coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओमानलाई शतप्रतिशत सफलता

अमेरिकाविरुद्ध सतक प्रहार गरेपछि ओमानका अकिब इलायस । तस्बिर सौजन्य एन्फा

काठमाडौं – कप्तान जिसन मक्सुद र अकिब इलयासले २ सय १६ रनको विशाल साझेदारी गरेपछि ओमानले नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकासँगको दोस्रो खेल पनि जित्दै शृंखलामा शतप्रतिशत सफलता प्राप्त गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलमा जारी त्रिकोणात्मक शृंखलामा ओमानले आफ्नो अन्तिम तथा चौथो खेलमा अमेरिकामाथि ९२ रनको फराकिलो सफलतासँगै नेपाल भ्रमणमा सुखद अन्त्य गरेको हो। यस जितसँगै ओमानले १० खेलबाट ८ जित निकाल्दै  सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग–२ मा १६ अंक बटुलेर शीर्ष स्थान ओगटेको छ। घरेलु टोली नेपाल र अमेरिकासँगको समान दुई खेल नै जितेको ओमानले यी दुई राष्ट्रलाई सन् २०२१ को जनवरीमा आफ्नै घरेलु मैदानमा आतिथ्यता गर्नेछ।

सन् २०२२ को जनवरीभित्र एक राष्ट्रले कुल ३६ खेल सकिँदा शीर्ष तीनमा रहने राष्ट्रले विश्वकप छनोट खेल्नेछन्। ओमानले नेपाल भ्रमणपश्चात् शीर्षता कायम गर्दै छनोटको बलियो दाबेदारीसमेत प्रस्तुत गरिरहेको छ। लिगतालिकामा अमेरिका दोस्रोमा र स्कटल्यान्ड तेस्रो स्थानमा छन्। नेपाल भने पुछारबाट दोस्रो स्थानमा छ। मक्सुद र इलयासको शतकप्रेरित ओमानले निर्धारित ५० ओभरै खेल्दै ६ विकेटको क्षतिमा अमेरिकासामु २ सय ७७ रनको विजयलक्ष्य प्रस्तुत गरेको थियो।

जबाफमा निकै खराब सुरुआत गरेको अमेरिका ३९.१ ओभरमा १ सय ८४ रनमै अलआउट भयो। ७९–५ विकेटको खराब स्थितिबाट अमेरिकाका निसर्ग पटेल र आरोन जोन्सले ७० रनको साझेदारी गर्दै इनिङ जोगाउने प्रयास गरे पनि इलयासले पटेललाई आउट गर्दै साझेदारी तोडे। पटेलले ३६ बलमा ४÷४ चौका र छक्कासहित ५२ रन बनाए। जोन्स ७९ बलमा ३ चौका सहित ४७ रनमा अविजित रहे।

अमेरिकाले पहिलो ओभरको अन्तिम बलमा मोनक पटेललाई र तेस्रो ओभरको दोस्रो बलमा स्टिभ टेलरलाई शून्यमा गुमाएको थियो। यी दुवैलाई बिलाल खानले आउट गरेका थिए। ३–२ विकेटको स्थितिमा समालिने प्रयास गरेको अमेरिकाले अर्का ओपनर जेभियर मार्सललाई २३ रनमा गुमाउन पुग्यो। फर्ममा रहेका इयान होल्यान्डलाई २८ रनमा र अक्ष होमराजलाई ७ रनमा गुमाएपछि अमेरिका १९.३ ओभरमा ७९–५ को कमजोर अवस्थामा पुगेको थियो। त्यसपछि निसर्ग र जोन्सले साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि सफल हुन सकेन। ओमानको बलिङमा बिलाल र इलयासले समान ३/३ विकेट लिए। कप्तान मक्सुद दुई र मोहम्मद नदिमको नाममा १ विकेट रह्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनायो। कप्तान मक्सुद १ सय ९ बलमा १० चौका र ४ छक्कासहित १ सय ९ रन बनाए।

पहिलो एकदिवसीय शतक प्रहार गरेका कप्तान मक्सुद ४७औं ओभरको चौथो बलमा अमेरिका कप्तान सौरभ नेत्रभाल्करको बलमा आउट भएका थिए। उपकप्तान इलयासले भने लगातार दोस्रो शतक प्रहार गरे। नेपालविरुद्धको दोस्रो खेलमा शतक बनाएका इलयासले अमेरिकासँग पनि ११ चौका र १ छक्कासहित १ सय ५ रनको शतकीय योगदान दिए। उनी पनि सौरभको बलमा ४९औं ओभरमा पवेलियन फर्किएका थिए। मध्यम सुरुआत गरेको ओमान ३१–२ विकेटको स्थितिमा थियो।

अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न नसके पनि इलयास र मक्सुदको ब्याटिङ नै ओमानको जितका लागि पर्याप्त बन्यो। अमेरिकाका कप्तान सौरभले र रस्टी थेरनले समान ३ विकेट लिए पनि अन्य बलर विकेटविहीन रहे। ओमानले नेपाललाई १८ रन र ८ विकेटले हराउँदा अमेरिकालाई पहिलो खेलमा ६ विकेटले स्तब्ध बनाएको थियो। शृंखलाको अन्तिम खेलमा नेपालले बुधबार अमेरिकाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।  

ओमानले १० खेलबाट ८ जित निकाल्दै  सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग–२ मा १६ अंक बटुलेर शीर्ष स्थान ओगटेको छ।

प्रकाशित: २९ माघ २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App