८ वैशाख २०८१ शनिबार
अन्य

फ्लान्दर्सको मैदानमा

कृष्ण बजगाईं

मेनिनगेटले झण्डै रुवायो। गेटको भित्तामा कँुदिएका वीरगति प्राप्त नेपालीको नाम पढ्दापढ्दै रोकिएँ। आँखा रसाए। विदेशको लामो बसाइमा मेरो मन साह्रै पिन्चे र कमजोर बनेको कुरा पहिलो पटक थाहा पाएँ। गुरुङ, राना, थापा, पुन, बूढा, आले, बुढाथोकी आदि थरका सिपाहीको नाम, दर्जा र पल्टन मेनिनगेटको भित्तामा अग्रपंक्तिमा कुँदिएको थियो। त्यहाँ कुँदिएका ५४ हजार सैनिकको नाममध्ये नेपालीको नाम अग्रपंक्तिमा हुनुलाई खै कसरी गर्वको विषय मान्नु? त्यो त त्रासदीपूर्ण इतिहासको एउटा सानो झलकमात्र थियो। प्रथम विश्वयुद्धको वीभत्सकारी इतिहास सम्झेर ल्याउँदा मन गह्रुँगो भयो। दुःखी मनले ती बहादुर नेपालीलाई शीर झुकाएर श्रद्धासुमन अर्पण गरेँ।

बेल्जियमको इपर सहरमा अवस्थित मेनिनगेट प्रथम विश्वयुद्धमा वीरगति प्राप्त सैनिकहरूको स्मृतिमा बनाइएको रहेछ। त्यसको बनोट आकर्षक देखिए पनि सायद प्रथम विश्वयुद्धको पीडाले होला उदास देखिन्थ्यो। शव वा शवको अवशेष पहिचान हुन नसकेका बेलायत तथा उसको गठबन्धन देशका सिपाहीहरूको नाममात्र मेनिनगेटमा लेखिएको रहेछ। अग्रपंक्तिमा नाम लेखिएका ती वीर नेपाली युद्धको मोर्चामा अग्रपंक्तिमा लडे होलान् भनेर अनुमान गर्छु। इतिहासले भन्छ– हरेक युद्धमा गोर्खाली सेनाहरू अग्रपंक्तिमा रहेर बहादुरीसाथ लडेका छन्। उनीहरूले देखाएको बहादुरी र इमानदारीका कारण विश्वसामु अझसम्म हामी नेपालीले नाक ठड्याउन पाएका छौँ।

भाडाको सिपाही भएर अर्काको देशमा पुग्नु, कुनै शत्रुतापूर्ण सम्बन्धै नभएको मुलुकसँग युद्ध लड्नु अनि वीरगति प्राप्त गर्नु! आफ्नो धर्म, संस्कार र परम्पराअनुसार सदगत हुन नपाउनु। समाधिस्थलमा अर्काको देशको नागरिक भएर नाम छापिनु। यस्तो पनि मरण हुन्छ? नेपाली युवालाई लडाईंमा विदेश पठाउने नेपालका नालायक शासकहरूलाई त्यहीँबाट धिक्कारेँ। 

प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गोर्खा सैनिकको सम्झना र सम्मानमा राष्ट्रिय झण्डासहित इपरमा पुगेर नेपालीले श्रद्धाञ्जली अर्पण गर्दै विश्वशान्तिको कामना गर्न थालेको लामो समय भैसकेको थियो। मेरो स्थायी बसाइ इपर सहरबाट १२३ किलोमिटर टाढा राजधानी ब्रसेल्समा थियो। अलिक टाढाको बसाइ र व्यस्तताले इपर पुग्न सकिरहेको थिइनँ। संयोगले मैले नौ वर्षदेखि स्वयंसेवा गरिरहेको संस्था 'चाइल्ड फोकस'को वार्षिक कार्यक्रममा सहभागी हुन इपर सहर पुग्दा त्यहीँ बसोबास गरिरहेका मित्र महेश थापालाई सम्झेँ। कार्यक्रम स्थलमै आइपुग्नु भयो मलाई भेट्न। कारमा हुइँक्याउँदै उहाँले प्रथम विश्वयुद्धको रणभूमिमा पुर्‍याउनु भयो। नेपाली दाजुहरूले बहादुरी देखाएको युद्धमैदानमा पहिलो पटक पाइला टेक्ने अवसर पाउँदा वीर नेपालीको सन्तान हुनुको गर्वानुभूति भयो।

मेनिनगेट भएर दिनमा हजारौँ गाडी र पैदलयात्रु ओहोरदोहर गर्दा रहेछन्। त्यो गेट पार गरेर जाने हरेक मानिसका मनमा वीभत्सकारी प्रथम विश्वयुद्धको पीडा स्मरण हुने रहेछ। सायद वर्तमान पुस्तालाई युद्धको त्रासदीपूर्ण इतिहास थाहा होस् भनेरै सहरको बीचमा त्यो गेट बनाइएको होला भन्ने लाग्यो। उसो त प्रथम विश्वयुद्धमा इपरको विभिन्न मोर्चामा सैनिकहरू जाने मुख्य बाटोमा नै त्यही रहेछ। सिपाहीहरू हिँडेको मूलबाटोमा उभिएर युद्धको इतिहास सम्झन पुग्छु।

प्रथम विश्वयुद्ध( १९१४–१९१८) मा आक्रामक जर्मन सेनासँग  बेलायत, रसिया, फ्रान्स आदि देशका सेनाका गठबन्धन फोर्सले चार वर्षसम्म पटकपटक इपरमा भीषण युद्ध गरेका थिए। सन् १९१८ नोभेम्बर अर्थात् ११ औँ महिनाको ११ औँ दिन, ११ बजेर ११ मिनेट जाँदा दुवै पक्षका सेनाले हतियार बिसाएर प्रथम विश्वयुद्धको अन्त्य गरे। त्यो मानवजातिले शान्तिले स्वास फेरेको त्रासमुक्त ऐतिहासिक दिन थियो।

बेल्जियमको फ्लान्दर्स क्षेत्रको सानो सहर इपरमा भएको लडाईंमा सबै घर ध्वस्त भएका थिए। सहरमा देखिएका पुराना ढाँचाका घरहरू प्रथम विश्वयुद्धपछि बनेका रहेछन्। प्रथम विश्वयुद्धमा ज्यान गुमाएका एक करोड ७० लाखमध्ये इपरको लडाईंमा मात्र आठ लाख ५० हजार सैनिक तथा गैरसैनिकको ज्यान गएको  थियो। प्रथम विश्वयुद्धको मैदानमा उभिएर इतिहास सम्झँदा युद्धप्रति घृणा उत्पन्न भएर आयो।

इपर सहर पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेजस्तै सामरिक रूपमा महŒवपूर्ण स्थान रहेछ। नुवाकोट अधीनमा लिएपछि काठमाडौँमा गोर्खाली फौजको प्रवेश सजिलो भएको थियो। ठीक त्यस्तै गौँडो रहेछ इपर सहर। त्यहाँबाट जर्मनीका सेना फ्रान्स र बेलायत छिर्न खोज्दा रहेछन्। तिनलाई इपरमै रोकेर अघि बढ्न नदिँदा चार वर्षसम्म भीषण युद्ध भएको रहेछ। जल, थल र आकाशमा भएको प्रथम विश्वयुद्ध जित्न अनेक रणकौशल प्रयोग गरेका थिए जर्मन सेनाले। युद्धको इतिहासमा पहिलो पटक जर्मनले इपरको युद्धमा विषालु ग्याँस प्रयोग गरेका थिए। इपरमा प्रयोग गरिएको त्यो विषालु ग्याँसलाई पछि 'इपरेट' भन्न थालियो।

प्रथम विश्वयुद्ध अवधिभर कति नेपाली ज्यान जोगाएर फर्कन सके, कतिले वीरगति प्राप्त गरे त्यसको कुनै आधिकारिक तथ्यांक कतै उपलब्ध छैन। जेजति छ अनुमानित तथ्यांक मात्र छ। तत्कालीन ब्रिटिस इन्डियाको पहिलो गोर्खा राइफल, चौथो गोर्खा राइफल, बर्मा मिलिटरी पुलिस र असम राइफल इपर आएको तथ्य भेटिएको छ। चारवटा बटालियन आउँदा इपरमा पाँच दर्जन गोर्खालीले मात्र वीरगति प्राप्त गरेको उल्लेख छ। उतिखेर पूर्वी र पश्चिमी पहाडी जिल्लाका सबै तन्नेरी युवा गोर्खा सैनिकमा भर्ती हुँदा गाउँ नै रित्तो भएको र कैयौँ युवा फर्केर नआएको कुरा बूढापाकाबाट सुनेको थिएँ। यसलाई आधार मान्दा हजारौँ नेपाली युद्धमा सामेल भएका थिए। तर, त्यस युद्धमा त्यति थोरै गोर्खालीले वीरगति प्राप्त गरे भन्ने कुरामा शंका गर्ने ठाउँ देखेँ मैले। सायद तथ्यांक लुकाइएको हुनसक्छ।

हामीले मेनिनगेट घुमीघुमी हेर्‍यौँ। निकै अग्लो त्यो विशाल गेटको छानामा बाहेक सबैतिर बेलायती गठबन्धन सेनाका वीर सिपाहीहरूको नाम कुँदिएको थियो। अलिक माथि लेखिएका नाम पढ्न त दुर्बिन नै चाहिने रहेछ। हामीसँग दुर्बिन थिएन। तैपनि, हाम्रा गोर्खालीको नाम अरु कतै छ कि भनेर आँखाले ठम्याउन सकिने ठाउँसम्म खुब खोज्यौँ। अहँ भेटाउन सकेनौँ।

मेनिनगेटमा हरेक साँझ ठीक आठ बजे बेलायती र त्यसको गठबन्धन सेनाका वीरगति प्राप्त सिपाहीको सम्झनामा फूलमाला अर्पण गरेपछि एकछिन शोकधुन बजाइँदो रहेछ। उक्त समारोह हेर्न र वीरगति प्राप्त सिपाहीलाई सम्मान गर्न स्थानीय बासिन्दा र पर्यटकहरू सहभागी हुँदा रहेछन्। उक्त समारोह हेरेर जाने महेशजीको अनुरोधलाई समयका कारण स्वीकार्न सकिनँ।

मेनिनगेटको दुई चक्कर लगाइसकेपछि महेशजीले नजिकै रहेको प्रथम विश्वयुद्धमा वीरगति प्राप्त सैनिकहरूको समाधि स्थल जाने कुरा गर्नु भयो। गफिँदै त्यहाँबाट ठीक तलतिर रहेको समाधिस्थल पुग्यौँ। आँखाले परसम्म समाधिस्थल मात्रै देख्यो। शवको पहिचान भएका सैनिकको नाम शिलामा लेखेर ठड्याइएको हजारौँ शिलास्तम्भ देखियो। हेर्दा यस्तो लाग्थ्यो, जमिनमा शिलास्तम्भको फसल लगाइएको छ। वीरगति प्राप्त सिपाहीप्रति सम्मान र युद्धप्रति घृणाबाहेक त्यहाँबाट के उमे्रला र? युद्धमैदानमा चलेको बम र बन्दुकको गोलीले ती सिपाहीको प्राण पखेरु उडाएर कहाँ लग्यो कहाँ? उराठ लाग्दो त्यस ठाउँमा फगत उनीहरूको नाममा ठडिएको शिलास्तम्भ थियो। फुंग उडेका ती स्तम्भ विश्वयुद्धको घाउ बोकेर रोइरहेजस्तो लाग्थे। वीरगति प्राप्त ती सिपाहीका आश्रित परिवारका आँसु जम्मा पार्ने हो भने समुद्र बग्थ्यो होला!

युद्धमा सहभागी विभिन्न देशका आआफ्नै क्षेत्रमा शिलास्तम्भ र स्मारक निर्माण गरेका रहेछन्। विस्तारै हामी भारतीय सैनिकको नाममा बनाइएको समाधिस्थल पुग्यौँ। नाम, दर्जा र पल्टन उल्लेख गरिएका वीरगति प्राप्त गोर्खाली सैनिकलाई भारतीय बनाइएको देखेपछि मन कुँडियो।

भाडाको सिपाही भएर अर्काको देशमा पुग्नु, कुनै शत्रुतापूर्ण सम्बन्धै नभएको मुलुकसँग युद्ध लड्नु अनि वीरगति प्राप्त गर्नु! आफ्नो धर्म, संस्कार र परम्पराअनुसार सदगत हुन नपाउनु। समाधिस्थलमा अर्काको देशको नागरिक भएर नाम छापिनु। यस्तो पनि मरण हुन्छ? नेपाली युवालाई लडाईंमा विदेश पठाउने नेपालका नालायक शासकहरूलाई त्यहीँबाट धिक्कारेँ। 

वीरगति प्राप्त नेपालीलाई भारतीय नागरिकता टाँसिदिएको कत्ति पनि मन परेन। मलाई मात्र होइन यो कुरा बेल्जियममा बसोबास गर्ने सबै नेपालीलाई मन परेको थिएन। यो आवाज निकै अघिदेखि उठिरहेको थियो। सरकारी स्तरबाट गर्नुपर्ने कार्य भएकोले बेल्जियमस्थित नेपाली दूतावासलाई पहल गर्न हामीले पटकपटक अनुरोध गरेका थियौँ। राजनीतिक भागबण्डामा नियुक्त भएका राजदूत र अल्छी कर्मचारीहरूले सोचेअनुसारको पहल गरिरहेका थिएनन्। बेल्जियममा बसोबास गर्ने हामी नेपाली मुर्मुरिरहेका थियौँ।

विश्वयुद्धमा वीरगति प्राप्त सिपाहीहरूको समाधिस्थल निकै बेर लगाएर हेर्‍यौँ।  हेर्दाहेर्दै मन उदास भयो। दुःखी मन समाधिस्थल वरपर ढकमक्क फुलिरहेका राता पप्पी फूलहरूमा गएर अलमलियो। त्यो गाढा रातो रंगको पप्पी फूललाई सैनिकहरूले अति श्रद्धा गर्छन्। हरेक वर्ष ११ नोभेम्बरका दिन संसारभर विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मृतिदिवस मनाइन्छ। युरोपका अधिकांश देशमा उक्त दिन सार्वजनिक बिदा हुन्छ। सोही दिन सैनिकहरूले मात्र होइन सर्वसाधरणले पनि 'पप्पी' फूल लगाएर वीरगति प्राप्त सैनिकलाई सम्मान व्यक्त गर्छन्। एकजना कविले पप्पी फूलको बारेमा कविता लेखेपछि उक्त फूल प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूलाई सम्मान गर्ने प्रतीक बन्न पुग्यो।

१९१५ को वसन्तमा  फ्लान्दर्सको इपर युद्धमैदानमा क्यानडाका डाक्टर, कवि तथा लेफ्िटनेन्ट कर्णेल जोन म्याक्रेले आफ्नो नजिकको साथीले सहादत प्राप्त गरेको प्रत्यक्ष देखेछन्। घनघोर युद्ध चलिरहँदा बम र बारुदको धुवाँ आकाशमा परसम्म फैलिएको थियो। जताततै लासका डंगुर थिए। वरपरका घर प्रायः ध्वस्त भएका थिए। त्यति हुँदाहुँदै पनि युद्धमैदानमा केही राता पप्पी फूल फुलिरहेको देखेछन्। हावाको एउटा ठूलो झोँकामा खतम हुन सक्ने पप्पी फूललाई मान्छे मार्न सक्ने, घरहरू ध्वस्त पार्न सक्ने बम र बारुदले केही गर्न सकेनछ। त्यो दृश्य देखेपछि कविलाई के चाहियो? उनको कवि मन पग्लिएछ। उनले 'फ्लान्दर्सको मैदानमा' भन्ने चर्चित कविता युद्धमैदानबाटै लेखे।

फ्लान्दर्सको मैदानमा

फ्लान्दर्सको मैदानमा 'पप्पी' फूलहरू फुल्छन्                                                          छड्केछड्के र कान्लाकान्लाहरूको माझमा                                                                हाम्रो ठाउँ जसले निश्चित गर्छ र माथि आकाशमा                                                       अझ पनि गीति चराहरू वीरतापूर्ण गीत गाउँदै उडिरहेछन्                                                    जुन तोपको आवाजबीच अस्पष्ट सुनिन्छ

हामी मरिसकेको भए पनि केही दिनपूर्व                                                            हामी बाँचेका थियौँ, सुर्योदयको अनुभूति र

सूर्यास्तको लालिमा हेरेका थियौँ                                   प्रेम गर्‍यौँ र प्रेम गरिरहेका थियौँ

तर आज फ्लान्दरको मैदानमा चीरनिद्रामा छौँ

शत्रुसँग हाम्रो युद्ध जारी रहोस्                                                                            असफल हाम्रो हातले फ्याँक्दै छौँ तिमीलाई                                                          मशाल, जसलाई उच्च राख्ने तिम्रो जिम्मामा छ                                                        हामी मर्नेहरूको विश्वास तिमीले तोडेमा                                                                    हामी निदाउने छैनौँ यद्यपि,

'पप्पी' फूलहरू फुल्नेछन् फ्लान्दरको मैदानमा

(जोन म्याक्रे)

बेल्जियमको झण्डै बाह्र वर्षको बसाइपछि म बेलायत सरिसकेको थिएँ। यो संस्मरण लेख्नुभन्दा केहीअघि बेल्जियमका कवि दीपकज्योति पौडेलले एउटा फोटो र सानो समाचार मेरोे इमेलमा पठाए। 'दाइ, लामो समयदेखिको हामी नेपालीले गरेको प्रयास बल्ल सफल भयो।' उनले अट्याच गरेको समाचार र फोटो डाउनलोड गरेँ।

प्रथम विश्वयुद्धमा वीरगति प्राप्त सैनिकको समाधिस्थल हेर्ने 'कमनवेल्थ वार ग्रेभ कमिसन'लाई नेपाली दूतावास बेल्जियमले चिठी लेखेपछि प्रथम विश्वयुद्धको झण्डै सय वर्षपछि ती वीरहरूलाई नेपाली नै हुन् भनेर सच्चाए छन्। 'कमनवेल्थ वार ग्रेभ कमिसन'सँगको सहकार्यमा नेपाली दूतावास बेल्जियमले गोर्खा स्मारकको स्थापना पनि गरेछ। शिलास्तम्भमा 'इन द मेमोरी अफ द नेप्लिज् नेसनल्स हु लस्ट देयर लाइभ्स् फाइटिङ एज गोर्खा सोल्जर्स् इन द फर्स्ट वर्ल्ड वार १९१४–१९१८' भनेर कुँदिएको रहेछ। पूर्ण कदको गोर्खा सैनिकको प्रतिमा नेपालीको शीर ठाडो पार्ने गरी उभिएको फोटो देखेर दंग परेँ। जबर्जस्ती भारतीय बनाइएका वीर गोर्खाली आधिकारिक रूपमा नेपाली भएको थाहा पाउँदा मेरो मन पछिसम्म खुसी भइरह्यो।

विभिन्न कारणले विदेश पलायन भएका नेपाली सुविधा र सजिलोका लागि उतैको नागरिकता लिए पनि मनभरि नेपाल बोकेर बसेका हुन्छन्। विदेशमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसार, संरक्षण र सम्बर्द्धन गरिरहेका छन्। विदेशको माटोमा ज्यान गुमाएका गुमनाम गोर्खाली सिपाहीलाई बेल्जियमका नेपालीले नै भारतीयबाट नेपाली बनाउन सफल भएका छन्। विभिन्न देशको स्कुलको पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भनेर लेखिएको थाहा पाएपछि विदेशमा बस्ने नेपालीले नै पहल गरेर सच्याउन लगाएका हुन्। नेपालमा केही नराम्रो हुँदा परदेशमा बस्नेहरू झन् बढी दुःखी हुन्छन्। तिनैले आपत्बिपत् र साह्रोगाह्रो परेको बेला नेपाललाई भरपूर सहयोग गरेका छन्। विदेशमा बसेर भए पनि नेपालका खराब शासक र नेतालाई खबरदारी गरिरहन्छन्। यति गर्दा पनि विदेशमा बस्ने नेपालीको राष्ट्रभक्तिमा किन शंका गरिन्छ? उनीहरुलाई नै किन धारे हात लगाउनु? यहाँनिर प्रसिद्ध नाटककार बालकृष्ण समले भनेको सम्झन्छु– 'देशभक्ति त मर्दैन, चुत्थो देश भए पनि!'

प्रकाशित: १६ पुस २०७३ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App