८ वैशाख २०८१ शनिबार
अर्थ

आइसिपीपूर्ण क्षमतामा चलाउने तयारी

वीरगन्जको अलौं सिर्सियास्थित आइसिपी नाका। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज नाकाको सबै कार्गो सिर्सियास्थित एकीकृत जाँचचौकी(आइसिपी) को बाटो रक्सोल आवागमन गराउने तयारी भइरहेको छ। भारतबाट र भारत भएर हुने तेस्रो मुलुकसँगको नेपालको व्यापार सहज, व्यवस्थित र आधुनिक बनाउन सीमामा दुवैतर्फ एकसाथ छाया संरचनामा बनेको प्रांगण आइसिपी हो।

प्रधानमन्त्री केपीशर्मा ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब २२ महिनाअघि २०७४ चैत २४ गते दिल्लीबाट अनलाइनबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए। अहिलेसम्म आइसिपीको पूर्ण रुपमा प्रयोग नभई औसत ६० प्रतिशत मात्र कार्गो त्यहाँबाट आउजाउ हुन पाएको छ। आइसिपीलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन भारततिर थप सम्पर्कबाटो निर्माण गर्न लागिएको छ। फागुनपछि सम्पूर्ण कार्गो आवागमनका लागि आइसिपी प्रयोगमा ल्याउने भारतीय पक्षको तयारी छ।

नेपाली पक्षपनि यस विषयमा सकारात्मक छ। तर यात्रु आवागमन गराउनेतर्फ दुवैतर्फ कुनै चासो र तयारी भएको छैन। आइसिपीको अवधारणा अनुसार यात्रुबाहक सवारीसमेत आवागमन आइसिपी हुँदै सञ्चालन नभएसम्म पूर्ण क्षमतामा सञ्चालन भएको भने नमानिने स्थानीय सरोकारवाला बताउँछन्। कार्गोको मात्र कुरा गर्दा वीरगन्ज भन्सार कार्यालय अहिले साबिकको इनर्वा नाका र आइसिपी दुवैतिरबाट सञ्चालन हुने गरेको छ। कार्यालयका प्रवक्ता बिमलकुमार साहका अनुसार साबिक नाकातिर भएर अहिले करिब ४० प्रतिशत कार्गो आउने गरेको छ। ‘करिब ६० प्रतिशत कार्गो आइसिपी भएरै जान्छ,’ उनले भने, ‘अझ बढ्दो क्रममा पनि छ आइसिपीतिरको कार्गो।

गत मंसिरमा भारतीय पक्षले आइसिपीतिर सबै कार्गो ल्याउन बैठक गरेका थिए। सीमावर्ती रक्सोलस्थित भारतीय भन्सारका उप–आयुक्त आशुतोषकुमार सिंहको कार्यकक्षमा बसेको बैठकमा भारतीय अधिकारीहरुले आइसिपी सम्पर्क मार्गको अभावमा साबिक नाकाबाट आइसिपीतिर कार्गो डाइभर्टनभएको निष्कर्ष निकाले।
सीमास्थित इन्डियन आयल कर्पोरेसनबाट निस्किने इन्धनका ट्यांकर र मालबाहक रेलमा रक्सोल रेलयार्डबाट नेपालका लागि आउने मालसामान साबिकै नाकाबाट भित्रिन्छ। त्यस्तै रक्सोलमा रहेका दुईदर्जन भन्दा बढी ट्रान्सपोर्ट कम्पनीले साबिकको नाका नजिक आफ्नो गोदाम र कार्यालय राखेकाले उनीहरुले पठाउने मालसामान पनि साबिक नाकाबाटै भित्रिन्छ।

साबिक रक्सोल नाकालाई आइसिपीसँग जोड्ने करिब पौने एककिलोमिटर साँघुरो र जर्जर सडकलाई स्तरोन्नति गरी फराकिलो र बलियो बनाउन लागिएको छ। यसको भौतिक प्रगति ८० प्रतिशत पुगिसकेको बुझिएको छ। आइसिपी जोड्ने करिब पौने एक किलोमिटर साँघुरो र जर्जर सडकलाई स्तरोन्नति गरी फराकिलो र बलियो बनाउन लागिएको छ। रक्सोल वीरगन्ज नाकाको कुल आयातको करिब ४० प्रतिशत जति हुने साबिक नाका भएर भित्रिरहेको कार्गोलाई अहिले उपलब्ध सडक मार्गबाट आइसिपीतिर डाइभर्ट गर्नरेल्वे ब्यारियर (फाटक) र रक्सोल बजार पार गराउँदै भारततिर करिब ६ किलोमिटर लग्दै हर्दियाबाट पुनःबाइपास सडकमा यु–टर्न गरी त्यहाँबाट सात किलोमिटर पर्ने आइसिपी पुग्नुपर्ने हुन्छ। तर यो रुट सम्भव नभएको सरोकारवालाको बुझाइ छ।

त्यसकारण छोटो दुरी (करिब सात सय ५० मिटर)को एउटा सडक खण्ड प्रयोगमा ल्याउने तयारी भइरहेको हो। आइसिपी पहुँच सडकको रुपमा यसलाई प्रयोग गर्न सके पुरानो नाकाको बाँकी कार्गोलाई आइसिपीमा सार्न समस्या हुँदैन। भारतको आफ्नो सुरक्षा चासोले गर्दा पनि भारतीय पक्ष नेपाली व्यापारमा साबिक नाकामा रहेको अस्तव्यस्त अवस्था समाप्त गर्न आइसिपीबाट व्यापारको एकद्वारीकरण गर्न चाहेको विश्लेषण गरिएको छ। यता नेपाललाई पनि राजस्व संकलन र चुहावट नियन्त्रणको दृष्टिकोणले यो कदम महत्वपूर्ण मानिएको छ। ‘औपचारिक रुपमा आइसिपीतिर सबै कार्गो लैजाने तयारीबारे जानकारी आएको छैन,’वीरगन्ज भन्सारका प्रवक्ता साहले नागरिकलाई भने, ‘औपचारिक स्रोतबाट हामीले पनि यी जानकारी पाएका हौं, सडक बनाउन लागिएको कुरा पनि थाहाहुन आएको छ।’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुन्डीप्रसाद निरौला यसलाई सकारात्मक रुपमा लिएको बताउँछन्।

प्रकाशित: २९ माघ २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App