६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

स्वस्थ आमा समूहमा सहभागिता बढ्दै

रसुवा – पछिल्लो समय आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतना बढ्दै जाँदा स्वास्थ्य आमा समूहमा सहभागी हुनेको संख्या बढ्दै गएको छ। जिल्लामा दुई सयभन्दा बढी समूह गठन भएका छन्। हरेक समूहको नेतृत्व महिला स्वास्थ्य स्वयंसेविकाले सम्हालेका हुन्छन्। जिल्लामा दुई सय ४५ जना स्वास्थ्य स्वयंसेविका छन्। प्रत्येक स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक रूपमा बैठक राख्ने गर्छन्।

समूहको बैठक प्रत्येक महिनाको एकपटक आमा समूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ। प्रत्येक महिनाको निश्चित गते बैठक बस्ने गर्छ। बैठकमा नियमित जाँदा आमा र बच्चाको स्वास्थ्य तथा पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको जिल्लाको उत्तरगया गाउँपालिका–४ मा गठन भएको ढुंगे स्वास्थ्य आमा समूहकी सदस्य लक्ष्मी थिङले बताइन्।

‘स्वास्थ्य आमा समूहको बैठकमा नियमित जाने गरेकी छु,’ उनले भनिन््, ‘बैठकमा नियमित जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ।’ गर्भावस्था र बच्चा स्याहार्ने बेलामा थुप्रै जिज्ञासा हुन्छन्। आफ्नो जस्तै भोगाइ भएका हजार दिने आमाहरूसँग भेटेर ती जिज्ञासाबारे प्रस्ट हुन सकिने ढुंगे स्वास्थ्य आमा समूहकी अध्यक्ष संगीता लामाले बताइन्। ‘हाम्रो समूह गठन भएको आठ वर्षभन्दा बढी भइसकेको छ,’ उनले भनिन्, ‘पहिले समूहमा आउने संख्या न्यून थियो।’

यो समूहमा २२ जना सदस्य छन्। बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन्। स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको उनले बताइन्। आफू र बच्चाको स्वास्थ्य स्थितिबारे जानकारी हुन्छ र केही खतराको संकेत देखिएको छ भने बेलैमा उपचार पाउन सकिन्छ, जसले गर्दा खर्च र ज्यान जोगाउन सिकेको सहभागी बताउँछन्। बैठक बस्ने मिति, समय र स्थानबारे समूहका सदस्यहरूले पनि आमा समूहका अध्यक्ष वा स्वयंसेविकासँग सोधिखोजी गरी थाहा पाउन सकिने अध्यक्ष लामाको भनाइ छ।

जिल्लामा गठन गरिएका अधिकांश समूह सक्रिय छन्। समूह सक्रिय भएको ठाउँमा स्वास्थ्यका साथै सामाजिक क्षेत्र, शिक्षा, कृषि तथा पशु क्षेत्रमा समेत सुधार आएको दिगो उद्यम तथा वातावरण विकास समाज सिड्स रसुवाकी फिल्ड संयोजक सन्तोषी पौडेलले बताइन्। ‘यसमा सुआहारा कार्यक्रमले सहयोग पु-याएको छ,’ उनले भनिन्, ‘सुआहारा कार्यक्रमबाट हरेक महिना हुने बैठकमा कर्मचारी पुग्ने गरेका छन्।’

तर केही समूह भने निष्क्रिय पनि देखिन्छन्। समूह निष्क्रिय हुनुमा धेरै कारण छन्। बैठकमा हजार दिने आमा नियमित उपस्थित नहुने भएकाले केही समूह निष्क्रिय भएका हुन्। कामको व्यस्ततालगायत कारणले बैठकलाई प्राथमिकता नदिने गरेको पाइएको छ। स्वस्थ आमा समूहको बैठक हजुरआमाहरूको समूह मान्ने कारण पनि कम भएको हुनसक्ने थिङले बताइन्।

नयाँ आमाहरू स्वयंसेविकाभन्दा धेरै पढेलेखेका हुनाले स्वयंसेविकाभन्दा बढी जानेको छु भन्ने सोच्ने गरेको पनि भेटिन्छ। आमा समूहको बैठकमा नयाँ कुरा थाहा पाइन्छ भन्ने विश्वास कतिपय बताउँछन्। बैठक कहाँ र कहिले बस्छ र कसले सञ्चालन गर्छ भन्ने थाहा नपाउनेको संख्या पनि केही देखिन्छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App