७ वैशाख २०८१ शुक्रबार
अर्थ

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

दर्खेखोला जलविद्युत् आयोजनाको अलपत्रमा परेका सामान। तस्बिर : सुमन /नागरिक

मुगु - मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

२०६४ मा छायाँनाथ रारा नगरपालिका वडा नं १४ मा रहेका तीन गाउँका तीन सय घरधुरीलाई भनेर निर्माण गरिएको जिल्ला ऊर्जा शाखाको सहयोगमा निर्माण भएको १९ किलोवाट दरखेखोला लघुजलविद्युत् परियोजनाको काम सकिनै लाग्दा कामप्रति कसैले चासो नराख्दा परियोजना नै अलपत्र अवस्थामा पुगेको हो।

साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गतको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र अनुदान जुटाउनुपर्ने भन्दै उक्त परियोजनाका लागि पहिलो पटक २९ लाख २५ हजारमा सम्झौता गरेको थियो। स्थानीयले उक्त अनुदान रकम जुटाउन नसक्दा जलविद्युत् आयोजना अलपत्र परेको दरखेखोला लघुजलविद्युत् परियोजना उपभोक्ता समितिका अध्यक्ष चंख बढुवालले बताए। पुनः बजेट थप गरी साविकको रुगा गाविस, अन्य सहयोगी संस्था र ऊर्जा शाखाको सहयोगमा ९५ लाख रुपैयाँबराबरको रकम जुटाई काम सुरु गरिए पनि परियोजना निर्माण सफल हुन नसकेको स्थानीयको भनाइ छ।

विद्युत्को काम ९५ प्रतिशत सम्पन्न भइसकेको भए पनि प्राविधिक लापरवाही र परियोजानाप्रति कसैले चासो नदिएकाले काम रोकिन गएको स्थानीय बताउँछन्। ‘मेसिनमा खिया लागेको छ, पावरहाउस जीर्ण बन्दै गएको छ, गाडिएका तार पनि छरपस्ट छन् भने पोल पनि ढलेका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं १४ का वडाध्यक्ष नन्दलाल बढुवालले भने, ‘तरपनि ऊर्जा शाखाले त्यसप्रति चासो देखाएको छैन न त स्थानीयले चासो दिएका छन्। उनका अनुसार वैकल्पिक ऊर्जा कार्यालय काठमाडौंका प्राविधिकले पुनः आएर स्टिमेट गरेका छन्। ‘सम्भवतः काम सुचारु हुने विश्वासमा छौं,’ वडाध्यक्ष बढुवालले भने, ‘१२ वर्षपछि काम सुचारु गर्न आएका हुन् कि आशामात्र दिन आएका हुन त्यो भने चिन्ताको विषय भएको छ।’

बत्ति बाल्न नसके दुई सय किलोवाट बराबरका सोलार वितरण गर्ने आश देखाएर प्राविधिक टोली अनुगमन गरी फिर्ता भएको अध्यक्ष बढुवालको भनाइ छ। बत्ती बाल्ने धोकोका साथ १२ वर्षसम्म बत्तीको पर्खाइमा बसेका छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित तीन गाउँका स्थानीय निराशामा छन्। ऊर्जा शाखाले जनताको आँखामा छारो हालेर विद्युत् दिनुको सट्टा मृत्यु दिइएको स्थानीय बताउँछन्। बत्ती आउला र झुरो बाल्न छुट्ला भनेको त मर्ने बेला भइसक्यो बत्ती पनि नबल्ने भयो,’ छायाँनाथ रारा नगरपालिका वडा नं १४ का ६५ वर्षीय कन्नबिरे बढुवालले भने, ‘अब त बत्ती बल्ला भन्ने आशा पनि हरायो।’ वडा नं १४ का तीन सय घरपरिवारमा बत्ती बाल्ने आशा निराशामा परिणत भएको स्थानीयको भनाइ छ।

बिजुली बाल्न तयार पारिएका तार पोल पनि अलपत्र अवस्थामा छन्। बिजुलीका तार घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन्। स्थानीय सरकार गठनपछि पनी बत्तीको काम सुचारु नभएको र अध्यारोमा बस्न बाध्य भएका स्थानीय सिंहदरबारको अधिकार गाउँमा नआएको आभास गर्न थालेका छन्। चुनावका बेला प्रमुख मुद्दा बनाएका जनप्रनिधिले पनि त्यसप्रति चासो नदेखाएको स्थानीय बताउँछन्। यता छायाँनाथ रारा नगरपालिकाले त्यो बस्तीमा गमगाढ जलविद्युत्को बत्ती विस्तार गर्ने आश्वासन दिएको पनि दुई वर्ष बितिसकेको छ तर काम अहिलेसम्म पनि नभएको वडा नं १४ का वडा सदस्य रत्न बढुवालले बताए।

प्रकाशित: २ फाल्गुन २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App