coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधुरै पर्यटकीय गन्तव्य

ओखलढुंगा- नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्।

करिब डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकाम नजिकै रहेको थामडाँडास्थित सहिद पार्क पूर्ण नहुँदै जिर्ण भइसक्यो। ढुंगा, सिमेन्ट र केही पिलरका लागि ठड्याइएका रड खियाँ लागेका छन्। दशकभन्दा बढी बित्यो, थामडाँडाको सहिद पार्कबारे अहिले कसैलाई चासो छैन एक स्थानीयले बताए।

सिद्धिचरण नगरपालिका १२ मा रहेको वीरेन्द्र पार्क राजा वीरेन्द्रको पालामा निर्माण भएको हो। तर, त्यतिखेर पनि एउटा स्मारक बनाउने कामभन्दा अरू भएन। हालै मात्र सांसद यज्ञराज सुनुवारको पहलमा सांसद विकास कोषबाट पटक–पटक गरी ५० लाखभन्दा बढी खर्च गरेर वीरेन्द्र पार्क नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ। त्यो पनि अधुरै छ।

स्रष्टा पार्कमा जिल्लामै जन्मिएका साहित्य र कलाका स्रष्टाहरू प्रथम गायिका मेलवादेवी, युगकवि सिद्धिचरण श्रेष्ठ, स्व.गायक पाण्डव सुनुवार र राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको अर्धकदको सालिक निर्माण भएको छ। ‘स्रष्टा पार्कको निर्माणले पूर्णता पाएको छैन,’ सांसद सुनुवारले भने, ‘यसलाई पूर्ण बनाएर नमुना बनाउने मेरो लक्ष्य छ। यही नै अन्तिम होइन।’ स्रष्टा पार्क बनाइए पनि त्यसको व्यवस्थापन छैन। सालिकहरु बनाइएका छन् तर कसको सालिक हो भन्ने नाम समेत राखिएको छैन।

स्रष्टा पार्क र सिद्धिचरण पार्कको गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रम गरेर उद्घाटन गरेकी थिइन्। स्रष्टा पार्क निर्माणले पूर्णता नपाउँदा कतिपय पूर्वाधारमा क्षति पुग्न थालिसकेको छ। ‘व्यवस्थित गर्ने हो भने आन्तरिक तथा स्थानीय पर्यटक दैनिक एक डेढ सयको संख्यामा स्रष्टापार्क घुम्न आउँछन्।’ स्थानीय उमंग श्रेष्ठले भने, ‘धेरै खर्च भइसक्यो भन्छन् तर आवश्यक पूर्वाधार अझै पुरा भएको छैन।’

विगत चार वर्ष यता सिद्धिचरण नगरपालिकाकै ११ नं. वडामा नगरपार्क निर्माण सुरु भएको छ। बहुवर्षीय योजनामा गरी यस वर्षसहित ८५ लाखभन्दा बढी नगरपार्कको संरचना निर्माणमा खर्च भइसकेको छ। १३ रोपनी क्षेत्रफलको पार्क सम्पन्न हुँदा ७ करोडभन्दा बढी खर्च हुने लक्ष्य राखिएको छ। तर, यो पार्कले पनि पूर्णता पाउने हो या होइन भनेर ठोकुवा दिन नसकिने स्थानीयको भनाइ छ।

 

प्रकाशित: २ फाल्गुन २०७६ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App