७ वैशाख २०८१ शुक्रबार
समाज

दुलहीको उमेर नपुग्दा रित्तै फर्कियो जन्ती

खोटाङ– दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले विवाह रोकेको छ। उमेर हदका कारण भोजपुरको बाडागाउँकी दुलही दिलकुमारी दुलाल र खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका दुलहा कृष्णप्रसाद फुयाँलको विवाह रोकिएको हो। दुलहीको उमेर २० वर्ष नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा प्रहरीले दुबै पक्षलाई दुलहीको उमेर पुगेपछि घरजम गर्ने शर्तमा सहमत गराएको जनाएको छ।

माघ २९ गतेका दिन माईतीघरमा कन्यदान, सिन्दुरपोते लगायतका रित पूरा गरेपछि बेहुली अन्माउने बेला विवाह घरमा प्रहरी पुगेको थियो। जनप्रतिनिधि, स्थानीय बुद्धिजिवी लगायतको उपस्थितिमा प्रहरीले दुलहीको उमेर २० वर्ष पुगेपछि मात्र घरजम बसाउने शर्तमा सहमत गराएपछि केटा पक्ष दुलही बिनै घर फर्किएको छ। दुलहीविहीन जन्ती फर्किएपछि बिहीबारको विवाह भोज रोकिएको बेहुलाका काका चक्रप्रसाद फुयाँलले बताए। जन्म चिनामा दुलहीको उमेर २० वर्ष पुग्न ४५ दिन बाँकी देखिए पनि शैक्षिक प्रमाणपत्रमा भने दुलहीको उमेर १७ वर्ष मात्रै पुगेको देखिएको बताइएको छ।

‘बेहुली अन्माउने बेलामा प्रहरी आइपुगे छ। सुरुमा केटीको बालाई लगेर प्रहरीले केटीको उमेर सोधपुछ गरेछ। फेरी केटाका बालाई पनि लगेर केटाको उमेर सोधे छन्,’ फुयाँलले भने, ‘केटीको उमेर नपुगेको पाइएपछि २० वर्ष नपुगेसम्म माईती घरमै बस्ने र त्यसपछि मात्र दुलाहाको घरमा गएर घरजम गर्ने शर्तमा जन्ती फर्काइए छ।’

यसअघि उमेर नपुगेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क मालाका १४ वर्षीय पम्फा भुजेल र भोजपुर अरुण गाउँपालिका–४ का २२ वर्षीय डम्बरहादुर भुजेलबीचमा माघ २१ गते हुन लागेको विवाहलाई पनि प्रहरीले रोकेको थियो। दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको विवाह गर्ने उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए। प्रहरीले बाल विवाह रोकेपछि दुलहा पक्ष दुलहीविहीन फर्किएको थियो। पम्फा स्थानीय चम्पावती माविमा कक्षा ९ मा अध्ययनरत थिईन्।

किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाह स्थलमा पुगेर बुझ्दा बाल विवाह हुन लागेको पाइएपछि रोक्नु परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०७:५३ शुक्रबार

जन्ती दुलही