८ वैशाख २०८१ शनिबार
राजनीति

'सही गर्दा ओलीले गाँजा खाएका थिए?'

संगम घर्तीमगर

बाग्लुङ- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन्। विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए। राष्ट्रिय मेलमिलाप दिवस अवसरमा नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले ओलीलाई प्रश्न गरे, 'हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो? के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’

 तत्कालीन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेको प्रस्तावअनुसार नै अहिले सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाएकाले एमालेले राष्ट्रघातीको आरोप लगाउन नसुहाउने पनि देउवाले बताए। ‘संविधान जारी गर्नुअघि कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको संयुक्त प्रस्ताव नै अहिले सरकारले संशोधन विधेयकमा राखेको हो,’ उनले भने, ‘त्यसमा ओलीले पनि हस्ताक्षर गरेका छन्।’

देउवाले संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने दाबी पनि गरे। ‘संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल हुन्छ, टेबुल मात्र होइन हामी पारित गराएरै छाड्छौं,’ देउवाले भने।

संसदीय प्रणाली स्वीकारेको एमालेले संविधान संशोधन हुन नदिन निरन्तर संसद् अवरोध गर्नु गलत भएको देउवाको भनाइ थियो। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मधेसीलाई गाली गरेर आफूलाई राष्ट्रवादी नदेखाउन पनि एमालेलाई आग्रह गरे। ‘सबैभन्दा बढी राष्ट्रियताको रक्षा मधेसी जनताले सिमानामा बसेर गरेका छन्, मधेसी र पहाडीबीच विभाजन ल्याएर आफूलाई राष्ट्रवादी देखाउन कोसिस नगर्नुस्’, देउवाले भने।

 राष्ट्रियता जोगाउन बिपी कोइरालाले आफ्नो ज्यान जोखिममा राखेर भारतबाट नेपाल आएको स्मरण गर्दै देउवाले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताए। ‘हिजो राष्ट्रियताका निम्ति बिपी कोइरालाले ज्यानको बाजी लगाउनुभएको थियो,’ उनले भने, ‘बिपी कोइरालाका चेला हामी कसरी राष्ट्रघात गर्न सक्छौं?’ मधेसी र पहाडीबीच फाटो ल्याएर मुलुकमा अशान्ति मच्याउने षड्यन्त्रमा एमाले फसेको आरोप पनि उनले लगाए।

‘अबको १४ महिनाभित्र तीनवटा निर्वाचन गर्नुपर्ने छ, निर्वाचन भएमात्र संविधान कार्यान्वयन हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि दलहरूबीच मिलमिलाप आवश्यक छ।’

फरक प्रसंगमा देउवाले कांग्रेस प्रस्तावमा माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले मध्य पहाडी लोकमार्ग निर्माण सुरु गरेको सुनाए। ‘ओलीजीले केही दिनअघि आएर लोकमार्ग एमालेले बनाएको हो भन्नुभएछ,’ देउवाले भने, ‘सत्य कुरा नबंग्याउनुस्, लोकमार्ग काग्रेसको प्रस्तावमा माधव नेपाल नेतृत्वको सरकारले सुरु गरेको हो।’

प्रकाशित: १७ पुस २०७३ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App