४ वैशाख २०८१ मंगलबार
अन्य

जीपलाइनमा रोमान्स

अचेल साहसिक खेलमा नेपाली तन्नेरीहरूको आकर्षण बढ्न थालेको छ। त्यसैले जीपलाइनमा उड्न धुलिखेल, चितवन र पोखरामा बाक्लो भीड लाग्न थालेको छ।

हाइ ग्राउन्ड एडभेन्चर प्रालिले पोखरा उपत्यकाको सराङकोटमा जीप फ्लायर शुरू गरेको एक दशक भैसक्यो। ‘जीप लाइनमध्ये पनि हामीले नेपालमा पहिलोपटक शुरू गरेको सुपरम्यान र टेन्डम(जोडी) सुविधामा युवाको आकर्षण देखिन्छ’ धुलिखेलको वल्ड वाइड एड्भेन्चर प्रालिका संचालक भुपेश श्रेष्ठ भन्छन्,‘गत वर्षको भ्यालेन्टाइन डे पछि प्रेमजोडी बढिरहेका छन्।’

त्यहाँ कलाकार पनि पुग्छन्। जस्तो कि नायक अनमोल केसी, नायिका रेखा थापा, गायक गिरीश खतिवडा, बुद्ध लामा लगायतले जीपलाइनको मजा चाखिसकेको उनले बताए। 

नयाँ केही गरौं भनेर सिन्धुपाल्चोकका केदार थापा, काठमाडौंका भुपेश श्रेष्ठ लगायतले वर्ष दिनअघि शुरू गरेको जीपलाइनमा विदेशी पनि बरोबर पुग्छन्। यसरी नेपालमा जीपलाइन लोकप्रिय बन्दै छ। 

धुलिखेलको थाक्लेडाँडादेखि शुरू हुने जीप लाइन पाँचखालको खावामा पुगेर टुँगिन्छ। यसको दूरी एघार सय मिटर छ। नेपाल भ्रमण वर्ष २०२० का लागि जीपलाइन आकर्षक प्रोडक्ट बन्न सक्ने वल्ड वाइड एड्भेन्चर प्रालिका मिडिया संयोजक विष्णुकान्त घिमिरे बताउँछन्।

जीपलाइनमा उड्न तन्नेरीहरूको भीड लाग्न थालेको छ।

करिब पाँच करोड लगानी भइसकेको जीपलाइन र रिसोर्टमा १६ वर्षमुनिका बालबालिकालाई प्राथमिकता दिएर एड्भेञ्चर क्याम्प पनि निर्माण भइरहेको छ। पिकनिक स्पट पनि तयार हुँदैछ। यतिबेला जीपलाइन गर्न मात्र दैनिक २० देखि ८० जना त्यहाँ पुग्छन्। 

युरोपयन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा निर्माण गरिएको जीपलाइनमा भारतीय प्राविधिकसहित २२ जना कर्मचारी काम गर्छन्। 

रोजाइमा सुपरम्यान र टेन्डम
धुलिखेको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी तीन प्रकारले खेल्न पाइन्छ। सुपरम्यान र टेन्डम (जोडी) जीपलाइन नेपालमै पहिलो भएकाले धेरैको रोजाइमा परेको संचालक भुपेश श्रेष्ठ बताउँछन्।

एडभेन्चर खेलका पारखी सुपरम्यान रोज्ने गर्छन् भने साथी वा प्रेम जोडी टेन्डममा रमाउँछन्। सुपरम्यान बन्न सुतेर फ्लाइङ गर्नुपर्छ। टेन्डम सुविधामा बसेर आसपासका दृश्य हेर्दै आनन्द बटुल्न पाइन्छ। अर्को क्लासिक(सामान्य) सुविधाको जीपलाइन सहजै गर्न सकिन्छ। 

व्यक्तिको तौल, हावाको गति र बहावअनुसार औसत एक मिनेट २० सेकेण्ड जीप लाइन गर्न पाइन्छ। क्लासिक गर्न २५ सय, सुपरम्यानका लागि ३५ सय र टेन्डमका लागि ४५ सय रुपैंयाँ तिर्नुपर्छ। 

बेग्लै मापदण्ड
एक प्रकारको फलामको डोरीमा घिर्नीको सहायताले उच्च स्थानमा साहसिक खेलको मजा लिनुपर्ने भएकाले जीप लाइन सबै उमेर समूहकाले गर्न पाउँदैनन्। १६ वर्षमुनि उमेर समूहका लागि परिवारको अनुमति लिनुपर्छ। फ्लाइङ गर्नुअघि फाराम भर्नुपर्छ। प्राविधिकको परामर्श सुन्नुपर्छ।

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी हार्नेसमा बसी जीपलाइन गर्न पाइन्छ। यसका लागि बेग्लै क्याप र चश्मा लगाउनुपर्छ।

यहाँबाट सूर्योदय दृश्यावलोकनका साथै लाङटाङ, दोर्जे लाक्पा लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। तल हरियो जंगल र रमणीय बस्ती हेर्दै उड्न पाइन्छ। कम्पनीले विद्यार्थीलाई १० प्रतिशत र पाँचभन्दा बढीको समूहमा आउनेलाई १० प्रतिशत छुट दिन्छ। त्यस्तै त्यहाँको रिसोर्टमा आरामदायी कोठा र ‘ट्री–अप’ अर्थात् रूख माथि रेष्टुराँ छन्।  

पोखरामा बेग्लै मज्जा
पोखरामा हाइ ग्राउड एडभेन्चर प्रालिले जीप फ्लायर सञ्चालन गरिरहेको छ। त्यहाँ पनि नेपालीको संख्या बढिरहेको सेल्स असिस्टेन्ट अनुपमा ठकुरी बताउँछिन्। नेपाली र बिदेशी बराबर हुन्छन्। सराङकोटको स्टेशनबाट भर्टिकल ड्रप छ सय मिटरमा एक हजार आठ सय पचास मिटर दूरी पार गर्दै औसत गति ९० किमि प्रति घन्टामा जीप फ्लाइ पूरा गर्न अधिकतम समय २ मिनेट लाग्छ। ३५ देखि १२० किलो सम्मका ब्यक्तिले यो खेल खेल्न सक्छन्।

पोखरामा नेपालीलाई चार हजार पाँच सय र विदेशीलाई आठ हजार पाँच सय रुपैयाँ पर्छ। यसमा उड्ने तरिका पनि बेग्लै छ। सिट सहितको हार्नेसमा बसेपछि गोडालाई भि सेपमा राखेर अगाडिको स्टिल बारलाइ धकेलिन्छ र शरीरको भार फलामे तारमा अड्काइएको घिर्नीले थेगिरहेको हुन्छ। माछापुच्छ्रेको चिसो सिरेटोमा रोमन्चित हुँदै उडान गर्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App