८ वैशाख २०८१ शनिबार
समाज

अब नेपाल लोडसेडिङमुक्त

काठमाडौं- अब मुलुक लोडसेडिङमुक्त हुने भएको छ। निजी क्षेत्रबाट उत्पादित १३ मेगावाट र भारतबाट ल्याइएको ४० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएपछि मुलुक लोडसेडिङ मुक्त हुने भएको हो। भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। भारतबाट ल्याइएको समेत ५३ मेगाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो। बिजुली थपिएसँगै मुलुकभर  लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने अनुमान गरिएको छ।

मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानअन्तर्गत बिजुली थप गरिएको  ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए। 'शनिबार राति १२ बजेदेखि भारतबाट ४० मेगावाट बिजुली आउनेछ,' उनले भने, '१३ मेगावाट बिजुली स्वदेशी  आयोजना मादीबाट थपिइसकेको छ।'

५३ मेगावाट बिजुली थपिएपछि अब लोडसेडिङ हुने सम्भावना नरहेको  सहसचिव घिमिरेले बताए। 'उपत्यकालाई लोडसेडिङमुक्त नै पारेका छौं,' उनले भने, 'उपत्यका बाहिर पनि क्रमशः लोडसेडिङमुक्त बनाउने अभियानमा लागेका छौं।'

२५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजनाबाट अहिले १३ मेगाबाट मात्र बिजुली उत्पादन हुने जानकारी उनले दिए। 'भारतबाट यो महिना ४० मेगावाट थपियो,' उनले भने, 'अर्को महिना पुनः ४० मेगावाट थपिन्छ।'

पछिल्लो समय देशलाई उज्यालो बनाउन ऊर्जा मन्त्रालय र मातहतको विद्युत् प्राधिकरण सक्रिय छन्। लोडसेडिङमुक्त अभियान सफल पार्न भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको हो।

भारतबाट शनिबार राति आएको ४० मेगावाटबाहेक थप ४० मेगावाट बिजुली ल्याउन सकिए लोडसेडिङ सामना गर्नुनपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।

अघिल्लो साता थप बिजुली ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक सहमति भएकाले अन्तिम टुंगो लगाउन ऊर्जा टोली भारत गएको थियो । टोलीले भारतबाट थप विद्युत ल्याउने सहमति तथा ट्रान्समिसन लाइन र अन्य पूर्वाधार विस्तारबारे निर्णय गर्ने सहमति गरेको छ।

'लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेकाले पनि भारतबाट थप बिजुली आयात गरिएको हो,' उनले भने, 'भारतबाट थप विद्युत आयात नगर्ने हो भने लोडसेडिङ अन्त्य गर्न सकिँदैन।'

अहिले भारतका विभिन्न स्थानबाट १३२ केभिए प्रसारण लाइनबाट दैनिक साढे ३ सय मेगावाट बिजुली आयात भइरहेको छ। ४० मेगावाट थप गर्न लागिएको हो।

तत्काल ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनबाहेक अन्य ठाउँबाट थप बिजुली ल्याउने अवस्था छैन। त्यसैले पनि थप विद्युत आयात गर्न उक्त ट्रान्सफर्मर स्तरोन्नति (अपग्रेड) गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

अन्य स्थानबाट पनि विद्युत आयात गर्ने तयारीमा प्राधिकरण जुटेको छ तर अहिले भइरहेको प्रसारण लाइनबाट थप आयात गर्न भने कठिन देखिएको प्राधिकरणका अधिकारी बताउँछन्।

'पूर्वाधारले धानेसम्म भारतबाट विद्युत आयात गर्छौं,' ऊर्जा मन्त्रालयका एक  अधिकारीलेे भने, 'टनकपुरबाट पनि १० मेगावाट विद्युत थप गर्न सकिन्छ।' तर उक्त स्थानमा नयाँ ट्रान्सफर्मर राख्ने काम यो हिउँदमा गाह्रो हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले टनकपुर बिन्दुबाट अहिले ३० मेगावाट विद्युत आयात गरिरहेको छ।

ढल्केबर–मुजफ्फरपुरसहित प्राधिकरणले अहिले भारतबाट करिब साढे ३ सय मेगावाट आयात गरेको छ। मन्त्रालय र प्राधिकरण बिजुली आपूर्तिलाई निरन्तरता दिनेगरी काम गरिरहेका छन्। सरकार भारतबाट आपूर्ति गरेर वा अन्य वैकल्पिक उपायबाटै भए पनि सर्वसाधारणलाई उज्यालो दिने अभियानमा छ।

प्राधिकरण भारप्रेषण केन्›ले कम माग हुने क्षेत्रमा भार कटौती गरेर बढी हुनेमा आपूर्ति मिलाएको छ। यसो हुँदा भएकै बिजुलीबाट पनि सर्वसाधारणलाई राहत दिन सकिने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रभावकारी रुपमा विद्युत व्यवस्थापन गर्न सकिएकाले पछिल्लो दुई महिनामा उपत्यकावासीले अँध्यारोको सामना गर्नुपरेको छैन।

प्रकाशित: १७ पुस २०७३ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App