७ वैशाख २०८१ शुक्रबार
राजनीति

अस्पतालकाे शय्याबाटै डिआइजी राजेन्द्रमानको अवकाश

काठमाडौं – ३० वर्षे कार्यकाल सकिएपछि जागिरे जीवनबाट छुटकारा पाएको खुसी महसुस गर्दै १७ डिआइजी मंगलबार बिदाइका लागि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगे। मंगलबार नै अर्का एक डिआइजी पनि त्यति नै अवधि पार गरेर कार्यकालबाट बिदा हुँदै थिए तर अस्पतालको शड्ढयाबाट। लामो जागिरे जीवनबाट अलग्गिनुपर्दा थोरै भावुक देखिएका १७ जना भन्दा भिन्न थिए राजेन्द्रमान श्रेष्ठ। किनकि उनी सजीव भए पनि शरीरले निर्जीवजस्तै छन्। महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचाररत उनी दायाँबायाँ चल्न मात्र सक्दैनन्, आँखा पनि चलमलाउँदैनन्।

२०७४ सालमा तत्कालीन आइजिपी प्रकाश अर्यालका पालामा उनी डिआइजीमा बढुवा भएका थिए। डिआइजीको फुली ग्रहण गरे पनि उनी त्यसलाई चिन्न सक्ने अवस्थामा भने थिएनन्। मंगलबार आफूले अवकाश पाएको पनि सायद उनलाई थाहा छैन। घटना २०७३ साउन १५ गते बिहान कोसी अञ्चल प्रहरी कार्यालय धरानको प्रांगणमा भएको हो। त्यतिबेला उनी एसएसपी थिए। उनी बिहानपख सधैं ब्याडमिन्टन खेल्थे। उक्त दिन पनि साथीभाइसँग खेल्ने क्रममा उनी भुइँमा ढले। तुरुन्त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको शरीर हलचल नहुने अर्थात् नचल्ने देखियो। उनमा मस्तिष्कमा रक्तसञ्चार नै रोकिएको अर्थात् ‘लक्ड इन सिन्ड्रोम’मा भएको डाक्टरहरूले बताए। त्यसपछि राजेन्द्रमान चल्नै नसक्ने भएका हुन्। त्यसयता उनलाई विभिन्न अस्पताल पु-याइयोे। तर शरीर चलेन र मस्तिष्कले पनि काम गरेन। प्रहरी अस्पतालमा रहेका उनलाई परिवार र चिकित्सकले हेरचाह गर्दै आएका छन्। मंगलबार अवकाश पाएका उनलाई प्रहरी कार्यालयले परिवारमार्फत अवकाशको खबर पठाएको हो।

राजेन्द्रमान शारीरिक र मानसिक अशक्तका कारण बिदाइ कार्यक्रममा उपस्थित हुन नसके पनि अन्य तीन एआइजी भने जानीजानी उपस्थित भएनन्। कार्यकाल पूरा भई अवकाश लिएका तीनजना एआईजी धिरु बस्नेत, ठूले राई र पुष्कर कार्की आ–आफ्नै विभागबाट बिदाइ भएर निस्किएका थिए। उनीहरू प्रहरी प्रधान कार्यालयले डाकेको भए पनि उपस्थित नभएको जनाइएको छ। यद्यपि प्रहरी प्रधान कार्यालय उनीहरूलाई उपस्थितिका लागि अनुरोधसहित पत्राचार गरेको थियो। तर प्रधान कार्यालयको बिदाइ कार्यक्रममा उपस्थिति नभई आफ्नो विभागबाटै बिदाइ हुने छुट भएका कारण उनीहरू घरायसी कारण देखाउँदै बिदाइ कार्यक्रममा सरिक नभएको जनाइएको छ। अन्य प्रहरी महानिरीक्षकहरू मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति बिदाइ कार्यक्रममा सरिक भए। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले बिदाइ गरेका थिए।

सोही कार्यक्रमबाट प्रहरी सेवामा ३० वर्ष सेवा अवधि पूरा भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मंगलबार बिदा भए। नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले फूलमाला लगाएर खनालको बिदाइ गरे। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिएको बताउँदै संगठनका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित: २९ माघ २०७६ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App