८ वैशाख २०८१ शनिबार
समाज

दादुरा–रुबेला खोप अभियान सुरु

बुटवल- तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।

अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे। नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुरयाउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन्। यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने तिलोत्तमा नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताए।

तिलोत्तमा ९ हजार ७ सय ६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ। यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइने छ। नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भएको हो।

बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ। नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन्। ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सो अभियान सञ्चालन गर्न लागेको हो।

 

प्रकाशित: १ फाल्गुन २०७६ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App