६ वैशाख २०८१ बिहीबार
समाज

किर्ते गरी करोडौंको औषधि बेच्ने बस्नेत पक्राउ

धनगढी – निरन्तर दुई आर्थिक वर्षमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडौंको औषधि विक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त वस्नेत पक्राउ परेका छन्। गत मंसिर तेस्रो साता किर्ते गरेको मुद्दा परेपछि सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल फरार थिए। अग्रवाल अझै फरार छन्। मुद्दा कमजोर बनाउन प्रयास गर्न बस्नेत एक साताअघि केही दिन धनगढीमा बसेर पुनः भारततिर गएका थिए। मंगलबार उनले जिल्ला प्रहरी कार्यालयसामु आत्मसमर्पण गरेको कैलाली प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। कैलाली जिल्ला अदालतबाट मंगलबार नै पाँच दिनको म्याद थप गरी सञ्चालक बस्नेतलाई हिरासतमा राखिएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको धरोहर स्वास्थ्य संस्थाको रूपमा रहेको गेटा आँखा अस्पतालमा किते कर चुक्ता प्रमाणपत्र पेस गरेर अमित मेडिसिन डिस्ट्रिब्युटर्सले ३ करोड ५० लाख रुपैयाँको औषधि विक्री गरेको थियो। सरकारी छाप, दस्तखत किर्तेमा उनीहरूविरुद्ध मुद्दा परेको छ।

किर्ते गरेको प्रमाणित
प्रायः उजुरी परेका विषयमा आरोप सही वा गलत भएको अनुसन्धान प्रहरीले गर्ने गर्छ। तर, अमित मेडिसिन डिस्ट्रिब्युटर्सले किर्ते गरेर औषधि बिक्री गरेको प्रमाणित भइसकेपछि प्रहरीमा उजुरी परेको हो। आन्तरिक राजस्व कार्यालय धनगढीमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरिएको जानकारी आएपछि राजस्व कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले एकजना कर अधिकृतलाई बुझ्न गेटा आँखा अस्पताल पठाएका थिए। करचुक्ता प्रमाणपत्र किर्ते नै रहेको पाइएको उनले जानकारी दिए। ‘त्यो करचुक्ता प्रमाणपत्र बदल्न नसकून् भनेर मैले त्यो करचुक्ता प्रमाणपत्रको फोटोकपीसहित राखेर छानबिन गरिदिन भनेर निवेदन पठाउनु भनेर गेटा आँखा अस्पताललाई आग्रह गरे,’ प्रमुख श्रेष्ठले भने। गेटा आँखा अस्पतालको निवेदन आएपछि औपचारिक रूपमा छानबिन गरेको उनले बताए। ‘छानबिन गर्दा अमित मेडिसिनले पेस गरेको दुई आवको कर चुक्ता प्रमाणपत्र नक्कली रहेको प्रमाणित भयो,’ उनले थपे। कर चुक्ता प्रमाणपत्रमा लेखिएको चलानी नम्बर र मिति राजस्व कार्यालयसँग मेल नखाएको उनले बताए। करचुक्ता प्रमाण पत्र नक्कली पेस गरी औषधि बिक्री गरेको प्रमाणित भएपछि कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय प्रमुख श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

उनले आव २०७४/७५ र आ २०७५/७६ को करचुक्ता प्रमाणपत्र नक्कली पेस गरेका हुन्। गेटा आँखा अस्पतालले आव २०७५/७६ मा दरभाउ पत्रको आह्वानका आधार उनीबाट २ करोड ८९ लाख ४२ हजार र चालू आव २०७६/७७ मा ६१ लाख ५६ हजार रुपैयाँको औषधि खरिद गरेको छ। सार्वजनिक खरिद ऐनअनुसार एक व्यक्ति वा संस्थाबाट २० लाख रुपैयाँभन्दा बढीको औषधि खरिद गर्न टेन्डर गरिनुपर्छ। सार्वजनिक खरिद ऐनविपरीत नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेर उनले करोडौंको औषधि बिक्री गरेका हुन्।

मुद्दा कमजोर बनाउन आर्थिक चलखेल
सरकारी छाप तथा दस्तखत किर्तेको मुद्दा लागेपछि फरार बस्नेतले अढाई महिनापछि आफै जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरे। एक सातापहिले उनी धनगढी आएका थिए। मुद्दा कमजोर बनाएर अदालतको सजाय कम बनाउन उनले ठूलो आर्थिक चलखेल सुरु गरेको स्रोतले बताएको छ। सो काण्डमा ७ वर्षसम्म जेल सजाय र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको कानुन व्यवसायी गम्भीर ऐरले बताए।

कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेतले किर्ते भएको पुष्टि भएको सो मुद्दा कमजोर बनाउने वा कम सजाय गराउने कुरामा प्रहरीको कुनै भूमिका नै हुन नसक्ने बताए। ‘करचुक्ता प्रमाणपत्र किर्ते भेट्टिएको छ, सजाय कम गर्ने र खुकुलो पार्ने काम प्रहरीको हातमा कसरी हुन सक्छ ?’ उनले भने।

पुर्पक्षका लागी थुनामा
तीन वर्ष वा त्योभन्दा बढी जेल सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणले दोषी ठह-याए थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने कानुन व्यवसायीले बताएका छन्। ‘तत्काल प्राप्त प्रमाणले दोषी ठहरिने देखिए तीन वर्ष वा त्योभन्दा माथिका मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने गरिन्छ,’ कानुन व्यवसायी ऐरले भने। तर, उनलाई धरौटीमा रिहा गराउने र सजाय कम गराउन मोटो आर्थिक रकम खर्चेर प्रभावमा पार्न प्रयास भइरहेको सोतले बताएको छ।

सुदूरपश्चिमका स्वास्थ्य संस्थामा एकलौटी रजाइँ
दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल सञ्चालक रहेको अमित मेडिसिन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताललगायत विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटी जस्तै औषधि र उपकरण बिक्री गर्दै आएका थिए। साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर उनीहरूले टेन्डर लिने गरेको औषधि व्यवसायी बताउँछन्। किर्ते कागजपत्र पेस गर्ने र बिल मात्र पेस गरेर औषधि कम दिने गरेको अस्पतालका कर्मचारी बताउँछन्। गेटा आँखा अस्पतालमा मात्र नभई अन्य स्वास्थ्य संस्थामा पनि उनीहरूले औषधि बिक्रीमा अनियमितता गरेको र छानबिन नहुँदा बाहिर नआएको स्रोतले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App