४ वैशाख २०८१ मंगलबार
समाज

आइजिपी भन्छन् : संगठन बलियो बनाउँछु

फाइल तस्बिर

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले कार्यभार सम्हालेको पहिलो दिन उपत्यकाका विभिन्न विभागका कार्यरत इन्चार्जसँग सुरक्षा र प्रहरी परिचालनका विषयमा छलफल गरेका छन्। ज्ञवालीले प्रहरी समायोजनको विषयलाई छिटो टुंगो लगाउनुपर्नुे छलफलका क्रममा बताएका थिए। संघीय ढाँचाअनुसार प्रहरी वर्गीकरणमा समस्या देखिएकोले आफूले यसलाई छिटो व्यवस्थापन गर्ने बताए।

उनले प्रहरी संगठन र सुरक्षा अवस्था बलियो बनाउने योजनासहित काम गर्न इन्चार्जलाई सुझाव पनि दिएका थिए। ‘पहिलो दिन उहाँले उपत्यकाका केही विभागका प्रहरी इन्चार्जसँग छलफल गर्नुभयो, विषेशत प्रदेश प्रहरी समायोजनको विषयमा छलफल भएको थियो,’ प्रवक्ता शैलेश थापाले भने, ‘समस्या र चुनौतीका विषयमा पनि केहीबेर छलफल भएको थियो।’ उनका अनुसार छलफलका क्रममा इन्जार्चहरूले विगतमा भएका कमीकमजोरी र त्यसलाई सुधार गर्न आवश्यक रहेको तर्क राखेका थिए। आइजिपी ज्ञवालीले प्रहरी संगठनलाई मजबुद र पारदर्शी बनाउन सबैसँग आग्रह गरेका थिए।

कर्मचारीसँग छलफल हुनुअघि उनलाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्जयानी चिह्न प्रदान गरिएको थियो। गृह मन्त्रालयमा बुधबार आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिन्ह लगाइदिएका थिए। कार्यक्रममा गृहसचिव न्यौपानेले महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना व्यक्त गरे। उनले प्रहरी संगठनलाई उच्च मनोबलयुक्त र सक्षम बनाउन आग्रह पनि गरे। उनले नेपाल प्रहरीका सबै सबै तहका प्रहरी कर्मचारीहरूलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेकोले त्यसतर्फ दत्तचित हुन आग्रह गरे।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरू, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो। दज्र्यानी चिह्न ग्रहण गरेलगत्तै आइजिपी ज्ञवालीले बुधबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App