८ वैशाख २०८१ शनिबार
अन्य

तीन कविता

सन्तोष थेबे                                          

सम्झनाको पुरानो रुमाल

बिहे–दान

लोग्ने–स्वास्नी

छोरा–छोरी

घर–व्यवहार

छर–छिमेक

यस्तै त रैछ नि दुईदिने जिन्दगी

अब त बिर्सियौ पनि होला।

 

काबेलीको दोभानमा

रात–बिरात

ती–तीन दिनसम्म

कहाँबाट फुलेको होला त्यो लटरम्म बैँस

कहाँबाट फुटेको होला त्यो 'पालम' को झरना

याद छ?

डल्ले कार्की र जेठा खरेल

धान नाच्दा लडेको

पछि हामी दुवैले उठाएर

सँगसँगै धान नाचेको थियौँ

मुगलानबाट फिरेन रे

बिचरा सार्की कान्छा

छेउमा टुत्रु्कक्क बसेर भाका जोड्दै थियो—

अलिकति डर

अलिकति संकोच

अलिकति घृणा

जाँडको डबका र काबेलीले पखाल्न नसकेको

सार्की कान्छा

अस्ति भर्खरै खस्यो रे

समयले खुइलाइदिएछ

रानीवनमा तिमीले उकालो चढ्दा थामेको हात

दाउराको भारी बिसाएर मैले पुछिदिएको पसिना

तिम्रो सुन्दर आँखा

मेरो बलिष्ठ शरीर

त्यो बाँस ‰याङ नमास्नु

कपडासाहुको दोकान नसार्नु

धान, मकै, कोदो

पैसा अलिकति जगेडा राख्नु

के था' संक्रान्ति डाँडाबाट कतिखेर घाम डुब्छ

के था' सम्झनाका पुराना रुमालहरू

कतिखेर काबेलीको दोभानमा बग्छ।

 

गुनासोको गड्तिर र नागबेली तमोर

 

हरेक चैत–बैशाखको खडेरीमा

कोइली कुर्लिरहेको बेला

मलाई टेकाइरहेको धरती

जब छातीभरिभरि चिरा पर्छ

म आकाशतिर टाँगिएर

गुनासोको मान्द्रोभरि बिस्कुनमा सुक्छु।

 

हरेक असार–साउनको भेलमा

खहरे उर्लिरहेको बेला

मलाई जगाइरहेको धरती

जब गर्भभरिभरि बीज छर्छ

म धरतीतिर घोप्टिएर

गुनासोको भर्लाभरि घुममा ओत्छु।

 

यसरी गुनासोले नाम्लेजुका भएर

मसँग जीजीविषाको अल्पविराम साइनो गाँसेछ

मसँग विभिषिकाको पूर्णविराम काँडेतार टाँगेछ।

 

गुनासोले कहिल्यै नभरिने

छपनीमा दुलो परेको यो मन

मानापाथीमा नभरिने यो चित्त

नून र मट्टितेलको ढाकर

गड्तिरमा रानीपौवा नपुग्दै

तोक्माले ढाकर नअड्दै

कसरी एक कान्ला फाक्टामा अँगालो हालेछु

नागबेली तमोरको आदिम कथा सम्झेछु

त्यसैबेला हो,

गुनासोका भरिया साथीहरू हो,

आकाशमा जूनघाम साक्षी छ

धरतीमा ढुंगामाटो साक्षी छ

मैले माटोको वास्तविक मोल र तोल देखेँ

मैले माटोको वास्तविक सौन्दर्य र ऐश्वर्य देखेँ

नागबेली तमोरको छातीमाथि आफ्नो सर्वांग देखेँ।

 

दुईपाथी नून पर,

एकटिन मट्टीतेल पर

छरपस्ट गुनासोहरूमाथि तुर्लुंग झुण्डिएर

ढात्रे्क साथीहरू शोकमग्न छन्

एकमुठी माटो

दुईमुठी माटो

तीनमुठी माटो

अनगिन्ती माटोमुनि म तिल भएर खुम्चिन्छु

म जौबारीमा जौ भएर लहराउँछु

थाहा छैन

भरियाहरूले किन गोजीमा तिल–जौ खोजे

किन ढाकरमा गुनासाहरू घोप्ट्याए

नागबेली तमोरमा

मेरा एकजोडी आँखा बगिरहेछन्

नागबेली गड्तिरमा

मेरा एक ढाकर गुनासा वर्षायाम पर्खिरहेछन्।

 

रु

 

सरु

हामी त कस्तो है

जाबो माया पनि गर्न जान्दैनौँ

व्यर्थै भएछ ऐसेलुको ‰याङ

तीतेपाती र कालीझार पनि

बरु वाचा नगर्नुपर्थ्यो—

आखिर नलाग्ने माया

आखिर नहुने वाचा

सब व्यर्थ भएछन्

सरु

साँगुरीको बेसुरे हुस्सुको

एक टुक्राजति पनि अर्थ रहेन अब।

 

सायद गल्ती यही नै भयो

हाम्रा मौनताहरू लाछी कायर थिए

अकमक्क परेका आँखा झूट थिए

अनायास फुस्केका ओठ जालीफटाहा थिए

हामीले नबोलेर गरेको वाचा व्यर्थ भएछ

हाम्रा साक्षीहरू व्यर्थ भएछन्

यस्तै हुँदो रहेछ सरु

मनको भाका नबु‰ने बच्चाको तिर्सना, भोकप्यास

अब त्यसको पनि अर्थ छैन।

 

जेहोस्

तिमी मलाई मन परेको मान्छे हो

तिमीलाई म धेरै माया गर्छु

तरु सरु,

मान्छेहरू डाहा पनि गर्दारहेछन्

हिजो म रातभरि जलिरहेँ

थाहा छ सरु

डाहाको आगो त झर्झराउँदो अगुल्टोजस्तो हुँदोरहेछ

भुस भएर मन जल्न निकै कष्ट हुँदोरहेछ

मनमा पहिरो जाँदा

चेतनाको पहाड थर्किंदोरहेछ

सब व्यर्थ छन् अब त्यसको पनि अर्थ छैन।

 

मैले तिमीलाई भनेर पत्र लेखेको थिएँ

सजिलो भाषामा एक प्रेमपत्र

पछि चुरोटको ठुटोलाई साक्षी राखेर

छिद्रा–छिद्रा बनाइदिएँ

खरानी–खरानी बनाइदिएँ

त्यतिखेरै हो सरु

मायाले बुनेका शब्दहरू जलेका

जलेका शब्दहरू खरानी बनेका

त्यति खेरै हो सरु,

रक्सी र खरानीको स्वाद पनि एकैचोटि चाखियो

सब व्यर्थ छन्

अब त्यसको पनि अर्थ छैन।

 

अचेल

सञ्जोगमा म तिमीलाई भेट्छु

सञ्जोगमा तिमी मलाई भेट्छ्यौ

बोल्नैपर्‍यो

हाँस्नैपर्‍यो

वास्तवमा त्यसको पनि अर्थ छैन सरु

मान्छेले अर्थ नराख्दा पनि हुन्छ

अब हामीसँग केही छैन सरु

न दिनु छ

न लिनु छ

न आशा छ

न भरोसा छ

त्यही नहुनुमा मधुरो चिसो साँगुरी छ

त्यही नहुनुमा फुस्सफुस्स उड्ने हुस्सुको टुक्रा छ

छेउमा शीतले छ्याप्प भिजेको

तीतेपाती छ,

कालीझार छ,

ऐँसेलु छ,

मेटिँदै गएका पाइतालाहरू छन्

बस्!

प्रकाशित: १६ पुस २०७३ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App