coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बुधबारसम्म संशोधन प्रस्ताव टेबुल

काठमाडौं- सत्ता साझेदार प्रमुख दुई दल र मधेसी मोर्चाबीच बुधबारसम्म संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गर्ने समझदारी भएको छ। त्यसलगत्तै स्थानीय निर्वाचन घोषणा गरेर प्रमुख प्रतिपक्षीसहितका दललाई साथ लिएर अघि बढ्ने तयारी पनि सरकारले गरेको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मधेसी मोर्चाका नेतासँग शुक्रबार र शनिबार भएको छुट्टाछुट्टै बैठकमा संशोधन प्रस्ताव टेबुल गरेर निर्वाचनमा जाने समझदारी बनेको हो। सकेसम्म एमालेलाई पनि सहमतिमा लिएर अघि बढ्ने समझदारी बनेको छ। सहमतिमा नआएर प्रमुख प्रतिपक्षी एमालेले संसद्मा अवरोध जारी राखे पनि संशोधन प्रस्ताव अघि बढाउने र कार्यतालिकासहित निर्वाचन मिति घोषणा गर्ने समझदारी बनेको नेताहरूले बताएका छन्।

कांग्रेस नेता गोपालमान श्रेष्ठले संशोधन प्रस्ताव टेबुल गरेर निर्वाचनमा जाने समझदारी भएको बताए। उनले भने, 'बुधबारसम्म संश्ाोधन प्रस्ताव टेबुल हुन्छ।'

संशोधन प्रस्ताव टेबुल भएको तीन दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सत्तारूढ दलको तयारी छ। वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नेगरी संविधान संशोधन र निर्वाचनसम्बन्धी कानुन पनि सरकारले एकैसाथ संसद्मा प्रवेश गराउने तयारी गरेको हो।

निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारीप्रति प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको जनाउँदै माओवादी केन्द्रका एक नेताले भने, 'सर्प पनि मर्ने लौरो पनि नभाँचिने गरी अघि बढ्ने सरकारको तयारी छ।'

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसी मोर्चाका नेतालाई शनिबार बिहान बालुवाटार बोलाएर संशोधन प्रस्ताव अघि बढाई निर्वाचन घोषणा गर्ने आश्वासन दिएका हुन्।  'प्रधानमन्त्रीले सकभर सोमबार, नभए मंगलबारसम्म संशोधन प्रस्ताव टेबुल गर्ने आश्वासन दिनुभएको छ,' बैठकमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, 'प्रधानमन्त्रीले संशोधन प्रस्ताव अघि नबढाईकन निर्वाचन तिथि घोषणा नगर्ने आश्वासन दिनुभएको छ।'

संशोधन थाती राखेर निर्वाचन घोषणा गरे आफूहरूलाई मान्य नहुने अडान राख्दै आएको मोर्चालाई कांग्रेस र माओवादी शीर्ष नेताले प्रस्ताव अघि बढाएर निर्वाचनमा जान सहमत गराएका हुन्। 'प्रधानमन्त्रीज्यूले तपाईंहरू ढुक्क हुनुहोस्, संशोधन प्रस्ताव अघि नबढाई चुनाव मिति घोषणा हुँदैन भन्नुभएको छ',  मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले भने, 'हामीले संशोधन प्रस्ताव थाती राखी कुनै पनि प्रकारको चुनाव हुन नसक्ने प्रस्ट भनेका छौं।'

प्रस्ताव टेबुल गरेर निर्वाचन कार्यतालिका घोषणा गर्ने सरकारी तयारीमा मोर्चाका नेताले सहमति जनाएका छन्। 'संशोधन प्रस्ताव टेबुल गरेर तीनै तहको निर्वाचन कार्यतालिका घोषणा गर्नेमा मोर्चाका नेताले सहमति जनाउनुभएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पनि संशोधन प्रस्ताव टेबुल गरेर निर्वाचन कार्यतालिका घोषणा गर्ने सहमति भएको बताए। 'संशोधन प्रस्ताव टेबुल गरी पारित गर्ने ग्यारेन्टी गरेर निर्वाचन कार्यतालिका घोषणा गरौं भनी प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो,' झालेे भने, 'यसमा हामी सहमत भएका छौं।'

संशोधन प्रस्ताव टेबुल गर्नुअघि प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्ने सरकारी तयारी छ। प्रधानमन्त्रीले यो जानकारी मोर्चाका नेतालाई गराएका छन्। एमालेसहित प्रतिपक्षी दल संशोधन प्रस्ताव टेबुल गराएर निर्वाचन प्रक्रिया अघि बढाउन सकारात्मक नभए विरोधका बीच पनि प्रस्ताव अघि बढाउने सरकारी तयारी छ। 'सभामुखले दलहरूलाई सहमतिका लागि तीन दिनको समय दिनुभएको छ,' स्रोतले भन्यो, 'सोमबारसम्म सहमति भएन भने पनि सरकार अघि बढ्छ।'

प्रधानमन्त्रीसहित माओवादी र कांग्रेस नेताहरूले संशोधन प्रस्ताव संसद्मा प्रवेश भएपछि पारित हुने आश्वासन मोर्चालाई दिएका छन्। उनीहरूले प्रतिपक्षी एमालेलाई आफ्नो अडानबाट सुरक्षित अवतरणका लागि संशोधन प्रस्तावमाथि छलफल हुनुपहिला नै निर्वाचन मिति घोषणा गर्नुपर्ने बाध्यता बुझिदिन मोर्चाका नेतालाई आग्रह गरेका थिए।

शनिबार बालुवाटारमा मोर्चासँग भएको बैठकमा कांग्रेस र मोर्चाबीच शुक्रबार भएको छलफलबाट आफू उत्साहित भएको प्रधानमन्त्रीले बताएका थिए। बैठकको सुरुमै तमलोपा अध्यक्ष महन्थ ठाकुरले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि नबढाईकन निर्वाचन मिति घोषणा गर्ने तयारी सरकारबाट भइरहेको समाचार आइरहेको भन्दै वास्तविकता के हो भनी प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए। जबाफमा प्रधानमन्त्रीले संशोधन प्रस्ताव अघि नबढाई निर्वाचन मिति घोषणा नहुने बताएका थिए। मोर्चा र कांग्रेसबीच शुक्रबार भएको बैठकमा पनि संशोधन प्रस्ताव सदनमा टेबुल गरेर अघि बढ्ने सहमति भएको थियो।

प्रकाशित: १७ पुस २०७३ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App