वच्छन्द शैलीको प्रस्तुति र सरल भाषाको प्रयोग तत्कालीन नारी कथाका विशिष्टता हुन्।

पितृसत्तात्मक समाजको चस्माले नारीकथाको अध्ययन र मूल्यांकनमा सदैव एउटा निश्चित अवधारणा बनाएका कारण नारीकथाका विषयमा हुने टिप्पणी र समालोचनाहरू विगतदेखि नै पूर्ण हुन सकेनन्। नारीले भोगेको आधुनिक जीवन कहिल्यै आधुनिक हुन सकेन र नारीहरूलाई लामो अन्तरालसम्म आधुनिकताको कल्पनाले समेत छुन सकेन ।
 

नेपाली कथाको प्रवृत्तिगत आधारमा गरिएको काल विभाजनमा २०२० सालपछिको समय नवचेतनाको युग मानिएको छ। यही समय पारिजात (१९९४–२०५०) नेपाली आख्यानमा नयाँ चेतनाका साथ प्रवेश गरेकी हुन्। उनको मैले नजन्माएको छोरो (२०२१) रचना पत्रिकामा प्रकाशित भएपछि नयाँ नारीसोच र चिन्तनका साथ गम्भीर कथाकारिताले नेपाली कथालाई खास मोड दिएको हो। उनकै कारण नेपाली नारीकथा परिमाणात्मक र गुणात्मक दुवै हिसाबले अत्यन्त उल्लेखनीय रहन गएको हो। तत्कालीन राजनीतिक–सामाजिक जटिलताबीच देखिएका भाषिक–साहित्यिक तथा सांस्कृतिक आन्दोलनहरू, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम र प्राविधिक उन्नतिका प्रभावले नारी कथाको स्वरूपलाई पनि प्रभावित बनाएको देखिन्छ।

नवचेतनाको सञ्चार र प्रयोगवादी प्रवृत्तिले नयाँ मूल्य दिएको समय पारिजात र प्रेमा शाहका कथाले सामाजिक यथार्थबाट नारीकथालाई मनोविश्लेषणात्मकतातिर प्रवाहित गरी विसंगत मानसिकताको चित्रणमा शैलीगत नवप्रयोग समेत गरेको पाइन्छ। पारिजातको समकालीन भई पारिजातको उत्तराद्र्धदेखि हालसम्म सक्रिय र उत्साहबद्र्धक कलम चलाउँदै आएका कथाकारहरू गीता केशरी, माया ठकुरी, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना लगायतले नेपाली नारीकथाको उत्तरवर्ती चरणमा पनि नव प्रवृत्तिका कथा सिर्जना गरी निरन्तरता दिइरहेका छन्। मञ्जु काँचुली, शारदा शर्मा, अनिता तुलाधर, इन्दिरा प्रसाईं, बेञ्जु शर्मा, इल्या भट्टराई, शान्ता श्रेष्ठ, जलेश्वरी श्रेष्ठ लगायत कथाकारको उपस्थिति र निरन्तरताले नेपाली नारीकथाको उत्तरवर्ती चरणलाई निकै विशिष्ट बनाएको छ।

यी कथाकारका कथामा विसंगत जीवनदृष्टिको प्रस्तुति, निराशा र पलायनमुखी भावनाको अभिव्यक्ति, चरित्रमुखी कथा लेखन र जटिल मनोविज्ञानको चित्रण, विषय र शैली दुवैमा प्रयोगपरकता, अस्तित्व चेतना, राजनीतिक समस्याको प्रस्तुति, सांस्कृतिक र सामाजिक सुधारमुखी चेतनाको अभिव्यक्ति, बौद्धिक र हार्दिक भावको सरल र प्रतीकात्मक दुवै खाले प्रयोग, पारिवारिक दायित्वप्र्रति सचेत, अन्धविश्वासी र रुढीग्रस्त सामाजिक सोचको विरोधका साथै पितृसत्ताको विरोध जस्ता प्रवृत्ति प्रकट भएका छन् ।

उत्तरवर्ती नारीकथामा प्रयुक्त कथ्य
नेपाली कथामा विषयगत र चेतनागत आधारले विस्तृतता देखिएको उत्तरवर्ती चरणका कथामा समसामयिक राजनीतिक परिघटना, सामाजिक र विश्व परिवेशको निकटता, विज्ञान–प्रविधि र भर्चुअल यथार्थ, सांस्कृतिक रुढतामा सुधारमुखी चेतना, मिथक र वर्तमान भोगाइका सन्दर्भहरूलाई बृहत् संयोजन गरी कथा रचना गरिएको पाइन्छ। यस चरणका नारीकथामा पनि यस्ता प्रवृत्तिहरू प्रकट भएका छन्। यसका अलावा नारीका सूक्ष्म सामाजिक–पारिवारिक सन्दर्भमा आधारित वर्गीय जीवन भोगाइका संगत–विसंगत पक्षहरू अझ बढी आएका छन्। उत्तरवर्ती चरणको लगभग पूरै अवधि स्वतन्त्रताका निम्ति राजनीतिक विद्रोहबाट गुज्रिएकाले जनयुद्धकालीन समयको प्रभाव नारीकथामा पनि प्रशस्त परेको छ। युद्धकालीन भोगाइको उत्कर्षले सिर्जना गरेको नारी पुरुष मनोविज्ञानका उतारचढावहरूले यस चरणका नारीकथालाई नयाँ सांस्कृतिक चेतनातिर आकृष्ट गरेकाले पछिल्लो समयका नारीकथाहरू उन्मुक्तिको अभिव्यक्तिमा बढी प्रयोगशील भएर आएका छन्।

नेपालको राजनीतिक परिवर्तनमा आम जनताको सहभागिता र त्यसपछि बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रको आवश्यकता बोध भएको पहिलो ऐतिहासिक कालखण्डबाट अघि बढेको समय हो, उत्तरवर्ती नेपाली नारीकथाको समय। पृष्ठभूमिमा २०३६ को राजनीतिक विद्रोह र २०३७ को जनमत संग्रहको घोषणा, २०४६ को जनआन्दोलन र बहुदलीय प्रजातन्त्रको प्राप्ति तथा नेतृत्वको कार्यशैलीप्रतिको असन्तुष्टि, २०५२ को सशस्त्र माओवादी द्वन्द्व र गणतन्त्र स्थापनाका निम्ति जनयुद्धमा परिणत भएको २०६२/६३ को निर्णायक आन्दोलन रहेका छन्। यस अवधिमा सामाजिक र मनोवैज्ञानिक रूपले नारी जागरणका निम्ति पृष्ठभूमि तयार भएको छ।

प्रत्यक्षतः नारी पुरुष नभनीकन आम नागरिकको बृहत् सहभागिता रहेको त्यस राजनीतिक सन्दर्भलाई रचनाकारितामा प्रस्तुत गर्दा भने नारीहरूले राजनीतिक स्वतन्त्रताका विषयमा भन्दा पनि व्यक्तिगत स्वतन्त्रता र समानताका विषयमा मनन गरी कथा रचना गरेका छन्। यस अवधिमा तुलनात्मक रूपमा पारिवारिक सन्दर्भ र सांस्कृतिक जीवनका विभिन्न पक्षलाई नै मूल रूपमा आफ्ना कथाका विषय बनाएका छन्। प्रत्यक्ष रूपमा २०४६ सम्मको अवधिमा नेपाली नारीकथामा राजनीतिक सन्दर्भका कथा रचना भएको देखिँदैन, तापनि सामूहिक चेतनाका तहमा बदलिँदो विश्व राजनीतिक परिवेश र स्थानीय परिवेशगत भोगाइका अनुभवले नारीकथामा नवीन सोचको विकास भने गरेको पाइन्छ। त्यसैले अप्रत्यक्षतः स्वतन्त्र चेतनाका हिसाबले नारीकथाको एउटा महत्वपूर्ण चिन्तन प्रक्रिया यस अवधिमा निर्माण भएको स्वीकार्न सकिन्छ।

२०४६ को बहुदलीय राजनीतिक परिवर्तनपछिका नारीकथामा राजनीतिक चिन्तन वर्गीय समस्याका रूपमा प्रकट भएका छन्। बहुदलीय व्यवस्थापछि विकास र निर्माणका अवसरहरूमा रमाउन चाहने आम नागरिकका सपना पूरा गर्नेतिर नेतृत्व पक्ष जिम्मेवार हुन नसक्दा त्यस परिस्थितिको चित्रण साहित्यका विविध विधामा प्रस्तुत भएका छन्। नेपाली नारीकथाले पनि त्यो परिवेशलाई उजागर गरेको छ। स्वतन्त्रताको युद्धमा होमिएको भाष्करकी पत्नीको प्रथम पुरुष दृष्टिबिन्दुबाट परिवर्तनका निम्ति गरिएको युद्ध र त्यसपछिका विसंगतिमाथि तर्कपूर्ण विचार प्रकट गरिएको शारदा शर्माको ‘आस्थाको भग्नावशेष’ (२०४८) मा संकलित ‘भाष्कर’ कथामा प्रयुक्त राजनीतिक चेतना यसको एउटा महत्वपूर्ण दृष्टान्त हो।

भागीरथी श्रेष्ठको ‘भूमिगत’ शीर्षकको कथाले भने २०४६ को बहुदलीय प्रजातान्त्रिक व्यवस्थापछिको नेतृत्वमा देखिएको स्वार्थीपनाको चित्रण गरेको छ। बेञ्जु शर्मा र मञ्जु काँचुलीका तत्कालीन कथाले पनि राजनीतिक परिवेश र मानसिक द्वन्द्वका केही झिल्का प्रस्तुत गरेका छन्। मूलतः कथानक चयनमा विविधता र विस्तृतता ल्याए पनि सामाजिक र पारिवारिक जीवनका विभेदजन्य भोगाइ, प्रेम, धोका, मनोविज्ञान र अस्तित्वको खोजकै सेरोफेरोमा तत्कालीन नारीकथा सीमित देखिन्छ। नारीकथाको सुदृढ परम्परा निर्माणमा २०४६ पछिको समसामयिक राजनीतिक विकासक्रम र आमसञ्चारमा प्रविधिको विस्तारसँगै यसले दिएको विश्व परिवेशसँगको निकटताले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ। नेपालको राजनीतिमा २०५२ सालदेखि २०६२ सालसम्मको समय सशस्त्र द्वन्द्वको चुनौतीपूर्ण समय थियो। तत्कालीन राज्य सरकारमा रहेका दल र भूमिगत माओवादी पार्टीबीच भएको सशस्त्र युद्धले नेपालका शिक्षा, स्वास्थ्य, व्यापार, निर्माण तथा सबै उत्पादनशील क्षेत्र प्रभावित थिए।

हत्या, हिंसा र अपहरणको त्रासदीय राजनीतिक द्वन्द्वले सर्वसाधारण जनताका जीवन बाँच्ने सपना अन्योलग्रस्त थिए भने नारीका प्राकृतिक अधिकार र सिर्जनामाथि चरम शोषण भएको थियो। दोहोरो बन्दुकको मारमा परेका नेपालीको विक्षिप्त मनोदशा, विदेशी भूमिमा भएका युद्ध, द्वन्द्व र दुर्घटना तत्कालीन कथाका कथ्यमा प्रशस्त आएका छन्। २०५३ पछि लेखिएका नारीकथामा यो परिवेशको असर देखिएको छ। भय, आतंकबाट उत्पन्न हुने शारीरिक, मानसिक विचलन र अनेक अन्योलका स्थिति अभिघातका रूपमा नारीकथामा उनिएका छन् ।

सामाजिक जीवनमा फैलिएको त्रासका भोेक्ता अधिकांश नारीका पक्षबाट चिन्तन गरी लेखिएका तत्कालीन नारीकथाले नयाँ व्यवस्थाका निम्ति उत्साहजनक स्वागतको तयारीभन्दा पनि त्यो जनयुद्धले जन्माएका जीवनका विसंगतिहरूलाई नै मुख्य विषय बनाएको पाइन्छ। अभाव, बेरोजगारी, विदेश पलायन र अशिक्षाको स्थिति त्यस समयका नारीकथामा आएका मुख्य विषय हुन्। जनयुद्धका बेला नारी समस्यालाई मात्र होइन, सन्तान, जीवनसाथी, आम मानिसका बाह्य र आन्तरिक पर्यावरणीय समस्यालाई समेत तत्कालीन नारीकथाले सम्बोधन गरेका छन्। सशस्त्र द्वन्द्वका बेला मानवीय संवेदनाको ह्रासोन्मुख अवस्थामाथि लेखिएको कथा हो, माया ठकुरीको ‘आमा जानुहोस्’(२०६४) कथासंग्रहको ‘पहाड ओर्लंदै छ’। यसले तत्कालीन त्रासदीलाई प्रस्तुत गरेको छ। राजनीतिक परिवर्तनका निम्ति भनिएको सशस्त्र जनयुद्धका समयमा सर्वसाधारण निर्दोष जनतालाई अनाहकमा दिइएको दुःखको मार्मिक अभिव्यक्ति यस्ता कथ्यमा प्रकट भएको छ। सत्ता प्राप्तिका निम्ति लड्नेहरूले जनताका जीवनलाई महत्व नदिएका निर्ममतायुक्त यस्ता दृश्य तत्कालीन नारीकथाका विषय भएका छन्।

गीता केशरीको ‘ऐना’, पद्मावती सिंहको ‘हिंसाको मौनता’, भागीरथी श्रेष्ठको ‘सफाया’, इल्या भट्टराईको ‘आखिर त्यही भयो’ र ‘विप्लवी’, शर्मिला खड्का दाहालको ‘सुकन्या उर्फ निलिमा’, गीता रेग्मीको ‘सत्ता’, नीलम कार्की ‘निहारिका’को ‘राजमार्ग’ लगायत केही नारीकथामा द्वन्द्वको प्रत्यक्ष चित्रण पाइन्छ भने परोक्ष रूपमा परेका प्रभावहरू सामाजिक–सांस्कृतिक सन्दर्भबाट प्रशस्त लेखिएका छन् । नेपाली नारीकथामा नवीन सांस्कृतिक चेतनाका तहबाट बहुलवादी दृष्टिकोणका कथा लेखनको प्रारम्भ भएको प्रवृत्तिगत आधारमा गणतन्त्रका निम्ति जारी दशवर्षे जनयुद्धको परिणामले प्रमुख भूमिका खेलेको देखिन्छ। त्यसपछि सांस्कृतिक चेतनाका हिसाबले नेपाली साहित्यमा आएको चिन्तनगत धरातल निकै फराकिलो, उदार र नयाँ सोचले अघि बढिरहेको छ, जुन नारीकथामा पनि प्रकट भइरहेको नितान्त नवीन कथ्य हो।

दश वर्षसम्मको सशस्त्र द्वन्द्व र जनयुद्धपछि देशमा जातीयता, क्षेत्रीयता, वर्गीयता, लैंगिकता जस्ता विभिन्न रूपले उपेक्षामा परेका वर्गले आ–आफ्ना तर्फबाट अधिकारका लागि सचेत आवाज उठाइरहेका छन्। यसै क्रममा तराई–मधेसवासीले राज्यको केन्द्रबाट आफूलाई सधैं किनारामा फालिएको भन्दै पहिचानको आन्दोलन पनि अघि बढाएका थिए। यस्तो परिवर्तनका बेला नारीकथामा भने राज्यको मुक्तिभन्दा पनि नारीमुक्तिका विषय नै धेरै आएको पाइन्छ। राज्य, समाज र परिवारभित्रका त्रिपक्षीय विभेदमा परेर थलिएका नारीका कथाले अराजक भएर आफ्ना जैविक, सामाजिक र सांस्कृतिक दमनहरूको प्रतिकार गरी कथा लेखनलाई अघि बढाएका छन्।

मूलतः २०६३ पछिका नेपाली कथामा सीमान्तीकृतहरूको सांस्कृतिक जागरणका आवाज बुलन्द भएर प्रकट भइरहेको पाइन्छ। नेपाली समाजमा पितृसत्ताका दबाबका कारण सिर्जित मनोविज्ञानबाट बाहिर आउन नेपाली आम नारीलाई निकै संघर्ष गर्नुपरिरहेको स्थिति छ।  यस विषयमा पुरुष कथाकारका कथामा उठाइएका परिवर्तनमुखी आवाज अब भने नारीकथामा पनि आँट गरेर पाठकलाई रुचिकर हुनेगरी प्रस्तुत गर्न थालिएको पाइन्छ।

यस समयमा प्रकाशित केही सशक्त कथा संग्रहमा इल्या भट्टराईको निःशब्द प्रश्नहरू (२०६३) र जीवनका रङ्गहरू (२०६८), हरिमाया भेटवालको दोस्रो दर्जा (२०६३) र मैनका मान्छेहरू (२०६९), भुवन ढुंगानाको धर्मविम्ब (२०६४), माया ठकुरीको आमा जानुहोस् (२०६४) र प्रियम्वदा (२०६९), मञ्जु काँचुलीको बेनाम मानिसहरू (२०६४), नीलम कार्की निहारिकाको कागजमा दस्तखत (२०६४) र बेली (२०६८), बबिता बस्नेतको सम्बन्धहीन सम्बन्धहरू (२०६५), पद्मावती सिंहको मौन स्वीकृति (२०६५) र समयदंश (२०६७), ममता शर्माको पुतलीको देह (२०६५), गीता रेग्मीको परिचय (२०६५), भागीरथी श्रेष्ठको रातो गुलाफ (२०६६), तृष्णा कुँवरको सेराज अहमद (२०६६), सीमा आभासको टापुका स्वरहरू (२०६६), आन्विका गिरीको कम्युनिस्ट (२०६६), सुस्मिता नेपालको हवाईजहाजसँगै उडेको मन (२०६६),स्वप्निल नीरवको उज्यालोतिर (२०६७), सञ्जु बजगाईंको समुद्र र सपना (२०६७) र मध्यधार (२०७३), रामेश्वरी पन्तको घाउ चहर्‍याइ नै रह्यो (२०६७), उषा शेरचनको तेस्रो रङ (२०६७), विद्या सापकोटाको निलो तृष्णा (२०६९), बिन्दु सुवेदीको मेरी दिदी र ऊ (२०७१), मन्दिरा मधुश्रीको बुधनको घोडी (२०७३), जलेश्वरी श्रेष्ठको म्यारिज एनिभर्सरी (२०७४), अर्चना थापाको कठपुतला (२०७४), अनुपम रोशीको मध्यान्तर (२०७४), ज्योति जङ्गलको छाया (२०७४), सरिता अर्यालको पुरूष (२०७५), उमा सुवेदीको सयौं पुतली (२०७५), सानु शर्माको एकादेशमा (२०७५), दुर्गा कार्कीको कुमारी प्रश्नहरू (२०७६) लगायत छन्।

पछिल्लो समय विना तामाङका कथाहरू सशक्त स्वरमा प्रस्तुत भइरहेका छन्। सांस्कृतिक रूपान्तरणका लागि उनका कथामा प्रयुक्त कथ्य महत्वपूर्ण छन् । पछिल्लो समय आएका कथा संग्रहमध्ये अर्चना थापाको ‘कठपुतला’भित्रका कथाहरूले परिवर्तनशील समाजको गतिलाई नवीन शिल्पमा प्रस्तुत गरेको छ। नारीकथामा पहिलोपटक लामा कथागत संरचनाको ढाँचा प्रस्तुत गरेको छ भने मिथकको पुनर्सिर्जन र स्वैर कल्पनाको प्रयोग तथा पर्यावरणीय संकटसँगै यान्त्रिक जीवनका प्राविधिक त्रुटिहरूको मार्मिक विश्लेषण गर्ने सामथ्र्य राखेको छ। मूलतः तराईका समस्या उजागर गरेकाले तृष्णा कुँवरको ‘सेराज अहमद’ अर्को महत्वपूर्ण कथाकृति हो। आन्विका गिरीको ‘कम्युनिस्ट’मा नयाँ मान्यताको विकल्प छ भने अनुपम रोशीको मध्यान्तरमा यौन र जीवनप्रति नवीन सोच आएको छ। ज्योति जङ्गलको कथाकृति छायाभित्रका कथाले उठाएका सामाजिक समस्या समसामयिक विषय हुन्, जुन संक्षिप्त तर गम्भीरतापूर्वक लेखिएका छन्। उमा सुवेदीको सयौँ पुतली संग्रहका कथाले पितृसत्तामा गौण ठानिएका विषयलाई प्रभावकारी किसिमले उठाएको छ।

नारी कथाको वर्तमान अध्ययनमा परम्परागत सामाजिक–सांस्कृतिक मूल्य मान्यताप्रति असहमति, नारी केन्द्रको खोजी, नारीपात्रको सशक्तीकरण, पुरुषसत्ताको अस्वीकार र विद्रोही नारी चरित्रको सिर्जना, सशस्त्र द्वन्द्वको पीडादायी परिवेशको चित्रण र नारी भोगाइको प्रस्तुति पाइन्छ।   त्यस्तै, आर्थिक सबलताको खोजी, वैदेशिक रोजगारी र नारी÷पुरुषका पारिवारिक विघटन, यसले निम्त्याएका आर्थिक, सामाजिक र मानसिक समस्याको चित्रण, प्रगतिवादी वर्गीय चेतनाको प्रस्तुति, स्थानीयताको चित्रण, सीमान्तीकृत र तेस्रो लिंगीका अधिकारप्रति सचेत, प्रविधि संस्कृतिको प्रयोग र भर्चुअल यथार्थको जटिलताको चित्रण, डायस्पोरिक चेतना र विस्थापन संकटको चित्रण पनि पछिल्ला कथामा पाइन्छन्। कथामा आंशिक रूपमा परम्परित शैली, अधिकांश उत्तरआधुनिक बहुलवादी चिन्तनयुक्त कथ्यको प्रयोग, मिथकको पुनर्सिर्जन, आलोचनात्मक पुनव्र्याख्या र नवीन दृष्टिकोणको प्रक्षेपण, रैखिक र विश्लेषणात्मक दुवै शैली, सरल र बिम्वात्मक–कल्पनाशील दुवै थरी भाषाको प्रयोग पाइन्छ।

अन्त्य
उत्तरवर्ती नारीकथाका कथ्यहरूको निर्माणमा नेपालको राजनीतिक परिवर्तनको उत्तरवर्ती सन्दर्भहरूकै भूमिका छ। बहुदलीय परिवर्तनपछिको नेपाली राजनीतिमा व्यवस्थाको परिवर्तन मात्र भयो, आम जनताको समुन्नति तथा समानताका चाहनाहरूप्रति कुनै सम्बोधन हुन सकेनन्। अर्कोतिर बहुदलीय व्यवस्थासँगै भित्रिएको खुला बजार नीतिले विज्ञापनमुखी र उपभोक्तावादी स्वभावलाई जगाइदियो। क्रयशक्तिमा वृद्धि नहुने तर आयातीत वस्तुहरू उपभोगका विकल्पहरू दिने अनियन्त्रित बजारतन्त्रले आर्थिक क्रान्तिका नाममा भ्रष्टाचार मात्रै मौलाई पहुँचमा रहेकाको मात्र जीवनस्तर उकासियो। अरु नागरिकमा नेतृत्वप्रति शङ्का पैदा भयो। यसैबीच जीवनको अवमूल्यन, पितृ–राज्यसत्ताको विरोध, चेलीबेटीको बेचबिखन र हिंसाका विरुद्ध कथा लेखिए पनि अपेक्षाकृत स्पष्ट र स्वतन्त्र नारीशक्ति र संरचनाका विषयमा आवाज मुखरित हुन सकेन। विद्रोहभन्दा असन्तुष्टि र असहमति व्याप्त भएका जातीय विभेद र अभावका पीडा नै ज्यादा मुखरित भए।

गणतन्त्रका निम्ति समर्पित समयमा लेखिएका नारीकथाले परिवेश सापेक्ष मातृत्व चेतनाको प्रकाशन गरेको छ। घरका अधिकांश पुरुषहरू दोहोरो दमनमा परेकाले सहर पस्ने र देश छाड्ने क्रम बढ्यो। अधिकांश घरमा छाक टार्ने समस्या त छँदै थियो, सुरक्षाको अभाव, त्रासदी र पारिवारिक वियोगान्तले कथाको कथ्य बढी प्रभावित भयो। त्यसैले तत्कालीन नारीकथामा सशस्त्र द्वन्द्वलाई आतंककै रूपमा ज्यादा सम्बोधन गरिएको पाइन्छ। त्यसभित्र बलात्कार र हिंसाका कथ्य अटाएका छन्। गणतन्त्रपछिको सांस्कृतिक जागरणका कथामा सामाजिक जीवनका पुरातन मान्यता भत्काउन नयाँ कथ्यको खोजी गरिएको छ। छोरा–छोरी बीचका स–साना तर विभेदकारी सोच सुधार्दै नयाँ चरित्र निर्माण गर्न थालिएको छ। यसरी नै छाउपडी समस्या, धार्मिक रुढ परम्परासँग जोडिएका विषयमा पनि नवीन वैज्ञानिक सोचका साथ कथा लेखन आरम्भ भएको छ। पछिल्ला नारीकथाले नारीका समस्यासँगै पुरुषका  समस्या पनि बाहिर ल्याएका छन्। सांस्कृतिक रूपमा समाज रुपान्तरण गर्न सकियो भने मात्र देशको विकास अघि बढ्ने सत्यलाई आत्मसात् गरी गणतन्त्रपछिका नारीकथाले कथ्यको साँगुरो घेरा नाघ्ने प्रयास गरिरहेको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad