१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोस्रो फिक्कल महोत्सव हुने

काठमाडौं – यही फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा दोस्रो फिक्कल महोत्सव हुने भएको छ। सरकारले मनाइरहेको भ्रमण वर्ष–२०२० लाई टेवा पु-याउन फिक्कल गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो।

महोत्सवबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले महोत्सवलाई एक लाख दर्शकले अवलोकन गर्ने बताए। फिक्कललगायत आसपासमा उत्पादित वस्तु तथा सेवाहरूको प्रचारप्रसार, बिक्रीवितरण र प्रवद्र्धन गर्न औपचारिक रूपमा साझा र अल्पकालीन बजार उपलब्ध गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ थियो। गाउँपालिकामा रहेका मौलिक संस्कृति र सम्पदा तथा कृषि, जलस्रोत, पर्यटन, जडीबुटीबारे प्रचारप्रसार गर्ने, स्वदेशी उत्पादन तथा सेवाहरूबारे उपभोक्ताहरूलाई जानकारी गराउने, ऐतिहासिक तथा धार्मिक धरोहरको प्रचारप्रसार गर्ने उद्देश्य पनि महोत्सवले राखेको छ। किबी र आलु पकेट क्षेत्रको प्रसारप्रसार गर्ने, जिल्लाकै अग्लो चुचुरो फिक्कल डाँडाको दृश्यावलोकन गराउने, सुनकोसी नदीमा -याफ्टिङ गराउने कार्यक्रम महोत्सवमा समेटिएका छन्।

सिन्धुलीकै सबैभन्दा अग्लो फिक्कल डाँडा २,३६८ मिटर (७८१४ फिट) उचाइमा छ। त्यहाँबाट विश्वकै अग्लो शिखर सगरमाथालगायत १४ हिमशृंखला अवलोकन गर्न सकिन्छ। फिक्कल डाँडाको पदयात्रा यसपटकको महोत्सवको विशेष आकर्षणका रूपमा रहेको छ। गर्त वर्ष माघ २ देखि ८ गतेसम्म पहिलो फिक्कल महोत्सव सम्पन्न भएको थियो।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App