७ वैशाख २०८१ शुक्रबार
समाज

सामुदायिक विद्यालयमा आकर्षण बढाउन शैक्षिक सामाग्री विरतण

डडेल्धुरा- सामुदायिक विद्यालय तर्फ आकर्षण बढाउन विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालय तर्फ बढ्दै गएका बेला जिल्ला सदरमुकाम अमरगढी नगरपालिका सामुदायिक विद्यलयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्यागसंगै शैक्षिक सामाग्री समेत दिइएको हो।

अमरगढी नगरपालिका–२ मौरडामा रहेको बैजनाथ माविमा शुक्रबार झोला वितरण कार्यक्रमको आयोजना गरी नगरपालिकाका १३ वटा विद्यालयका बिद्यार्थीहरुलाई झोलासंगै कापि, सिसाकलम, ज्यामेट्रिबक्स र कलरबक्स दिइएको छ। डडेल्धुराका ९१ विद्यालयका एक हजार एक सय ५५ विद्यार्थीलाई झोला दिइनेछ। शुक्रबार अमरगढी नगरपालिकाभित्रका १६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ।

चाईना फाउन्डेसन र सफा सुनौलो नेपालको सहयोगमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको हो। छात्रालाई रातो र छात्रलाई हरियो रंगको झोला वितरण गरिएको छ।

नेपालका ६३ जिल्लाहरुमा झोला वितरण गर्ने अभियान अन्तर्गत डडेल्धुराका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गर्न लागिएको हो।

झोला वितरण गर्दै जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालबालिको पढाईमा सघाउन अभिभावकहरुलाई आग्रह गरे। झोला र थोरै भए पनि सहयोगी संस्थाले शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद दिँदै उनले बालबालिकाको पठनपाठनमा अभिभावकले ध्यान दिनुपर्ने उनको भनाई थियो।

सात वटै स्थानीय तहका सामुदायिक विद्यालयमा गरिने उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा अमरगढी नगरमा झोला वितरण गरिएको रुडकुका कार्यकारी निर्देशक सरस्वती खड्काले बताइन्। विद्यार्थीलाई होसला प्रदान होस भन्ने उद्देश्यले झोला र शैक्षिक सामाग्री दिइएको उनले बताइन्।
विद्यालय नआउने बालबालिकालाई आउने बनाउनका लागि शैक्षिक सामाग्री दिइएको सहयोगी संस्था सफा सुनौलो नेपालका प्रतिनिधि कृष्णप्रसाद ढकालले बताए।

सरकारले ल्याएको नयाँ शिक्षा ऐनमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्र छात्रावृत्ति दिने उल्लेख गरेकाले महंगो शुल्क तिरी निजी विद्यालयमा अध्ययन गर्नु भन्दा मेहनत गरी सामुदायिक विद्यालयमा अध्ययन गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले औल्याए। शिक्षक, अभिभावकले महत्व दिई सामुदायिक विद्यालयमा उचित गुणस्तरिय रुपमा विद्यार्थीलाई अध्यापन गराउन सके चर्काे शुल्कको भार कुनै अभिभावक विद्यार्थीले मोल्नु नपर्नेमा सबैको जोड थियो।

 

 

प्रकाशित: २ फाल्गुन २०७६ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App