७ वैशाख २०८१ शुक्रबार
खेल

संयोग र अन्जुलाई स्वर्ण

काठमाडौं – आदर्श विद्या मन्दिर (एभिएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।

प्रतियोगितामा संयोग ब्वाइज तथा अन्जु गर्ल्समा च्याम्पियन बनेका हुन्। नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे। काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिशगोपाल श्रेष्ठ तेस्रो भए।

हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्सको प्रतिस्पर्धात्मक फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन्। प्रिमियरकी यशस्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रूपमा तेस्रो भए।

विजेतालाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्षद्वय युवराज शर्मा र नवराज पाण्डे, आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुई एकल स्पर्धा समावेश टेबल टेनिसको ब्वाइजमा ३५ तथा गर्ल्समा १६ खेलाडी सहभागी थिए।

प्रकाशित: २ फाल्गुन २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App