coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद्को अवरोध हट्यो

प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल। तस्बिर: रासस

काठमाडौं – तीन दिनसम्म अवरुद्ध प्रतिनिधिसभा बैठक मंगलबारदेखि सुचारु भएको छ। ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपातपूर्ण ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण संसद् बैठक चल्न सकेको थिएन।

मंगलबारको बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक अंगमा सरकारको हस्तक्षेप हुन नदिन कांग्रेसले सदनबाट खबरदारी गरिरहने बताइन्। संवैधानिक निकाय कमजोर भयो भने लोकतान्त्रिक अधिकार कमजोर हुने उल्लेख गर्दै उनले थपिन्, ‘भोलि पनि यस्तै घटना दोहोरिएमा कांग्रेसले संसद्बाट आफ्नो आन्दोलन जारी राख्नेछ।’ उनले सदन अवरोधलाई कांग्रेसले स्थगित गरेको जानकारी पनि दिइन्। उनले भनिन्, ‘संवैधानिक अंगलाई कांग्रेसले नजिकबाट नियालिरहेको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता विजयकुमार गच्छदारविरुद्ध मुद्दा दर्ता गरेर आफ्नो क्षेत्राधिकारबाहिर गएको उनले बताइन्। अख्तियार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको आरोप लगाउँदै उनले यसमा सुधारको खाँचो रहेको बताइन्। सरकारको प्रभावमा अख्तियार परेर मुद्दा दायर गरेको पुष्टि भएकाले अब गल्ती नदोहो¥याउन उनले सरकार र अख्तियारलाई खबरदारी गरिन्। अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दालाई सरकारको उपलब्धिका रुपमा मन्त्रीले उल्लेख गरेको विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको उनको भनाइ थियो।

अख्तियारले गत माघ २२ गते बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमितता प्रक्रियामा संलग्न रहेको आरोप लगाई तत्कालीन भौतिक योजना मन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। उक्त जग्गा अनियमिततामा जोडिएका नेकपाका नेताहरुलाई भने उन्मुक्ति दिएको भन्दै कांग्रेसले तीन दिनसम्म संसद् बैठक अवरुद्ध गरेको थियो। मंगलबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २९ माघ २०७६ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App