कांग्रेसको क्रन्दन

शुक्रबार, ०२ फागुन २०७६, १० : १४ युवराज गौतम

मातृकाप्रसाद कोइरालाले सैनिकहरूलाई पनि नेपाली कांग्रेस बनाउन चाहेको कुरा प्रा. केशरबहादुर केसीबाट सुन्दा अचम्म लागेको थियो। राजेश गौतमले पनि ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ ग्रन्थमा यो प्रसंग उल्लेख गरेका छन्।

गौतमको कथन छ– ‘२००७ साल पुस २९ गतेका दिन नेपाल सरकारका सैनिक र निजामती कर्मचारीलाई सिंहदरवारमा बोलाएर कांग्रेसका अध्यक्ष मातृकाले आफ्नो उद्देश्य बताएका थिए। तर सैनिक अधिकारी र उच्च तहका निजामती कर्मचारीले सो प्रस्ताव स्वीकार गरेनन्।’ ‘राजाको सिन्दूर’ भन्थे सरकारी जागिरलाई। अहिले शक्तिशाली दलको सिन्दूर घस्ने होडबाजी छ, सरकारी तलवजीवी र परजीवीहरूमा।

इतिहासकार भुवनलाल प्रधानले लेखेका छन्– ‘दानबहादुर गुरुङ र जितबहादुर लामा जस्ता बहालवाला सैनिकले सुवर्णशमशेरलाई खुसुक्क कलकत्तामा भेटे। कांग्रेसलाई क्रान्तिका लागि चाहिने हतियार बोक्न सुन्दरराज चालिसेले त्यस्तो चाँजोपाँचो मिलाएका थिए।’ त्यसपछि झन्डै ६८३ जना सैनिक राजनीतिमा लागेको पुस्तकमा उल्लेख छ।

झण्डै ३६ वर्ष पहिलेको कुरा हो। ललितपुरको पुलचोकस्थित बद्रीविक्रम थापाको घरमा एक जना वृद्ध गोठमा गोबर सोहोर्दै थिए। बडाहाकिम र अञ्चलाधीश भएर काम गरेका थापा सूर्यबहादुर थापा जस्तै ठाँटिएर बसेका होलान् भन्ने मेरो अनुमान थियो। ‘मैले बद्रीविक्रमजीसँग समय लिएर आएको हुँ। भित्र खबर गरिदिनुहुन्छ कि ?’ भन्नासाथ नमस्कार गर्दै उनले भने– ‘बाबु म नै हुँ बद्रीविक्रम।’ उनीसँग झण्डै तीन घन्टा कुराकानी भयो। २००७ सालको जेठमा ‘राणा विरोधी’ भन्दै आफूलाई पक्राउ गरेका घटनादेखि विगतका रोचक प्रसंग सुनाए उनले। थापाको गुनासो थियो– सक्कलीलाई नचिन्ने र नक्कली कांग्रेसलाई माया गर्ने प्रवृत्ति बढ्दै गएपछि धेरै असल मानिसले पार्टी त्याग्दै गए। मैले पनि कांग्रेस पार्टी त्यागेँ।

राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बिपीको तर्क थियो। राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने राजतन्त्र तथा प्रजातन्त्र दुवै मासिन्छ भन्ने सन्देश दिए।

कांग्रेसलाई आज ढुक्क छ। सुनको जलप लगाइएका नक्कली गहना बेच्ने पसल जस्तो भयो पार्टी। ‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भनेझैँ त्यागी, इमानदार, सक्रिय र पुराना नेता/कार्यकर्ता किनारा लाग्दैछन्। सत्तारुढ कम्युनिस्ट पार्टीलाई धेरैले नेकपा (यती समूह) भनेर व्यङ्ग्य गर्न थालेका छन्। त्यस्तै कांग्रेसको झण्डामा अंकित चार ताराले पार्टी सत्ता, सम्पत्ति, सुरा र सुन्दरी जस्ता चार कुरामा गर्व गर्छ भन्ने सन्देश दिइरहेको देखिन्छ।

सुवर्णशमशेरले आफ्ना ‘भान्जाबाबु’ गलकोटे राजा थीरबम मल्ललाई सशस्त्र विद्रोहका लागि हतियार भेला पार्ने काम सुम्पेका थिए २००७ सालको क्रान्तिमा।  वीरगन्जको मोर्चामा उनी मारिए। देशका विभिन्न ठाउँमा भएका प्रजातान्त्रिक आन्दोलनमा को कहाँ सक्रिय थिए, कतिजनाले प्राणोत्सर्ग गरे भने कुराको कुनै अभिलेख कांग्रेससँग नभएको पुराना नेताहरू नै स्वीकार्छन्। तर ‘त्याग’ गरेबापत धेरै नक्कली कांग्रेसले कांग्रेसी सरकारका पालामा प्रशस्त सम्पत्ति क्षतिपूर्ति लिए। मलमूत्रबाहेक उनीहरूले कुनै त्याग गरेका थिएनन्। राजनीतिक त्यागलाई मजदूरीसरह पारिश्रमिक लिनेहरूको चरित्र ठगी हुन्छ कि त्यागी ? पार्टीले बुझ्नुपर्ने हो।

सन् १९२० को दशकमा खुलेको अमेरिकाको डेमोक्र्याटिक पार्टीको चुनाव चिह्न हो चार तारा अंकित गधा। कांग्रेसले अमेरिकाको प्रजाताित्रक दलझैँ देखाउन सुटुक्क त्यही ‘चार तारा’ लाई आफ्नो बनायो। बाइबलमा गधा चढेर जिसस जेरुसलेम गएको प्रसंग आउँछ। (म्याथ्यु २१ः४–७ र जोन १२ः१४ः१५)

हिन्दु (सनातनी) ग्रन्थमा नौ दुर्गाको कथामा कालारात्रि देवीको बाहन गधा हो भनिएको छ। दायित्वको भारी बोक्ने इमानदार प्राणी मानिन्छ गधा। नेपाली कांग्रेसको चुनाव चिह्न आफूलाई ‘इमानदार’ भन्नेहरूले नै प्रयोग गर्दै आएका छन् तर कालरात्रि देवीको बाहन बढी इमानदार ठहरिन्छ।

कांग्रेसको झण्डामा अंकित चार ताराले पार्टी सत्ता, सम्पत्ति, सुरा र सुन्दरी जस्ता चार कुरामा गर्व गर्छ भन्ने सन्देश दिइरहेको देखिन्छ।

अमेरिकी संविधानका पिता जेम्स म्याडिसन संघीयता विरोधी थिए। ब्रिटेनको टोरी (कन्जरभेटिभ) दलका बेन्जामिन डिजरेली त्यस्तै थिए। कांग्रेसका त्रिमूर्ति मानिने विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका कतिपय विचारमा खोट भए पनि राष्ट्रिय दृष्टिकोण स्पष्ट थियो। ती तीन नेताका आफ्नै पीडा थिए। बिपीले लेखेका छन्– ‘मेरो धारणा कांग्रेसकै मान्छेहरूले बुझेनन्।’ कृष्णप्रसाद भट्टराईले पार्टी नै त्यागे। गणेशमानको पीडा त्यस्तै थियो। गिरिजाप्रसाद कोइरालाको पीर खप्न नसकेर उनले पनि वृद्धावस्थामा दल त्यागे। पार्टी प्रतिबन्धित रहँदा आपसमा प्रेम, सद्भाव, एकता र सहयात्रा देखाउने कैयन् नेता/कार्यकर्ता २०४६ साल चैत २६ गतेपछि बिस्तारै पथभ्रष्ट हुँदै गए।

२०१७ साल पुसको घटनापछि जेल परेका बिपी कारावासबाट मुक्त भएपछि बनारस नजिक सारनाथमा बस्न थाले। कांग्रेसका पुराना नेता मीनबहादुर गुरुङ (कास्की) लगायतका हुनेखानेले पैसा दिएर सहयोग गर्थे बिपीलाई। दलाई लामालाई कतिपय तिब्बतीले भारतको धर्मशाला शहरमा भेट्न गएझैँ बिपीलाई भेट्न जान्थे कांग्रेसजनहरू।

सत्र सालपछि कांग्रेसमा संकट आयो। कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर (ललिता निवासका मालिक) राजा महेन्द्रसँग विनम्र हुनुपर्छ भन्थे। बिपीले २०२९ भदौ ९ गतेपछि सशस्त्र द्रोह गरेर राजाको शिर झुकाउने तर राजमुकुट नखोस्ने नीति लिए। उनी त्यसलाई ‘स्टिक एन्ड क्यारोट’ नीति भन्थे। कृष्णप्रसाद भट्टराई भन्थे– राजासँग शक्ति छ तसर्थ सत्याग्रहको विकल्प छैन।

प्रधानमन्त्री इन्दिरा गान्धीले २०३२ साल मंसिर १ गते (१९७५ नोभेम्बर १७) बाट भारतमा संकटकाल (इमर्जेन्सी) लगाइन्। उनले बिपीलाई स्पष्ट भनिन्– ‘अब तपाईँ भारतमै बस्ने हो भने राजनीति गर्न पाउनुहुन्न।’ बिपीलाई धर्मसंकट आयो। उनले नेपालमा राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने कम्युनिस्टहरूलाई विदेशीले प्रयोग गर्छन् र राजतन्त्र तथा प्रजातन्त्र दुवै मासिन्छ भन्ने सन्देश दिए। राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने उनको तर्क थियो। राष्ट्रिय एकता र मेलमिलापको नीति नाम दिइएको सो अवधारणाअनुसार उनी २०३३ साल पुस १६ गते नेपाल आए।

घर, समाज, दल वा राष्ट्र चलाउन प्रबल एकता र स्पष्ट नीति चाहिन्छ। नत्र संकट उत्पन्न हुन्छ। बिपीको शरीरान्तपछि नेपाली कांग्रेसका कतिपय नेताले पार्टी र कार्यकर्तालाई गधा तथा आफूलाई जिसस ठान्न थाले। विचारको सट्टा कुविचार, सिद्धान्तको ठाउँमा सम्पत्ति र इमानदार बस्ने पदमा बेइमानहरू भरिँदै गए। २०६२/३३ सालपछि महान उपलब्धि (?) हात पारेको कांग्रेस घर जलाएर आज खरानी बेच्दैछ र त्यसलाई उपलब्धि भनिरहेको छ। उग्रवामपन्थीको लीला हेरेर ‘अधिनायकवाद आयो’ भन्दैछ। जाँचमा सधैँ प्रथम–द्वितीय हुने विद्यार्थीले गति छाडेपछि ‘पासमार्क’ मात्र ल्याउनेको प्रगति पनि चर्चाको विषय बन्छ।

सत्तरी साल पुरानो दलले मूल्य/मान्यता, धर्म, धरातल र आदर्श बिर्सेर चरम गुटबन्दी, प्रलोभन तथा सिद्धान्तहीन बाटो हिँडेपछि नेपाली कांग्रेस कहाँँ छ भनेर लाल्टिन बालेर खोज्नुपर्ने अवस्था देखिएको छ। कांग्रेसवृत्तमा जात, थरका नाममा हाँगाबिँगा फैलिएका छन् तर वृक्ष सुकिरहेको छ।

कांग्रेसको पुनर्जीवन गाह्रो छैन। लाज नमानी पार्टीले दिल्लीको बाह्रबुँदे आदेश खारेज गरे पुग्छ। आफ्नो दल र राष्ट्र हामी आफैँ चलाउँछौँ भन्ने अठोट लिए पनि पुग्छ। साहसपूर्वक विदेशी पैसा लिँदैनौँ भने झन् राम्रो। पार्टीको स्पष्ट नीति, धारणा र बाटो कम्युनिस्ट भन्दा कहाँ कति फरक छ भनेर जनतालाई बुझाउन सके पुग्छ। प्रजातन्त्र र गणतन्त्र एउटै हो भनेर अब पनि ढाँटिरहनु हँुदैन।  गणतन्त्र नहुँदा प्रजातन्त्र हुँदैन भने ब्रिटेन, नर्वे, स्विडेन, थाइल्यान्ड, लक्जेमवर्गलगायतका राष्ट्रलाई कांग्रेसले ‘अप्रजातान्त्रिक’ घोषणा गर्ने साहस गर्नुपर्छ। के त्यसो गर्ने साहस छ ?

नेपाली कांग्रेस परम्परावादी पार्टी हो भन्न लजाउनु हुँदैन। ब्रिटेनको कन्जरभेटिभ पार्टी होस् वा सन् १७८९ मा फ्रान्सको संसद्मा पुगेको कन्जरभेटिभ पार्टी ती सबैका पृथक आधारभूत चरित्र छन्। दक्षिणपन्थी भनेर राजनीतिक शास्त्रले परिभाषा गरेका ‘राइटिस्ट’ पार्टीका आफ्नै चरित्र हुन्छन्। उनीहरू धर्म÷संस्कृतिप्रति आस्था राख्छन्। प्राकृतिक कानुन मान्छन्। राष्ट्रियता र प्रजातन्त्रप्रति प्रबल आस्था राख्छन्। सन् १९३० को स्पेनिस गृहयुद्धपछि चर्चामा आएको दक्षिणपन्थी (राइटिस्ट) शब्द राजनीतिमा सर्वाधिक प्रयोग हुन थालेको छ। यस्ता दलहरू एसियामा पनि छन्। भारतको सत्तारुढ दल भाजपा दक्षिणपन्थी नै हो। त्यसैले ऊ परम्परा धर्म र संस्कृतिको वकालत गर्छ।

सन् १९४८ मा खुलेको अवामी लिग पार्टीले आफ्नो चरित्र कायम राख्न सकेन। फलस्वरूप सन् १९७८ मा बंगलादेश नेसनालिस्ट पार्टी खुलेर त्यसले फाइदा लियो । सन् १९२१ मा पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा खुलेको कम्युनिस्ट पार्टी अहिले अभिलेखालयमा मात्र भेटिन्छ। तर ‘जमात ए इस्लामी’ जस्ता नयाँ पार्टीले राजनीतिमा तरंग ल्याएका छन्। कतिपय देशमा ‘रेन्बो कोलिसन’ भनेर मिलिजुली सरकार बनाइए पनि सत्तारुढ दलको आधारभूत चरित्र स्पष्ट नहुँदा समस्या देखिने गरेको पाइन्छ।

प्रमुख प्रतिपक्षी दलका आफ्नै चरित्र हुन्छन्। जनताले उनीहरूबाट सरकारसँग भन्दा बढी सहयोगको अपेक्षा गरिरहन्छन्। तर सत्ताका लागि मात्रै ध्यान दिइरहेको कांग्रेसले राष्ट्र र जनताका जल्दाबल्दा समस्यालाई पन्छाएर झिनामसिना कुरालाई कार्यसूची बनाउने गरेको भन्दै पार्टीभित्रैबाट आलोचना हुन थालेको छ। हालै पार्टीका एक जना नेतालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाउने निर्णय गरेपछि संविधान र प्रचलित कानुनको अध्ययन नगरी कांगे्रसले संसद् बैठक नै अवरुद्ध ग¥यो। अदालतमा विचाराधीन विषयका बारेमा व्यवस्थापिकामा छलफल गर्न नपाइने अन्तर्राष्ट्रिय प्रचलन छ भने नेपालकै संविधानले समेत त्यसबारे हेक्का राख्न सन्देश दिएको छ। तर संविधान नपढी संसद्मा उफ्रने कांग्रेस नेताहरूले कालान्तरका आफ्नो भुल स्वीकार गरे। कानुन बनाउने, चुनाव लड्ने, सरकारलाई घच्घच्याउने, राष्ट्र र जनताका मूलभूत समस्यामा आवाज उठाउने जस्ता कुरा बिर्सेर घरज्वाइँलाई खानकै धन्दा भनेझैँ कांगे्रसले जहिले पनि सत्तामा जाने ‘तिकडम’ खेलिरहँदा जनता हाँस्न थालेका छन्।

गैरसंवैधानिक उपाय प्रयोग गरेर सडकमा गरिने प्रदर्शन, विरोधका लागि विरोध वा नचाहिँदा काममा आफ्ना भ्रातृ संगठनहरूलाई दुरूपयोग गर्ने प्रवृत्ति त्यागेर कांगे्रसले जिम्मेवार हुने कोसिस गरेन भने दिल्लीमा हालै भएको चुनावमा त्यहाँको सबैभन्दा पुरानो पार्टी कांग्रेस शून्यमा झरेझैँ नयाँ विकसित परिस्थितिमा नेपाली कांग्रेस आफ्नो विगतप्रति गौरव गरेर बस्नेबाहेक अर्को उपाय बाँकी रहने छैन्।

विश्वका कैयन् पुराना पार्टीले नयाँ पुस्तालाई आकर्षित गर्न नसक्दा उनीहरू मासिएका थुप्रै उदाहरण छन्। सयौँ वर्ष पुरानो राजतन्त्र होस् वा लोकप्रिय दलहरू, जनतासँग सोच्ने, जनतासँगै हिँड्ने र जनतासँगै काम गर्ने चरित्रबाट विमुख भए भने उनीहरूको पतन निश्चित छ। अहिले सत्ता सञ्चालन गरिरहेका दलका थुप्रै कमी÷कमजोरी र अभिमान देखिएका छन्। तर सरकारलाई अधिनायकवादको बिल्ला लगाइदिएर मात्र कांग्रेस नेकपा भन्दा गतिलो सावित हुन सक्दैन।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad