coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मेरो जिन्दगीको अमिताभ

चन्द्र घिमिरे

काठमाडौँमा टुंगियो एउटा सरकारी व्यापारवार्ता। नेपाल–भारतबीचको थकाउने वार्ता। नेपाली पक्षबाट भाग लिन म बाबु मोसायहरूको कोलकाताबाट काठमाडौँ उत्रिएको थिएँ। अंगे्रजी साल २०१४ निखि्रएर डिसेम्बरको डिलैमा पुगेपछि काठमाडौँसँग चिसिनुको विकल्प थिएन। उसको ह•ीले पनि सिउसिउ गर्दै पक्कै सिरक खोज्दै थियोे। वार्ता तुरिएपछि मलाई कोलकाता हुर्रिनुपर्ने भयो। र पनि 'सुरेनदर'लाई हेर्न भ्याएको थिइनँ। ऊ भएतिर मुसोझैँ दगुरेँ। ऊ थियो एउटा नर्सिङ होमको २२६ नम्बर वार्डमा। खासमा त्यहाँ थुप्रै मान्छे मरिरहेका थिए। किनकिन मलाई धेरैजसो नर्सिङ होम जीवनखानाभन्दा मृत्युखाना लाग्छ। जहाँ हर दिन–हररात मृत्यु किन्ने लामो लाइन बस्छ। तर, पालो आउँदा जीवन मिल्दैन। त्यति गरिकन म सुरेन्दरकहाँ धाएको व्यर्थ भो। ऊबाट नचिनिने लिस्टमा म पनि परेँ। दुवालीमा फसेको माछोजस्तो। अरु पनि थिए त्यहाँ। आफूलाई चिनाउन ऊर्जा खर्चिरहेका र लगालगी फेल भइरहेका।

कोलकातामा खबर आयो। ऊ अब रहेन। मेरो संस्मरण एकाएक एउटा औसत मान्छेको 'ओबिच्युअरी' बन्यो। मेरो दोस्त सुरेन्दर मसँग नबोली हिँड्यो। मलाई नचिनी गयो। यत्ति मेरो गुनासो बाँकी रह्यो। मैले अझै पनि पुरानो हिन्दी सिनेमा 'शोले' को चर्चित 'ये दोस्ती हम नहीँ तोडेंगे...' बोलको गीत एक्लै गुनगुनाउन छोडेको छैन।

झण्डै चार दशक पुरानो तस्बिर पिर्लिक्क पल्टिन्छ। वार्ड नं. २२६ मा यतिखेर पल्टिरहेको त्यही सुरेनदर तीसको दशकको एकदिन मेरो सहपाठी हुन आइपुगेको थियो। धरानतिरका मेरा थुप्रै दौँतरीका बाजे पढेको विद्यालयमा! पूर्वी नेपालकै ज्येष्ठ विद्यालय पब्लिक हाइस्कुलमा। धरान चतरालाइनमा अहिले अरिस्टोटलझैँ सुस्ताएको छ त्यो स्कूल! त्यो विद्यालयमा नीलो हाफपाइन्टमा लम्बा तिघ्रासहित उभिने त्यो मारवाडी केटो अहिले बाँच्न भिडिरहेको छ। जसलाई 'सुरेन्द्र माडे' भन्न सिकाए मलाई पनि दौँतरी साथीभाइले। यो जातिवादी अपमान रहेछ भन्ने बु‰न मैले अरु केही वर्ष कुर्नुपर्‍यो। कसैलाई काँठा, कसैलाई बाँडा, कसैलाई माडे, कसैलाई किरुवा भन्ने कुसंस्कार व्याप्त थियो।

विगतको अर्को तस्बिर आँखामा आउँछ। जहाँ देखिन्छ, पब्लिक स्कुलको कक्षामा हाजिरी गराइरहेको दृश्य। क्लासमास्टर शोभाकान्त झा। ती शोभाकान्त सरको खाँटी नाम पनि मेरो जानकारीमा आउन वर्षौं लाग्यो। धेरैले भनेझैँ म पनि 'लंगडे सर' नै भन्ने गल्ती पछ्याउँथेँ। उनीसँग खोच्याउने एउटा खुट्टो थियो। फरक सामर्थ्यका धनी ती सर लास्टै छुच्चा थिए। उनले कुटेको हिसाप राख्न चार्टर्ड एकाउन्टेन्ट नै राख्ने औकात चाहिन्थ्यो।

त्यतिबेला पूर्णिया सहर्सातिरबाट आएका सरहरू गनिसाध्य थिएन। उनीहरूको बिहारी लवज हुने। त्यसमा हामी अनेकौँको नाउँ हेराफेरीमा पर्ने। 'सुरेन्द्र अग्रवाल' हाजिरी गराउँदा 'सुरेनदर अगरवाल' भइहाल्थ्यो। त्यसमा पनि शोभाकान्त सरबाट साइलेन्सर बिग्रेको स्कुटरसँग मिल्दोजुल्दो भाका सुनिन्थ्यो। 'सुरेनदर अगरवाल'बाट प्रत्युत्तरमा ओसिएको आवाजमा 'एस सर' फर्किन्थ्यो। साइकोलोजी नपढेको कसैले पनि सुरेन्द्र डराएको आवाजबाटै ठम्याउँथ्यो। सायद ऊ त्यतिखेर नियन्त्रण गुमाएर कट्टु भिजाइरहेको हुन्थ्यो। त्यतिखेरै हाम्रो पालो ड्यामफुुटेजस्तो गललल हाँसिदिन्थ्यौँ। उसको नाकको प्वाल रिसले फुल्थ्यो। त्यति नै बेला चलमचिल्लो तेल टल्कने कपालबाट तोरीको तेल उसको निधारको बलेँसीबाट चुहिन्थ्यो। यो सब देख्दा म आमालाई सम्झन्थेँ।आमाको निधार अभागी भए पनि तोरीको तेल घस्ने मामिलामा आमाको कपाल उपद्रो भाग्यमानी थियो।

पुनः म विगतमाथि प्याराग्लाइडिङ गर्दै नर्सिङ होमको वार्ड नं.२२६ मा ओर्लिएँ। उसकी काकी, भिनाजु र छोरो सौरभ सिरानीमा धर्नामा थिए। मलाई चिनाउन एउटाले मारवाडी–नेपाली लवजमा फेरि लय हाल्यो। 'तिमरो बेस फिरेन आको छ। तिम्लाई हेर्न। चन्दरकुमार... कलकत्ताबाट।' खुद मेरो नाम पनि त्यहाँनेर हेराफेरीमा पर्‍यो।

बोलाउने सबै प्रयास नपड्केको गोलीझैँ खेर गए। उसको आँखा उघ्रेको छ। प्रतिक्रिया नजनाउने पहाडजस्तो जिउ लमतन्न छ। खडा भीडबाट मैले नजिकैको स्टिले टुल्समा मेरो बेसक्याम्प सारेँ। ऊसँगको भौतिक दूरी घटाउन। उसको हत्केला मेरा हत्केलामा राखेँ। सुमसुमाएँ। औँला तन्काइदिएँ। सुन्निएर गिलो भाको रहेछ। औँलाले थिच्दा हत्केलामा निकैबेर खोपिल्टा परे।

बिरामी हेर्ने भीडबाट मैले विगतलाई सम्भि्कएँ। बाल्यकालतिर पसेँ। उसैको घर पछिल्तिर उभिएको इमलीको रुखमा पुगेछु। वर्षौंअघि त्यही रुखमुनि त हो उसको हत्केलाबाट इमली खोसेर गुरुरुरु म उत्पीडक भागेको। 'मेरो इमली' भन्दै रुँदै मेरो पछि ऊ उत्पीडित दौडेको। लखेटे पनि उसले भेट्न सके पो! धन्न सँगै पढ्ने फटाहा–द–ग्रेट गोविन्देलेझैँ बरबर्ती आमाचकारी गाली कहिल्यै ठोकेन। गोविन्देलेझैँ 'पख तैँले भेट्छस' भन्दै गोद्ने मुड्की पनि कहिल्यै उज्जाएन। बाटो ढुकेर नाथ्री फुट्नेगरी कहिल्यै कुटेन।

उमेर हाम्रो पनि बढ्यो। हामी पनि हुर्कियौँ। कक्षा हाम्रो पनि उक्लियो। एसएलसीको नाम गुरुहरूले दोहोर्‍याइ–तेहर्‍याइ काढ्न थाले। सातो झिक्न थाले। कक्षा सातमा आइपुग्दा सातो उडिसकेको थियो। अंग्रेजी पढाउने रेवती झा सरले एसएलसीको नाम लिँदा हाम्रो हंसले कट्टुमै तुरुक्क सु छोड्लाजस्तो गर्ने। कक्षाकोठाबाट निक्लेपछि अझै तीन वर्ष छ भन्दै फन्टुस बन्न छोडेनौँ। खेल्न–घुम्न छाडेर यत्रैसिति को पढोस्!

एसएलसी नजिकिँदै आएपछि नभएको टुप्पी कसेर पढ्ने त्यो दिन पनि आयो। सुण्ड–मुुुसुण्डजस्ता साथीहरू झुण्ड–झुण्डमा बाँडिए। चुनाव नजिकिँदा नयाँनयाँ दल देखा परेजस्तो पढ्ने गुट–उपगुट बढ्दै गयो। पास हुन कोबाट के सिक्ने भन्दा पनि के चोर्ने खोजी हुन थाल्यो। सुरेन्द्रबाट चोर्नुपर्ने हिसाप ठहरियो। म उसैको गुटमा भएकोले सहजता थियो। मलाई ऊ ज्यामिति सिकाउँथ्यो। म उसलाई फाइँफुइँ गर्दै टेन्स सिकाउँथेँ। धराने केटीहरू पढ्ने बालिका हाइस्कुलका छविलाल खनाल ट्युसन गुरु थिए। एकदिन बेलुका अंग्रेजी ट्युसन पढाउँदापढाउँदै मलाई गुरुले 'टेन्स मास्टर'नाम राखिदिए। त्यसपछि धेरैले मलाई 'टेन्स बुझाइदे भन्थे। आफैले बुझेको भए मरिजानु! तर पनि यो पगरी गुथेर फाइदा मैले उठाइरहेँ।

विगतबाट वार्ड नं. २२६ मा फर्किएँ र फेरि अन्तिम जमर्काे गरेँ। मानौँ म सधैँ ब्याक लगाउने विद्यार्थी हुँ। कानैमा पुगेर मेरो परिचय दोहोर्‍याएँ–तेहेर्‍याएँ।

– 'म चन्द्र! कलकत्ताबाट तिम्लाई हेर्न आको।'

उसले पिर्लिक्क पल्टेको आँखा फाल्यो। आँखाले बोलेबोलेजस्तो गर्‍यो। असीम पीडामा डुबेको मान्छेजस्तो गर्‍यो। पीडा व्यक्त गर्ने सरल भाषा आँखासँग हुन्छ। मृत्युमा पुगेर पीडा टुंगिन्छ क्यार! तत्क्षण मैले पनि एकदिन भोग्नुपर्ने मृत्युको कल्पना गरेँ। मेरो मृत्युलाई कल्पेँ र आनन्दित भएँ। रोमान्चित भएँ। मैले पनि मर्नुछ मानौँ म बाँचेको तदर्थ हो। नबाँची कहाँ मरिन्छ र!

उदास रेखा भाउजुलाई मन बाँध्न मेरी पत्नी सरिता सम्झाउँदै थिई। भाउजु भन्दै गइन्। मेदान्त अस्पताल दिल्लीका डाक्टरले घर जानु भन्दिए। उपचारले धानेन। ट्युमर फेरि पलायो। थप्न अझै केमो इन्जेक्सन देखाए। तर आशा देखाएनन्। खुइइय गर्दै उसले उत्निखेरै भनेछ– 'रेखा, म थाकेँ...अब अरु सहन्नँ।' अरु केमो नलिने बतायो।

सुरेन्द्र कुनै महान् आदमी थिएन। ऊ आमआदमी उर्फ 'मंेगोपीपल' को एउटा हुलिया थियो। एसएलसी र आईएस्सीमा आर्जेका उसका लोभ लाग्दा मार्कसिटहरू चोरुँचोरुँ लाग्ने थिए। त्यो बोकेर ऊ सरकारी प्लानको इन्जिनियरिङ छात्रवृत्ति खोज्दै थियो। आईएस्सीमा निकै राम्रो अंक ल्याएको उसका लागि त्यो भीरको मह थिएन।

यसैबीच कवाडीको व्यापार गर्ने उसको बाउ माल लिन कतै टाढा गएको थियो। आउँदा अचानक बाउलाई माल बोकेकै ट्रकमा 'हर्ट एटेक' भएछ। ट्रकभरि कवाडी माल लिएर बाउको लास घर फर्किएको थियो। त्यही घडी म सुरेन्द्रकहाँ सधैझैँ गफ हाँक्न पुगेको थिएँ। रुवाबासी फैलिएको देखेर म आत्तिएँ। किंकर्तव्यविमुढ भएँ।। त्यतिकै घर फकेँ।

बाउ एकाएक खस्दिनाले सुरेन्द्रको हिँड्ने बाटोमा क्रमभंग भयो। गन्तव्य फेरियो। पढ्ने इन्जिनियर हुने मनोकांक्षाको ढाकर उसले त्यहीँ फाल्यो। बाउको कवाडी फलाम पसलमा पस्यो। कवाड फलाम बेच्न बस्यो।

मेरा सुरुसुरुका दिनका कविताहरूको धुलो बेस्मारी खाने ऊ पनि थियो। बुझे–नबुझे पनि फास्टफुडजस्तो समीक्षक ऊ पनि हुन्थ्यो। ऊ मजस्तो रिकुटे कविका लागि सहज सिकार थियो। एक दिन उलटफेर भयो। सधैँको दिनचर्याझैँ अपराह्नतिर उसको पसलमा टहलिन पुगेको थिएँ। उसले गद्दीमा पलेँटी कसेको थियो। फुत्त एउटा कागजको कुड्को निकाल्यो। आज म कविता सुनाउँछु भन्यो। र, एकै सासमा उसले कविता सुनाइ भ्यायो। एकाएक रोल उल्टा भएको पहिले त पत्याउन सकिनँ। ऊ कहिले 'इश्क' कवि भइसकेछ। छुपेरुस्तम निक्लियो! र, कवाडी पसलमा कवि जन्मियो।

कवि र आशिक दुवै भूमिका उसले खेल्न थालेछ। तर, लाटो प्रेममा परेछ। मैले जानेसम्म गोटा दुएकसँग। एउटी त निकै तगडा केटी थिई। हामीलाई पानी पिलाउँथी कवितादेखि हाजिरीजवाफसम्म। वक्तव्यकलादेखि पढाइसम्म। धन्न अर्कै स्कुलमा पढ्थी र हाम्रो खुद्रे साख कवाडी बनिसकेको थिएन। त्यो केटीले उसलाई ढिम्कन दिएजस्तो मरिजानु मलाई कहिल्यै लागेन! खरो भाषामा, 'इमोसनल बलात्कार'खुब गरी उसको।

दोस्री थिई, एक कातिल कवयित्री। कवयित्री लेख्थी, पढ्थी खाली मोहब्बतका कविता। त्यसका कविता पढेर–सुनेर सहरमा को आशिक हुनबाट बच्यो होला र! त्यो भीडको पुछारमा उसले पनि नाम लेखायो। गाँठी कुरो बु‰न धेरै दिन लागेन मलाई। उसलाई कविको खास्टो ओढाउने त्यही कवयित्री परिछे। यो केसमा त्यसले पनि बिस्तारै उसलाई लिफ्ट दिएको लाग्न थाल्यो मलाई। हामीमाझ त्यो अन्तरजातीय गठबन्धन निकै चटपटे गफ बन्यो। साथीभाइबीच उसको प्रहसन निकै चलायौँ। त्यो प्रेम र उसका कविताहरू सबै अल्पायुका परेछन्। एकाएक दुर्घटनामा परेजस्तो कवितामा ब्रेक लाग्यो। र, हामीले उसको मोहब्बत त्यहीँनेर टुँगिएको ठान्यौँ।

एकफेर काठमाडौँबाट धरान पुग्दा अर्कैथोक देखेँ। छोकराले विराटनगरपूर्व रंगेलीतिर बिहे गरेछ। अल्गी सुरिली रेखा भाउजुसँग। भाउजु रहिछन् औसत मारवाडी छन्दकी। सोही छन्दमा चिया, बुनियाँ र भुजिया पस्कँदै थिइन् हाम्लाई। रामदेव गुरुको शैलीमा सुरेन्द्रले उपदेश खोल्यो– 'चन्द्र...बिहे गरेर हेर! जिन्दगीको चार्म देख्छौ...कति पढ्छौ मात्र?' मसँग त्यतिखेर यस्तो उमेर थियो कि बिहेको प्रसंग आउँदा त्यो रोमान्चित हुन्थ्यो। तर डराउँथ्यो, निर्णय गर्न सक्दैनथ्यो। मेरो हैसियत काठमाडौँको एउटा मैलो डेरावालको थियो। 'डन्ट टच मी ओ कविताहरू' भर्खर लेखेको रिट्ठेकविको थियो। तीन–चार जनाले एउटै कोठामा खाँदिएर गुजारा चलाउनुपर्थ्यो। अर्को विपरीत लिंगी जीव त्यहाँ मिसाउनु कोठामा हात्ती अटाउनु बराबर हुन्थ्यो।

वर्षौंअघिको एक रिमझिम रात सम्भि्कँदैछु। पन्ध्र–सोह्रको अल्लारे उमेरमा ऊ र म घुम्न त्यो दिन धनकुटातिर चल्यौँ। साथीभाइलाई हल्ला नगरी लुसुक्क धरान छोड्यौँ। धरान–धनकुटा राजमार्ग बन्दै थियो। कमिलाजस्तै मजदुरहरू ठाउँठाउँ खन्दै थिए। फोड्नेहरू ठाउँठाउँ पहरो फोड्दै थिए। नून–चामल र तेल बोकेको एउटा चिप्लेकीरोजस्तो ट्रकको हुडमा हामी दुई भाइ चढ्यौँ। हावाको बौलाहा झोँका सहँँदै त्यो साँझ हामी पुग्यौँ तमोर नदीछेउ। त्यो थियो मूलघाट पुलबाट अलि वर भर्खर बामे सर्दै गरेको बस्ती लाबरबोटे।

त्यो लाबरबोटे नून, तेल र कपडाको गन्धे पसलहरू लिएर बसेको थियो। बेलुका झमक्क भएकोले ‰याल–ढोका लाउँदै थिए। पैसा हुनेले दिनको कमाइ गन्दै थिए। कुखुरा चौपाया हुनेले गोठ–खोर थुन्दै थिए। त्यसबेला धरान–धनकुटा सडक बन्दै गएसँगै अनौठो बसाइसराइ चलनचल्तीमा देखियो। धरानमा भएका त्यस्ता पसल र पसलेहरू बाटैबाटो उँभो पहाड धनकुटातिर बसाइ सर्दै थिए। गाउँका मान्छे भने पहाडबाट उँधो तराईतिर भाग्दै थिए। कवि मीनबहादुर विष्टले 'साला पहाडमा क्या है?' भनेझैँ।

लाबरबोटे पुग्दा धरानदेखि धनकुटासम्मको धुलो हामीमाथि छपक्कै थियो। सुरेन्द्र र मैले एकार्र्कालाई धूलो झारेर ठम्यायौँ। ट्रक स्टाफहरू लाबरबोटेमै बस्ने भएछन्। भोलि नभई धनकुटा नपुर्‍याउने भए। सामानको कार्टुनसँग सित्तै यात्रा गरेको गाडी थियो। धेरै गुनासो गरे अरु अभरमा पर्थ्यौं। क्याङक्याङ नगरी ओर्लियौँ।

नजिकैको छाप्रोतिर पस्दा हाम्रो ड्राइभर रोमान्टिक देखियो। त्यो छाप्रो सधैँ विश्राम गर्ने गरेको सोल्टिनीको थियो क्यार! हामी दुई लड्काले हाइवेमा जिउ तन्कायौँ। 'हाइवे नाइट'बिताउनु थियो। पसलेले दिनभरी नून र मालमत्ता बेच्ने गुल्जार काठेखाट साँझपख एक्लो देख्यौँ। खाटलाई पनि दोस्त चाहिएजस्तो हामीले त्योमाथि ज्यान छाड्यौँ। ओछ्यान न सोछ्यान! लेउती सुसाउँदै थियो छेवैमा। बन्दै गरेको हाइवेमुनि। बस्तीको कल्याङमल्याङ क्रमशः सुस्ताउँदै गयो। आकाशभरि जूनताराको चकचकी बढ्यो। कुनै कुनै ताराले काम केही नपाएर हामी सडकछापकै चियो गरेजस्तो लाग्यो।

'दिसा गर्न उठ, खोलातिर जा!' भन्दै सुरेन्द्रले मलाई घँचेट्दा म लठ्ठकचाहिँ हम्मेसी नदेखिने एउटा दुर्लभ सपनामा लठ्ठ थिएँ। कहिल्यै बातचित गर्न आँट नजुटेको केटी साथीसँग म नजिकिँदै थिएँ। मलाई त्यसरी उठाउने त्यो सुरेन्द्र अहिले बिस्तारामा छ। उसलाई बिउँझाउने ताकत ममा भएन!

धनकुटामा हिप्पीझैँ हामी लठारिँदै थियौँ धरान छोडेको भोलिपल्ट। धनकुटे बजारको माथ्लो र तल्लो कोप्चेबीच। तल्लो कोप्चेतिर झर्दै गर्दा एउटी बालाले दिल हरिन्, हामी दुवै उरेन्ठेउलाको। पर्दैनपरेको लभमा हामी प्रतिस्पर्धा गर्न लाग्यौँ। उसले कुर्तासुरुवाल लाएकी थिई। ती धनकुटेली नानी टुँडिखेलतिर लम्किन्। हाम्रो गन्तव्य उसैतिर सर्‍यो। नानी जता लाग्थिन्, त्यतै हाम्रो बाटो मोडिने लाबरजस्तो भो। 'अब चाइँ धुलाइ खाइन्छ होला!' सुरेन्द्रले करिब ४५ मिनेटपछि सतर्क गरायो। त्यतिन्जेलसम्म हामीलाई केही बटुवा घुर्दै हेर्न थालिसकेका थिए। एउटा जण्डुले टोकरै मारुँला जस्तोगरी हेरेपछि हामीले पछ्याउन छोड्यौँ। त्यो दिन आइसकेको विपद्बाट बच्यौँ।

कलेज जीवनमा म पढिखान काठमाडौँ खाल्डो पसेको निकै सालपछि ऊ पनि गरिखान त्यतै छिर्‍यो। धेरै नेपाली युवाको भाग्यको महालेखा परीक्षकजस्तो काठमाडौँ सहरमा। उसले गर्ने त व्यापारै थियो। काठमाडौँमा पसल खोल्न सटर खोज्दै उसलाई सघाउन म पनि हिँडेको अस्तिजस्तो लाग्छ। महाराजगन्जदेखि बालाजुसम्म धेरैचोटी ओहोरदोहोर गरियो। आखिर एकदिन हामीलाई उसले डाक्यो। बालाजुको एकछेउ आफ्नो पसल शुभारम्भ गर्ने साइतमा।

वर्ष २०१२ जनवरीमा मेरो जागिर सरेर चार वर्षलाई कलकत्ता पुग्यो। काठमाडौँ छाड्नुअघि एकरात ११ बजेतिर फोन अनौठो गरी बज्यो। अचानक सिकिस्त भएर सुरेन्द्रलाई दौडाएर ल्याइएको रहेछ। नर्भिक अस्पताल थापाथलीमा। हामी जोइपोइ दौडँदै त्यहाँ पुग्दा उसलाई भोलिपल्टै दिल्ली लैजाने तम्तयारी हुँदैरहेछ। चिकित्सक मित्र डा. भगवान कोइरालासँग त्यहीँ मैले छोटो सल्लाह लिन भ्याएँ। ब्रेनट्युमरको केस रहेछ। थरथर कापेँ एकछिन।

मेदान्तमा अपरेसन र केमो सकेर फर्किएको थियो ऊ कुनै एकदिन। म पनि कलकत्ताबाट काठमाडौँ आइपुगेको थिएँ। उसलाई हेर्न हामी बूढाबूढी सोहोरिएर उसको घर पुगेका थियौँ। ऊसँग बोल्दाबोल्दै म रसाएँछु। चस्मा खोल्नैपर्‍यो, आँखा–गाला सबै भिजाएका आँसु पुछ्न। मुटु भिजाएको पुछ्न सकिनँ।

सम्भि्करहेछु, बिरामी पर्नुअघि ऊ मकहाँ आउँथ्यो हाँपझाँप गर्दै। प्रायःजसो आइतबारको बिदा पारेर, रेखा भाउजु पनि लिएर। पूरा मूडमा हुन्थ्यो। मान्छे शुद्ध भेज थियो। तर पनि भाउजुहरूको आँखा छलेर हामी ननभेज गफ पनि गर्थ्यौं। मेरो घरमा उसलाई पहाडेको मेनुबाट मन पर्थ्यो लसुनपत्ता र काँचो तोरीको तेल हालेर साँधेको भटमास।

–'सरिता भौजु, साँदेको भोट्मास बनाइदिनु न!' दंगाइदंगाइ खान्थ्यो। 'जाँड पनि खाने?' जिस्काउँथे म। 'हैट!' भन्थ्यो ऊ।

सफा व्यापार गर्न खोज्दा उसले कैयौँपल्ट घुस खुवाउन परेको बेलिबिस्तार लगाउँथ्यो। एक न एक बिंगा लाएर राजस्व उठाउने हाम्रा सरकारी गणले आफ्नो भाग उठाएको दुखेसो सुनाउँथ्यो। सुनेर पनि मैले उसलाई घुस्याहाबाट बचाउन सकिनँ। असल भएर जिउन नदिने घुसखोरी संरचना हामीले जोगाएका छौँ वरिपरि! नैतिकशिक्षा पाठ्यक्रम र परीक्षामा केवल केटाकेटीका लागि छुट्याएजस्तो!

अस्पतालमा उसको बसाइ लम्बिँदै गयो। टाउकोभित्र फैलिएको ट्युमरको गुजुल्टोले सायद उसको जिउने कलपूर्जा भत्काइरहेथ्यो। हामीले बाँचेको समयले पनि खातमाथि खात ट्युमर बोकेको छ। आफ्नै समाजलाई हामीजस्ता ट्युमरले सेबोटेज गर्दैछौँ। राजनीतिक ट्युमर, प्रशासनिक ट्युमर, खरिदबिक्री भएका बौद्धिक ट्युमर, जातीय घृणाको ट्युमर, वैदेशिक सहयोगको ट्युमर र बग्रेल्ती ट्युमरहरूले सुन्निएका छौँ। नपत्याए हरदिन छापिने खबरकागज भरिएका छन् ट्युमर भरिएका समाचारहरुले। उपचार कल्ले गर्ला? कहिले गर्ला?

यो पनि,

यो संस्मरण नटुंगिदै फोनबाट कोलकातामा खबर आयो। ऊ अब रहेन। मेरो संस्मरण एकाएक एउटा औसत मान्छेको 'ओबिच्युअरी' बन्यो। मेरो दोस्त सुरेन्दर मसँग नबोली हिँड्यो। मलाई नचिनी गयो। यत्ति मेरो गुनासो बाँकी रह्यो। मैले अझै पनि पुरानो हिन्दी सिनेमा 'शोले' को चर्चित 'ये दोस्ती हम नहीँ तोडेंगे...' बोलको गीत एक्लै गुनगुनाउन छोडेको छैन। तथापि मेरो जीन्दगीको 'अमिताभ बच्चन' अब छैन।

प्रकाशित: १६ पुस २०७३ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App