coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्गममा पुस्तक सहयोग

फाइल तस्बिर

भक्तपुर – जन्मदिनको अवसरमा विद्यार्थीले जम्मा गरेको रकमबाट बिहीबार विभिन्न जिल्लाका पाँच वटा विद्यालयमा पुस्तक सहयोग गरिएको छ। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थीहरूले जन्मदिनको दिन संकलन गरेको रकमबाट विद्यालयहरूलाई पुस्तक सहयोग गरेका हुन्। विद्यालयको ३७औं वार्षिक समारोह एवं पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीले जम्मा गरेको रककबाट खरिद गरिएको पुस्तक दार्चुलाको मालिकार्जुन मावि, मकवानपुरको सिद्धार्थ मावि, धनकुटाको पून्य मावि, काभ्रेलान्चोकको कालिका मावि र नैमिषारण्य संस्कृत गुरुकुल विद्यालयलाई हस्तान्तरण गरिएका हुो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले संयुक्त रूपमा ती विद्यालयका प्रतिनिधिलाई पुस्तक हस्तान्तरण गरेका हुन्। चारवटा विद्यालयलाई प्रति विद्यालयलाई दुई लाख ३३ हजार आठ सय ५९ रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरिएको बताइएको छ। नैमिषारण्य संस्कृत गुरुकुल स्कुललाई भने एक लाख ६७ हजार एक सय ११ रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरिएको थियो।

एउटा विद्यालयलाई एक हजार ६ सय सात थान र संस्कृत स्कुललाई एक हजार एक सय थान पुस्तक उपलब्ध गरिएको छ। साथै ती विद्यालयहरूलाई १६ हजार रुपैयाँ बराबरका अन्य शैक्षिक सामग्री र संस्कृत स्कुललाई तीन हजार पाँच सय १० रुपैयाँ बराबरका शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले विद्यार्थीले जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा कोषमा रकम जम्मा गरेर विद्यालयलाई पुस्तक सहयोग गरेको बताए। यहाँका विद्यार्थीले प्रत्येक वर्ष यसरी नै दुर्गमका विद्यालयलाई पुस्तक सहयोग गर्दै आएको उनले जानकारी दिए।

यहाँका साना साना बालबालिकाले नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यले एभरेष्ट टिएन वर्र्थ डे कोष स्थापना गरेका छन्। सोही कोषबाट २०७५ सालमा संकलन रकमबाट दुर्गम क्षेत्रका विद्यालयलाई पुस्तक सहयोग गरिएको हो। जन्मदिनका अवसरमा विद्यार्थीले आफ्नो इच्छाअनुसार आर्थिक सहयोग कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ।

विद्यालयले २०६६ सालदेखि कोषको स्थापना गरेको बताएको छ। विद्यार्थीबाट संकलन भएको रकमबाट पहिलो पटक २०६६ सालमा भक्तपुर अस्पतालका बिरामीलाई न्यानो कपाडा वितरण गरिएको थियो। त्यसपछि दुर्गम जिल्लाका विद्यार्थीलाई पाठ्यपुस्तक सहयोग गर्दै आएको विद्यालयले जनाएको छ। अहिलेसम्म २१ जिल्लाका २२ वटा विद्यालयलाई पुस्तक सहयोग गरेको बताइएको छ।

पुस्तक हस्तान्तरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले विद्यालयले गरेको यो कार्यक्रम देशकै लागि उदाहरणीय रहेको बताए। साना नानीहरूको सकरात्मक कामलाई अबका दिनमा स्थानीय सरकारले पनि सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। जन्मदिनको अवसरमा अनावश्यक रूपमा खर्च गर्ने कार्यलाई यसले रोक्ने उनको विश्वास थियो। अन्य ठाउँका मानिसले पनि यस्तो कार्य सिक्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App