coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

निर्माणाधिन अवस्थामा रहेको बेनी जोमसोम सडकखण्ड । तस्बिर : नागरिक

म्याग्दी- जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका सरोकारावालाको बैठकले आगामी फागुन १ंं० गतेदेखि दैनिक १० घण्टा सवारी आगमनलाई रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बताए। उनका अनुसार दैनिक बिहान ८ देखि १२ बजेसम्म तथा दिउँसो २ः३० देखि ६ः३० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ।

उक्त समयमा ठूला सवारीसाधनलाई म्याग्दी खण्डमा वैकल्पिक सडकको सम्भावना नभएपनि साना सवारीसाधनलाई घुमाउने ताल–पिप्ले–रानीपौँवा– माझखर्कको बैकल्पिक बाटो प्रयोग गर्ने गरी मर्मतमा समेत सम्बन्धित निर्माण ब्यवसायीलाई अनुरोध गरिएको छ। ‘निर्माण कम्पनीले तोकिएको समयमै काम सम्पन्न गर्ने  प्रतिबद्धता जनाएका छन्,‘बैकल्पिक बाटो मर्मतमा समेत सहजिकरण गर्ने निर्णय भएको छ’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने।

गाउँपालिकाभित्रको सडकखण्ड भएकाले साना सवारीसाधनलाई बैकल्पिक मार्गबाट गन्तब्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए। बैठकमा चारवटै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कालीगण्डकी करिडोरअन्तर्गतका स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम सुस्त गतिमा छ।

७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको काममा तिब्रता दिन संघीय सरकारलाई समेत आवश्यकता अनुसार अनुगमनमा अनुरोध समेत गरिएको छ।

 

 

 

प्रकाशित: २ फाल्गुन २०७६ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App