८ वैशाख २०८१ शनिबार
कला

सुरु भयो तेस्रो निफ

काठमाडौं – फिल्म संस्कृतिको विकास गर्न नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) तेस्रो संस्करण सुरु भएको छ। बिहीबार राजधानीको सभा गृहमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेका थिए।

महोत्सवको उद्घाटनमा निर्देशक जिर्जाटी याहिफूको ‘द कम्पोजर’ फिल्म प्रदर्शन गरिएको थियो। १०४ मिनेटको फिल्म चीनको चर्चित कम्पोजर सियान जिन्घाईको जीवनको वास्तविक कथामा आधारित रहेको छ। उद्घाटन समारोहमा बोल्दै महोत्सवका अध्यक्ष केपी पाठक महोत्सव फराकिलो हुँदै गएको बताए। ‘नेपालमा फिल्म संस्कृतिको निर्माण सुरु गरिएको महोत्सव तेस्रो संस्करणसम्म आउँदा फराकिलो भएको महसुस भएको छ। फिल्मसम्बन्धी अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई महोत्सवमा सहभागी गराएर नेपाली फिल्मकर्मीको निम्ति विभिन्न छलफलको आयोजना गरिरहेका छौं। यसपटक महोत्सवको दौरान डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावितलाई जोड दिएर छलफल हुनेछ,’ उनले भने।

यसपटक महोत्सवमा फिल्म, डकुमेन्ट्री, सर्ट फिल्म तथा एनिमेटेड विधाका ८० वटा फिल्महरू प्रदर्शन हुनेछन्। महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय फिल्म (१०), नेपाली फिल्म (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) प्रदर्शन हुनेछन्। यसपटक महोत्सव ५५ देशबाट ६ सयभन्दा बढी फिल्म प्राप्त भएको जानकारी उनले गराएका थिए।

कलात्मक विधा फिल्मले समाजको विचार र मुद्दालाई जिवन्त बनाइदिएको छ। फिल्म मेकिङमा लागेको ४० वर्षभन्दा बढी भइसक्दा यसको फरक शैलीमाथि अभ्यास गरिरहेको छु। सांस्कृतिक विविधताले भरिएको सुन्दर नेपालमा आएर फिल्म महोत्सवमा सहभागी हुन पाएको छु।

आगामी फागुन ५ सम्म आयोजना हुने महोत्सवमा वल्र्ड पनोरमाअन्तर्गत ‘ट्याप’, ‘ह्याप्पी किनेर्स’, ‘बिर्यानी’, ‘द अदर हाफ’, ‘वाक अन द वेभ्स्’ लगायत फिल्म प्रदर्शन हुनेछ। यस विधामा टर्की, अमेरिका, भारत, चीन, मेक्सिको, श्रीलंका र फ्रान्सका फिल्महरूले प्रतिस्पर्धा गर्दैछन्। नेपाली फिल्म विधामा ‘गोपी’, ‘मिस बर्दिया’, ‘कोपिला’, ‘बुलबुल’ र ‘प्रसाद’ प्रदर्शन हुनेछन्।

बलिउड निर्देशक प्रकाश झाले संसारभरको विभिन्न संस्कृतिमा आधारित फिल्महरू हेर्न अवसर महोत्सवले जुराइदिएको बताए। ‘फिल्म भनेको कलाको विधा हो। जसले समाजको विचार र मुद्दालाई जिवन्त बनाइदिन्छ। फिल्म मेकिङमा लागेको ४० वर्षभन्दा बढी भइसक्दा यसको फरक शैलीमाथि अभ्यास गरिरहेको छु। सांस्कृतिक विविधताले भरिएको सुन्दर नेपालमा आएर फिल्म महोत्सवमा सहभागी हुन पाएको छु,’ उनले भने।

महोत्सवअन्तर्गत वल्र्ड पनोरोमामा उत्कृष्ट हुने फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गर्नेछ। महोत्सवमा प्रदर्शन भएकामध्ये उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर, नेपाली फिल्मले एक लाख रुपैयाँ, ऐनिमेटेड फिल्मले सात सय ५० अमेरिकी डलर, सर्ट फिल्मले पाँच सय अमेरिकी डलर र नेपाली सर्ट फिल्मले ४० हजार रुपैयाँको पुरस्कार पाउनेछन्। त्यसबाहेक उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, सिनेमेट्रोग्राफर र स्क्रिनप्ले विधामा अवार्ड प्रदान गरिनेछ।

बलिउड फिल्मका निर्देशक प्रकाश झासहित गौरी मल्ल, जोआओ पाओलो मसेडो, युनी हाडी र मञ्जुकुमार श्रेष्ठको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरू छनोट गर्नेछन्। श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणासहित थाइबुट ब्रैक र करूण थापाको निर्णायक टोलीले उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्री छनोट गर्नेछन्।

महोत्सवमा बलिउड फिल्मका निर्देशक प्रकाश झा, श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा, जोआओ पाउलो मसेडा, नीर शाह र राजेश हमालले मास्टरक्लास र अनुभव सुनाउनेछन्। ‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित आयोजना महोत्सव भारत, चीन, अमेरिका, स्पेन, बेलायत, क्यानडा, इरान, इटाली, जापान र मलेसियालगायत ४० वटा देशका फिल्महरू देखाइनेछ। महोत्सवअन्तर्गत शुक्रबार ‘फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकको कार्यशालाको आयोजना हुँदैछ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App