७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तिम खेलबाट नै विजेता तय

लिगमा पचास गोल पूरा गरेपछि आर्मिका भरत खवास । तस्बिर सौजन्य एन्फा

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५०औं  गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले शीर्ष स्थानमा फर्किन ब्रिगेड ब्वाइजलाई ३–० ले पराजित गर्दा भरतको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५०औं गोल पूरा भएको हो। ब्रिगेड ब्वाइजलाई पराजित गर्दा भरत, विकास तामाङ र टेकबहादुर बुढाथोकीले समान एक/एक गोल गरे।

जितसँगै शीर्ष स्थानमा फर्किएको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रबीच हुने लिगको अन्तिम खेलले नै उपाधिको छिनोफानो लाग्ने टुङ्गो भएको छ। तालिकामा आर्मीको २९ अंक छ भने मच्छिन्द्रको २८ अंक रहेको छ।  उक्त खेलमा बराबरी नतिजा निकालेको खण्डमा आर्मी च्याम्पियन हुनेछ भने मच्छिन्द्रले आर्मीलाई पराजित गरे उपाधि मच्छिन्द्रको पोल्टामा पर्नेछ। बराबरीमा खेल सकिएको खण्डमा मच्छिन्द्रलाई अघिल्लो सिजनको एक अंक ऋण निकै अभिशाप हुनेछ।

मंगलबार भएको खेलमा आर्मीले भरतको पाँचाैँ मिनेटको गोलबाट सुरुआती अग्रता लिएको थियो। उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको आर्मीका लागि ५०औं मिनेटमा विकास तामाङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। यसअघि पहिलो हाफमा ब्रिगेड ब्वाइजले खेलमा फर्किन निकै संघर्ष गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। विकासको गोलसँगै अग्रता दोब्बर पारेको आर्मीले त्यसपछि पनि ब्रिगेडविरुद्ध खुलेर खेल्यो। ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै अग्रता ३–० मा पु-याउँदा आर्मीको जित सुनिश्चित भएको थियो।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५०औं गोल पूरा गर्ने सातौं खेलाडी भरतले  प्राप्त सफलता छोरीका लागि समर्पण गर्ने प्रतिक्रिया दिए। यसअघि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सन्तोष साहुखल, अनिल गुरुङ, वसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र गणेश लावतीले ५० गोल गरिसकेका छन्। २०६३ मा साल संकटा क्लबबाट लिगको सुरुआत गरेका भरतले आगामी लक्ष्य सय गोल रहेको बताए।

‘लिगका खेलमा गोल गर्न कठिन छ। हाम्रो लिगमा एकदमै कम गोल हुन्छन्। निरन्तर खेलमा लागिरहँदा आज ५० गोल पूरा भएको छ,’ आर्मीका कप्तान समेत रहेका भरतले भने, ‘लक्ष्य सय गोलको हो। अब यहीँ अड्किँदैन। सन्तोष साहुखलको जस्तै शतक गोल पूरा गर्ने लक्ष्य रहेको छ।’ संकटा क्लबपछि नेपाल पुलिस क्लब हुँदै भरत आर्मीमा अनुबन्धित भएका थिए। पुलिसबाट दुई सिजन खेल्दा १७ गोल गरेका भरतले आर्मीबाट खेलेर ५०औं गोल  पूरा गरेका हुन्। शीर्ष स्थानको आर्मीले यसअघि लिगको उपाधि जित्न नसकेको तर यस पटक भने उपाधि जित्ने लक्ष्य रहेको बताए।

‘हाम्रो लक्ष्य उपाधि उचाल्ने हो। अब एक खुड्किलो बाँकी छ। तर निकै कठिन छ। शीर्ष दुईको भिडन्तले टुङ्गो लाग्ने निश्चित भएको छ,’ भरतले थपे, ‘आर्मीले अहिलेसम्म जितेको छैन। इतिहास बनाउने मौका र चुनौती छ।’ यस्तै लिगअन्तर्गत मंगलबारै सम्पन्न अर्को खेलमा उपाधि होडमा रहेको मनाङ मस्र्याङ्दीले विभागीय टोली नेपाल पुलिसलाई २–० हराउँदै शीर्ष तीनको बलियो दाबेदारी कायम राखेको छ। १२औं चरणका खेल सकिँदा थ्री स्टार मनाङभन्दा दुई अंकले पछि रहँदै चौथो स्थानमा अटाएको हो।

पुलिसमाथि जित निकाल्नका लागि साबिक विजेता मनाङका अञ्जन विष्ट र विमल रानाले एक/एक गोल गरे। निकै रोमाञ्चक बनेको पहिलो हाफमा विमल रानाले ३२औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको ११ मिनेट पछि अञ्जन विष्टले गोल थप्दै पहिलो हाफमा २–० को अग्रता दिलाए। पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मनाङले शीर्ष तीनको दाबेदारीलाई कायम राखेको हो। मंगलबारकै अर्को खेलमा ललितपुरे टोली थ्री स्टारले  न्युरोड टिम (एनआरटी) माथि १–० को कठिन जित निकाल्यो। थ्री स्टारको साँघुरो जितमा दीपेश घलेले ७७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दीपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन्। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका दीपेशले डी बक्सबाहिर प्राप्त बललाई आकार्षक शैलीमा पोस्टको दिशा दिएका थिए।

जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ। यससँगै थ्री स्टारले सुपर सिक्समा स्थान पक्का गरेको छ। थ्री स्टारसँग पराजित एनआरटी १५ अंक जोडेर आठौं स्थानमा छ । यो हारसँगै एनआरटीको शीर्ष ६ को सम्भावना समेत कठिन बनेको छ। शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ। लिगमा बुधबार एक खेल मात्र हुनेछ। हिमालयन शेर्पाले जावलाखेल युथ क्लबसँग एन्फा मुख्यालयमा प्रतिस्पर्धा गर्नेछ।

जितसँगै शीर्ष स्थानमा फर्किएको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रबीच हुने लिगको अन्तिम खेलले नै उपाधिको छिनोफानो लाग्ने टुङ्गो भएको छ।

प्रकाशित: २९ माघ २०७६ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App